१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सेट जित्ने लक्ष्य अधुरै

काठमाडौं- पुराना कमजोरी यथावत राख्दै नेपाली महिला भलिबल टोलीले भारतसँगको मैत्रीपूर्ण खेलमा सन्तोषजनक प्रदर्शन गरेको छ। दोस्रो मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाली टोली भारतसँग २६–२४, २५–२०, २५–१९ ले पराजित भयो। तर नेपालले मैत्रीपूर्ण सिरिजमा भारतसँग अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको हो। पहिलो खेलको तेस्रो सेटमा झै नेपाल शुक्रबार पहिलो सेटमा भारतविरुद्ध ऐतिहासिक जित नजिक पुगेको थियो। १८–२१ ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै नेपालले २२–२१ ले अग्रता लिएको थियो। नेपाललाई खेलमा फकार्उने काम क्विक स्पाइकर एवं ब्लकर उषा विष्ट र ओपन स्पाइकर सरस्वती चौधरीले गरे। उषाले स्पाइकबाट २ र सरस्वतीले १ अंक लिए भने भारतीय डिफेन्सको गल्तीमा नेपालले एक अंक बटुलेको थियो।

२३–२३ को बराबरी भएको खेलमाओपन स्पाइकर प्रतिभा मालीले स्पाइकबाट १ अंक लिँदै नेपाललाई जित नजिक पुर्‍याएकी थिइन्। नेपाललाई खेल जित्न एक अंक आवश्यक हुँदा पुनः प्रतिभाले स्पाइक गरिन्। प्रतिभाको स्पाइक भारतीय ब्लकरसँग लागेर रिबाउन्ड बल नेपाली खेलाडीले उठाउन सकेनन्।

कमला पुन र सरस्वती चौधरीको समन्वय नमिल्दा सजिलो बलबाट अंक गुमाएपछि नेपाल खेलमा फर्किन सकेन।अन्य दुई सेटमा नेपालले सहजै हार स्वीकारेको थियो।

भारत विश्व भलिबलको वरीयतामा ५७औं स्थानमा छ। भारतको लक्ष्य एसियन च्याम्पियनसिप जित्ने हुने गर्छ। विश्व वरीयतामा पर्न नसकेको नेपाल भने भारतसँग एक सेट जित्ने लक्ष्यसहित खेलेको थियो।

खेलअघि राष्ट्रिय प्रशिक्षक सुदेशकुमार रिमालले भारतविरुद्ध एक सेट जिते टोलीको लक्ष्य पूरा हुने बताएका थिए। तर उनको लक्ष्य पूरा नभए पनिभारतसँगअहिलेसम्मकै राम्रो प्रदर्शन गरेको थियो।

यसअघि भारतविरुद्ध १७ अंकभन्दा बढी जोड्न नसक्ने नेपालले पहिलो खेलको तेस्रो सेट २७–२५ सम्मपुगेको थियो। जुन उत्कृष्ट प्रदर्शन हो।

दुई वर्षअघि काठमाडौंमा सम्पन्न प्रथम आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले भारतविरुद्धसुधारिएको प्रदर्शन गर्दा १७ अंकसम्म लिएको थियो। आमन्त्रण भलिबल खेलको टोलीका सबै खेलाडी अहिलेको टोलीमा छ। तर, नेपालले आफ्नो परम्परागत कमजोरी भने सुधार्न सकेन।नेपाली टोली केही खेलाडीको प्रदर्शनमै सीमित हुन पुगेको छ। प्रतिभा माली र अन्य खेलाडीको प्रदर्शनमा धेरै अन्तर छ। जसले नेपाली टोलीले अपेक्षा गरेअनुरुप नतिजा निकाल्न सकेन। पहिलो खेलमा २६ स्कोर गरेकी ओपन स्पाइकर प्रतिभाले दोस्रो खेलमा २१ स्कोर गरिन्। त्यसमा उनले १९ अंक स्पाइकबाट बटुलेकी थिइन्। दुई खेलमा ४७ स्कोर गरेकी प्रतिभा मैत्रीपूर्ण सिरिजकै सर्वाधिक स्कोरर बनिन्।

प्रतिभाको स्थानबाट खेल्ने अर्की स्पाइकर हुन् सरस्वती चौधरी। उनले दोस्रो खेलमा ८ स्कोर गर्दै प्रतिभालाई साथ दिइन्। क्विक स्पाइकर एवं ब्लकर उषा विष्टले दोस्रो खेलमा ७ स्कोर जोडेर जिम्मेवारी पूरा गरिन। तर अन्य स्पाइकर भने जिम्मेवारीलाई पूर्ण रूपमा पूरा गर्न असफल रहे।

भारतीय टोलीकी प्रशिक्षक वैशाली फड्तरेले प्रतिभाजस्तै अन्य स्पाइकर भए नेपाली टोलीले बलियो टोलीलाई जित्न सफल हुने बताइन्। उनले भनिन, 'मैत्रीपूर्ण खेलबाटे दुवै टोलीले फाइदा लियौं। हामीभन्दा नेपालले अझ धेरै फाइदा लिन सक्छ यस्ता खेलबाट। तर उनीहरूको टोलीमा हरेक पोजिसनमा समानता छैन।'

प्रशिक्षक वैशालीले भने जस्तै नेपाली टोलीको मुख्य कमजोरी भनेको सबै पोजिसनबीच समन्वय नहुनु हो। ओपन स्पाइकर बाहेक नेपालको अन्य पोजिसन सन्तोषजनक छैन। नेपालको सबैभन्दा कमजोर पक्ष भनेको सेटर हो। सेटर पोजिसनबाट कप्तान बिनिता बुढाथोकी र दोस्रो रोजाइमा कृपा अधिकारीले खेल्छन्। उनीहरूको उचाइँ कारणले पनि सेटर पोजिसनमा नेपाल कमजोर देखिन्छ।

नेपालको अर्को कमजोर भनेको क्विक स्पाइकर पनि हो। नेपाली टोलीकी क्विक स्पाइकर कोपिला उप्रेतीले दोस्रो  खेलमा स्पाइकबाट १ अंकमात्र लिन सफल भइन्। त्यसले पनि नेपालको क्विक स्पाइकर कमजोरी पुष्टि गर्छ।

प्रशिक्षक रिमाल मैत्रीपूर्ण खेलमा नेपालले आफ्नो स्तरभन्दा माथि खेलेको बताउँछन्। उनी भन्छन्, 'दुवै खेलमा हामीले राम्रो खेल्ने कोसिस गर्‍यौं। म खुसी छु। टोलीको प्रदर्शनबाट। टोलीमा सुधार्न एकैपटक गर्न सकिन्न तर यसबाट पाठ सिक्दै अगाडि बढ्ने हो।'

रिमालले भारतीय खेलाडीको तुलनामा आफहरू कमजोर रहेको बताए। उनले भने, 'हामी भारतीय तुलनामा धेरै कमजोर छौं। हाम्रा खेलाडी बलियो पक्ष भनेको आत्मबल र मिहिनेत हो। उनीहरूभन्दा हामी हरेक पोजिसनमा कमजोर छौं। तर पनि हामीले उनीहरूलाई सहजै जित्न दिएनौं।'

प्रकाशित: १५ श्रावण २०७३ ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App