१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दशैं तिहारलाई मध्यनजर गर्दै प्रहरीको चाडपर्व सुरक्षा योजना

खोटाङ– दशैं तथा तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्व सुरक्षा योजना लागू गरेको छ। चाडवाडका समयमा हुने सम्भावित हो–हल्ला, झै–झगडा, काटमार, अशान्ति तथा अप्रिय घट्ना न्यूनीकरणका लागि प्रशासनले मंगलबारदेखि दशैं तिहारसम्म लागूहुने गरी चाडपर्व सुरक्षा योजना लागू गरेको हो। चाडपर्वलाई शान्तिपूर्ण बनाउनका लागि यातायात व्यवस्थापन, मादक पदार्थको अधिक प्रयोग नियन्त्रण तथा जुवातास नियन्त्रण, बजार अनुगमन लगायतका विषयलाई ध्यानमा राखेर सुरक्षा योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए।

कतिपय यातायात व्यवसायीले चाडपर्व मनाउनका लागि घर आउने यात्रुबाट तोकिएभन्दा बढि भाडा असुल्ने, क्षमताभन्दा बढि यात्रु राख्ने, एउटै चालकलाई निरन्तर काममा लगाउने गरेको पाइएकाले मध्यपहाडी लोकमार्ग दिक्तेल–हलेसी–जयराम अन्तरगतका च्यास्मीटार, हलेसी, अर्खौले, नुनथला प्रहरी चौकीमार्फत अभिलेख सहित चेकजाँच गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । यातायात सेवालाई यात्रुमैत्री बनाउनका लागि दिक्तेल–जयरामबीचमा आकस्मिक निरीक्षण गर्ने, चालकले मादक पदार्थ सेवन गरे–नगरेको चेकजाँच गर्ने, टाईमकार्डलाई कार्यान्वयनमा अनुगमन थालिएको प्रजिअ अधिकारीले जनाए। यातायात सम्वन्धी कुनैपनि गुनासो भए जिल्ला प्रहरी कार्यालयको हटलाइन १०० वा सञ्चार शाखाको मोबाईल नम्बर ९८५२८४९१२१ वा ट्राफिक प्रहरीलाई ९८६२६९९५०९ मा फोन गर्न प्रशासनले आग्रह गरेको छ। शान्ति सुरक्षाका लागि चाडपर्वका समयमा जिल्ला प्रहरी, ईलाका प्रहरी कार्यालय र प्रहरीचौकीमा चौविसै घण्टा कन्ट्रोल रुम खुला गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सुरक्षा समितिको बैठकले दशैं तिहारका समयमा हुने मादक पदार्थको अधिक प्रयोग, जुवातास तथा सोको कारण उत्पन्न हुने समस्या हल गर्नका लागि प्रहरी निरीक्षक कृष्ण खड्काको कमाण्डमा स्पेशल टास्कफोर्स बनाएको छ । मादक पदार्थको अधिक प्रयोग एबं जुवातासबाट दशैंतिहारको समयमा हुने सम्भावित अपराध, अशान्ती एबं दुर्घट्नालाई मध्यनजर गर्दै नियन्त्रणका लागि स्पेशल टिम बनाइएको प्रजिअ अधिकारीले जनाए । मादक पदार्थ सेवन गरेर हो–हल्ला गर्ने, झै–झगडा गर्ने र जुवातास खेल्नेको विषयमा सूचना लिन सदरमुकाम दिक्तेलकै १० स्थानमा सम्पर्क केन्द्र तोकिएको प्रशासनले जनाएको छ।

प्रशासनले चाडपर्वभरी दिक्तेल बाहेक हलेसी, जयराम, खोटाङबजार, सिमपानी लगायतका भीडभाड हुने बजारको सुरक्षा व्यवस्थाका लागि आकस्मिक निरीक्षणको व्यवस्था मिलाएको छ। जनघनत्व बढी भएका व्यस्त बजारका शंकास्पद क्षेत्रमा निगरानी गर्ने, मादक पदार्थ सेवन गरेर अशान्ति मच्याउने तथा जुवातास खेल्नेलाई कारबाही गर्ने योजना प्रशासनले सार्वजनिक गरेको छ । चाडवाडको विदाका समयमा सरकारी कार्यालयको सुरक्षाका लागि पालेपहराको समेत व्यवस्था मिलाइएको प्रजिअ अधिकारीले जनाए। ‘स्वास्थ्यलाई ध्यानमा राखेर संयमितरुपमा चाडपर्व मनाऔं, फजुल खर्च नगरौँ,’ प्रजिअ अधिकारीले भने, ‘विशेषगरी चाडवाडका समयमा हुने सडक दुर्घट्नालाई नियन्त्रण गर्न सुरक्षित यात्राका विषयमा सवैले ध्यान दिन सवैमा अनुरोध छ।’  

प्रकाशित: ११ आश्विन २०७४ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App