१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माझीले पाएनन् दशैँमा घर

बागलुङ – अठ्ठाइस वर्षदेखि विस्थापित जीवन बिताइरहेका यहाँका सीमान्तकृत माझीले यही बडादशैँभित्र पाउने भनिएको नयाँ घर आश्वासनमा सीमित बनेको छ। 

जसरी पनि दशैँसम्म माझी समुदायलाई पुनःस्थापना गरिने सार्वजनिक प्रतिबद्धता पूरा गर्न बागलुङ नगरपालिका असफल देखिएको छ । विसं २०४६ मा बागलुङ–पोखरा सडक खन्ने क्रममा थातथलो गुमाएको माझी समुदाय अहिले नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको किनारमा अस्थायी घरटहरामा बस्दै आएको छ। 

माझी बस्ती व्यवस्थापनको जिम्मा लिएको नगरपालिका सम्झौता अवधिलाई देखाएर बस्ती निर्माणमा ढिलाइ गरिरहेको छ। गत पुसमा ठेकेदार कम्पनीसँग सम्झौता गर्ने क्रममा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत युवराज अधिकारीले दशैँभित्र माझी परिवारलाई घर हस्तान्तरण गर्ने वार्ता गरेका थिए। 

नगरपालिका–१ खनियाबासमा १४ माझी परिवारका लागि निर्माण कम्पनी ‘मुक्तिनाथ/विएन/त्रिशक्ति, जेभी’ ले घर निर्माण गरिरहेको छ। 

नगरपालिकाका इञ्जिनीयर त्रिलोचन गिरीले ७० प्रतिशत काम पूरा भएको र आगामी मंसिरभित्र माझी बस्ती व्यवस्थापन भइसक्ने बताए। “सम्झौता अवधि पुससम्म छ, दशैँमा सक्ने भन्ने थियो, सकिएन” इ गिरीले भने “मंसिर, पुससम्ममा घर बुझाउँछौँ ।” घर निर्माणको काम अन्तिम चरणमा पुगेको र ‘फिनिसिङ’(अन्तिम काम)मात्र रहेको उनको भनाइ छ । लामो समयसम्म नगरपालिकाले माझी बस्ती व्यस्थापन गर्न नसकेपछि समुदायको सहभागितामा काम अघि बढेको थियो। 

प्रक्रियागत ढिलासुस्तीले बस्ती निर्माणमा ढिलाइ भइरहेको माझी बस्ती व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताए । उनले दशैँसम्म माझी समुदायलाई पुनःस्थापना गर्ने योजना सार्थक हुन नसकेकामा दुःख व्यक्त गरे। “एक करोडमाथिको योजना भएकाले टेण्डरलगायत प्रक्रियामा जानुप¥र्यो, निर्माण कम्पनीले समयमै काम गर्दैन”, उनले भने। वर्षौंदेखिको अपूरो योजना पूरा गर्न नगरपालिका कार्यालयले ढिलाइ गर्न नहुने उनको भनाइ छ। 

उनका अनुसार सम्पूर्ण काम पूरा हुन अझै चार/छ महिना लाग्ने देखिन्छ। स्थानीयवासी प्रशान्त माझीले छानो छाउनेलगायत काम बाँकी रहेको बताए। “यो दशैँ नयाँ घरमा मान्ने योजना थियो तर अधुरै रह्यो” माझीले भने “बस्ती छिटो निर्माण हुनुप¥र्यो भन्ने हाम्रो माग हो।” नगरपालिकाले नमूना र प्राथमिकता प्राप्त योजनामा परेको माझी बस्ती व्यवस्थानमा ढिलाइ गर्न नहुने नागरिकस्तरबाट पनि आवाज उठेको छ। करिब रु ८२ लाखको लागतमा बन्ने घरमा ‘ब्लक’ र जस्तापाताको प्रयोग गरिएको छ। 

रु एक करोड १३ लाखको लागत अनुमान भए पनि ठेकेदार कम्पनीले घटिघटाउमा रु ८२ लाख ३० हजारमा बनाउने जिम्मा लिएको थियो । नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा बस्ती निर्माण हुने जनाइएको छ । 

शौचालयसहितको तीनकोठे घर बनाउँदा करिब रु छ लाख खर्च हुने बताइएको छ। नगरपालिका र स्थानीयवासीको लामो प्रयासपछि माझी समुदायको दीर्घकालीन व्यवस्थापन हुने भएको छ । घर निर्माणका लागि माझी परिवार, नगरपालिका र अन्य स्थानीयवासीले जग्गा व्यवस्थापन गरेका थिए। रामबहादुर थापा /रासस

प्रकाशित: ७ आश्विन २०७४ ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App