१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदान उत्साहपूर्ण : '७३ प्रतिशत मत खस्यो'

काठमाडौं – प्रदेश नं। २ मा सोमबार सम्पन्न स्थानीय तह चुनावमा ७३ प्रतिशतभन्दा बढी मत खसेको छ । मतदान उत्साहपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। 

आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए । उनले भने, ‘पटकपटक सरेर पनि राजनीतिक सहमति र समझदारीमा प्रदेश २ को चुनाव शान्तिपूर्ण, सौहाद्र्रपूर्ण भएको छ।’ 

तोकिएका मतणगना स्थलमा मतपेटिका पुगेपछि सोमबार रातिदेखि नै मतगणना सुरु हुने आयोगले जनाएको छ । मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन सुरु भएको प्रमुख आयुक्त यादवले बताए। 

‘बाढी, डुबान र कटान सहेर पनि मतदाता व्यापक रुपमा सहभागी भए । यसले लोकतन्त्र सुदृढ र जनताको अधिकार बलियो बनाउन सहयोग पुगेको छ ।’
अयोधीप्रसाद यादव, प्रमुख निर्वाचन आयुक्त

प्रदेश नं। २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा तेस्रो चरणअन्तर्गत सोमबार मतदान भएको हो । ‘मतदान शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ’, प्रमुख आयुक्त यादवले भने, ‘हालैको बाढी, डुबान, कटान सहेर पनि मतदाता व्यापक रुपमा सहभागी भए । यसले लोकतन्त्र सुदृढ र जनताको अधिकार बलियो बनाउन सहयोग पुगेको छ ।’ प्रहरीले अर्काको नामबाट मत दिन खोज्ने ३८ जनालाई नियन्त्रणमा लिएर छाडेको छ। 

सोमबारको मतदानबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुनेछन् । तेस्रो चरणको चुनावमा २ हजार १ सय ६४ मतदान स्थलका ३ हजार ५ सय ७५ मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो । नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला सदस्यका लागि भएको प्रतिस्पर्धामा ३७ हजारभन्दा बढी उम्मेदवार छन् । 

सप्तरीको राजविराज नगरपालिका वडा नं। १५ मा राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट वडाध्यक्ष उम्मेदवारको भदौ ३१ मा निधन भएकाले त्यस वडाका दुई मतदान केन्द्रमा चुनाव भएन । त्यस वडामा असोज ५ मा चुनाव हुने आयोगले जनाएको छ । 

मतदानमा देखिएको उत्साहले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पनि आशा बढाएको आयोगले जनाएको छ । यसअघि वैशाख ३१ र असार १४ मा दुई चरणमा गरी छवटा प्रदेशमा स्थानीय चुनाव सम्पन्न भइसकेको छ । 

 

प्रकाशित: ३ आश्विन २०७४ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App