१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

साझा प्रकाशनमा काप्री

काठमाडौं- शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई साझा प्रकाशनको अध्यक्ष र महाप्रबन्धकको जिम्मेवारी दिएको छ । संस्थामा अनियमितता गरेको आरोप लागेका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्र शर्मालाई सरकारले आइतबार बर्खास्त गरेपछि मन्त्रालयले सोमबार काप्रीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको बैठकले काप्रीलाई साझा प्रकाशनको जिम्मेवारी दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले जानकारी दिए । ‘अर्को निर्णय नहुन्जेलका लागि साझा प्रकाशनको अध्यक्ष र महाप्रबन्धक दुवै जिम्मेवारी काप्रीलाई दिने निर्णय भएको छ,’ लम्सालले भने ।
साझामा भएको अनियमितताबारे नागरिक दैनिक तथा रिपब्लिका दैनिकले निरन्तर समाचार प्रकाशित गरेपछि मन्त्रालयले अनुगमन तथा मूल्यांकन उपसचिव गणेश ढकालको नेतृत्वमा साउन १२ गते छानबिन समित गठन गरेको थियो । छानबिन समितिले साझामा अनियमितता भएको प्रतिवेदन मन्त्रालयलाई बुझाउँदै शर्मासहित सञ्चालक समितिलाई कारबाहीका लागि सिफारिस गरेको थियो । त्यसपछि मन्त्रालयले शर्मालाई भदौ १९ को मन्त्रीस्तरीय निर्णयअनुसार स्पष्टीकरण सोधेको थियो ।
शर्माले भदौ २३ गते मन्त्रालयलाई करिब एक सय पृष्ठको स्पष्टीकरण बुझाए पनि चित्तबुझ्दो नभएपछि मन्त्रालयले उनलाई पुनः तीनदिने स्पष्टीकरण सोधेको थियो । शर्माले दोस्रो पटक बुझाएको स्पष्टीकरण पनि चित्तबुझ्दो नभएपछि मन्त्रालयले शर्मालाई पदबाट हटाउने निर्णय गरेको हो । संसदको सुशासन समितिले आइतबार नै शर्मालाई बर्खास्त गर्न निर्देशन दिएको थियो । बर्खास्त गरिएको पत्र शर्मालाई सोमबार दिइएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित: १० आश्विन २०७४ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App