१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मञ्चमा बुद्धको जीवनी

काठमाडौं–भगवान गौतम बुद्धको जीवन र बुद्धत्वका सम्बन्धमा जानकार नहुने कमै नेपाली होलान् । उनको जन्मदेखि मोक्षकालसम्मको घटना हजारौं पुस्तकमा कैद भएका छन् । यीनै बुद्धको जीवनीमा आधारित रहेर तयार पारिएको नाटक ‘बोधी छायाँ’लाई राजधानीको राष्ट्रिय नाचघरमा आइतबार मञ्चन गरिएको छ । पुस्तकमा सीमित बुद्धको जीवनलाई सुशीला आर्ट एकेडेमीका कलाकारले मञ्चमा जीवन्त बनाएका हुन् । रेसन ट्राभल एण्ड टुर्सको प्रस्तुति र सुशिला आर्ट एकेडेमीको कार्यकारी निर्माणमा तयार भएको नाटकमा कलाकारहरुले नृत्य र अभिनयमार्फत बुद्धको जीवनी प्रस्तुत गरेका थिए । मञ्चमा कलाकारले अभिनय र नृत्य गरे पनि पृष्ठभूमिमा दृश्यसँगै पाश्र्व ध्वनि र आवाजलाई समेटिएको थियो। 

कलाकारले बुद्ध जन्मेपछि राजकुमार सिद्धार्थको रुपमा, जागरणको माध्यमबाट बुद्ध शाक्यमुनिको रुपमा र उनको मोक्ष प्राप्तिसम्मको अवधिलाई अभिनय, नृत्य र संगीतमार्फत् प्रस्तुत भएका थिए । ‘बोधी छायाँ’ले नेपालको परम्परागत नृत्य, संगीत, कला र वास्तुकलाको संयोजनमार्फत् बुद्धको जीवनको अध्यायलाई कलाकारले चित्रित गरेका थिए । बुद्ध जन्मिनुअघि र जन्मेपछिको अवस्थालाई चित्रण गर्न कलाकारहरुले अभिनय, नृत्य, संगीतसँगै भिडियो एनिमेसन, प्रकाश र परम्परागत पहिरन सहारा लिएका थिए । नाटकलाई १२ भागमा वर्गीकरण गरिएको थियो । पहिलो भागमा कपिलबस्तु र रानीको हात्ती सपनालाई देखाइएको थियो । यसमा कलाकारले घाटु र झुम्रा जस्ता परम्परागत नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै दोस्रो भागमा बुद्धको जन्मपछिको छलिया नृत्य देखाइएको थियो । तेस्रो भागमा राजकुमारको सुरुवाती समयलाई आर्यतारा, अष्टमात्रिका, मञ्जुश्री, मारुनी, थकाली, स्याब्रु र सेलो नृत्यमार्फत् प्रस्तुत गरेका थिए। 

चौथो भागमा कलाकारले लाखे र साकेलमार्फत् बुद्धको छोरा जन्मेको सन्दर्भलाई प्रस्तुत गरेका थिए । पाँचौं भागमा सिद्धार्थदेखि शाक्यमुनीसम्मको यात्रालाई देखाइदा छैटौं भागमा ज्ञान प्राप्त गर्नुअघिको अन्तिम भोजनलाई अभिनयमार्फत् देखाइएको थियो ।

सातौं भागमा भैरव र बसुन्धरा नृत्यमार्फत बोधी रुख मुनिको बुद्ध देखाइयो भने आठौं भागमा सतार नृत्यमार्फत बुद्धले भगवान प्राप्त गरेको अवस्थालाई चित्रण गरिएको थियो । नवौं भागमा पञ्च बुद्ध, दशौं भागमा ल्याकु भाइ, एघारौं भागमा घाटु र १२ औं भागमा बुद्धले निर्वाणा प्राप्त गरेको क्षण देखाइएको थियो । 

कविता श्रीनिवासनको लेखन तथा निर्देशन रहेको नाटकमा राजु शाक्य, अन्जु लामा तामाङ, रोशनी कार्की, बिनिता गुरुङ, भावना पाण्डे, सुनिता दर्नाल, नेहा तामाङ, अनु पुर्कुटी, कृति केसी, जेरोक्स चौधरी, किरण श्रेष्ठ, सनम राई, निशान सुस्लिङ मगर, सुमन श्रेष्ठ, युवराज खुलाल, सुदिप बिके, मोहन तामाङ, श्रृजन भट्टराई, मनिषा बस्नेत, सुनिल डंगोल र भुषण महर्जनको प्रस्तुति थियो । 

त्यस्तै अर्जुन पौडेल, रजिना महर्जन, रेनु योगी, सभ्यता शाही ठकुरी, आरती शाही श्रेष्ठ, उपमा पण्डित, बासुकला मैनाली, समी गुरुङ, मेरिका राई, आइशा ठकुरी, अकेन्द्र बडुवाल, रस्किन मनोज क्षेत्री, रुपकराज राई, सागर बस्नेत, सल्मा राई, प्रशानत रेउले, सोनम तामाङ, ग्लोरी थापा, सिर्जना शर्मा र सुदन मान मुनिकार पनि कलाकारको रुपमा अभिनय गरेका थिए ।

नाटक लेखिका कविताले भारतमा अभिनय र अमेरिकामा आर्किटेक्टर सम्बन्धी विषय अध्ययन गरेकी छन् । उनकै लेखन र निर्माणमा नेपालमा पहिलोपटक अनलाइन वेभ सिरिज ‘पीएस जिन्दगी’ सुरु भएको हो ।

 

प्रकाशित: ३ आश्विन २०७४ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App