१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

आशा र आत्मविश्वासको याम

राजनीतिक परिवर्तनले सामाजिक सोच, चिन्तन र परिवेशमा परिवर्तन ल्याउँछ । मुलुक अगाडि बढाउने मार्ग निर्देशित गर्छन् । सात दसकको नेपालमा हामी पटक–पटक राजनीतिक आन्दोलन गर्दैआएका छौँ । आन्दोलनको फलस्वरुप समाजमा परिवर्तन पनि ल्याउँदै गरेका छौँ । ००७ सालको परिवर्तन अहिले आँकलन गर्न नसकिने ओजको परिवर्तन थियो । त्यस बेलाको बन्द समाजमा प्रजातन्त्रको उदय र यात्रा आफैँमा चुनौती थिए तर त्यो यात्रा एक दसकमै अवशान भयो । ०१७ सालदेखि ०४६ सालसम्मको निरंकुश व्यवस्था ३० वर्षसम्म टिक्यो र सम्झौतामा संसदीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापना हुनसक्यो । त्यसको प्रयोग पनि लामो समयसम्म चल्न सकेन ।
सामाजिक अभियानहरू, नागरिकका उचालिएका आकांक्षाहरूबीच माओवादी ‘जनयुद्ध’ हुँदै अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौं । मुलुकले २०७२ असोजदेखि जनताका प्रतिनिधिहरूले बनाएको संविधान पाएको छ । संविधान प्रतिको विमति र विरोधका स्वरहरूबीच संविधान कार्यान्वयनको क्रममा अगाडि बढ्दै छौँ । स्थानीय तहको निर्वाचन सम्पन्न हुने क्रममा छ । पहिलो र दोस्रो चरणका स्थानीय तहका निर्वाचन सम्पन्न भइसकेका छन् । तेस्रो चरणमा प्रदेश नं २ मा असोज २ मा स्थानीय तहको निर्वाचन निर्वाधित रुपमा सम्पन्न भएपछि त्यसले गणतन्त्रको जग बसाल्ने विश्वास गरिँदैछ । मंसिरमा प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन हुने वातावरण बन्दै गएको छ । यस अर्थमा सात दसक लामो राजनीतिक आरोह–अवरोहपछि मुलुक अब स्थायित्वको दिसामा उन्मुख भएको आँकलन गरिँदैछ । आम जनता पनि अब राजनीतिमा मात्र नअल्झिई अघि बढ्नुपर्छ भन्ने मनोभावमा छ ।
अबको बाटो भनेको सामाजिक सुधार, आर्थिक, भौतिक विकास र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउने हो । त्यसका लागि अहिलेको समाज तयार भएको मानिन्छ किनभने सामाजिक क्षेत्रमा प्रशस्त जागरूकता देखिन्छ । गाउँ र देहात जागरुक देखिन्छन् । आम नागरिक अधिकार सम्पन्न भएका छन् । समावेशी चरित्रको राजनीतिक व्यवस्थाले सिमान्तकृतहरूलाई मूल प्रवाहमा ल्याइरहेको छ । आर्थिक विकासका मापनहरू सकारात्मक देखिएका छन् । ७ प्रतिशतको आर्थिक वृद्धिका योजनाहरू छन् । सहज विद्युत आपूर्तिको अहिलेको अवस्थाले उद्यमी, व्यवसायीमा उत्साह भरेको देखिदैछ । राजनीतिक स्थायित्व हुनासाथ मुलुक ह्वात्त अगाडि बढ्ने संभावना देखिदैछ । हामीले परिवारको यस अङ्कमा आशा, उमंगले भरिएका त्यस्तै  सामग्री पाठकसमक्ष प्रस्तुत गरेका छौँ ।
यो अङ्क नियमितभन्दा ओजपूर्ण रहेको हाम्रो बुझाइ छ । आकार र प्रस्तुतिका हिसाबले नियमितभन्दा भिन्न रहेको छँदैछ । समाजमा आशा, भरोसा जगाउने व्यक्तित्वहरू र तिनका धारणा, उनीहरूका जीवनकथा यस अंकमा हामीले पेस गरेका छौँ ।
२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले आन्दोलनको सफलतापछि मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भएकाले आर्थिक, सामाजिक क्रान्तिको आवश्यकता औँल्याउँथे । हामीले तिनै लौह पुरुषलाई स्मृतिको पानामा राखेका छौँ ।
९० वर्षको पाको वयमा सक्रिय हिमालय सम्सेरको रोचक जीवनयात्रा समावेश गरेका छौँ । नेपालमा आधुनिक अर्थतन्त्रको जग बसाल्ने राणा २००७ सालको आन्दोलनका साक्षी हुन् र त्यसै बेलादेखिका राजनीतिक, सामाजिक, आर्थिक आयामका प्रत्यक्ष भोत्ता पनि । आशाले भरिएका हिमालयले नयाँ पुस्तालाई मुलकभित्रै अडिन सक्ने वातावरण बनाउन सुझाएका छन् ।
नायिका मनीषा कोइरालाको बलिउडसम्मको फिल्मी यात्राको कथा यस अंकमा समावेश गरेका छौँ । उनको जीवनमा जोडिन आएकाहरूबारे मनीषाको आफ्नै विश्लेषण यसमा समावेश छ । मनीषालाई नजिकबाट मूल्याङ्कन गर्ने,  करिअरमा भरथेग गर्ने, खानपिन र हेरचाह गर्ने उनका पितामाताका पाका अनुभवहरू पस्किएका छौँ । क्यान्सरलाई पराजित गरेकी मनीषाका आशा भरोसा जगाउने सूत्रहरू यस अङ्कको प्रमुख आकर्षण हो ।
विद्वान यादव खरेलले चाडबाड, संस्कृतिहरूका कारण नेपाल कसरी फरक पहिचान स्थापित गर्ने देश हो भन्दै विश्लेषण गरेका छन् । चाडबाड र संस्कृतिलाई नेपालीत्व संज्ञा दिएका छन् उनले ।
होटल व्यवसायी सृजना राणा नयाँ स्तभ्म ‘कर्पोरेट कुराकानी’मा छिन् । सृजनाले होटल व्यवसायसँग जोडिएका मामलामा टिप्पणी तथा विश्लेषण गरेकी छन् । राणाले चाडबाडहरूमा गर्नुपर्ने फेसन र खानपानबारे सुझाव पनि दिएकी छन् ।
स्थापित कवि साहित्यकारका रचनाहरू यस अंकको अर्को महत्वपूर्ण पाटो हो । कथा, कविता र घुमफिरका गन्तव्य र जानकारीले म्यागेजिन सम्पन्न छ । विद्वान लेखकका विचार यस अंकमा समावेश छन् । फेसन, बुटिकका नयाँ परिधान र परिकारहरूबारे विषय विज्ञ र सिपालुहरूका उपयोगी टिप्सले पनि पाठकलाई सम्पूर्ण रुपमा पठनीय बनाएको हाम्रो निजी धारणा छ ।
तपाईंहरुको पठन आनन्दमय बनोस् ।

 

प्रकाशित: २ आश्विन २०७४ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App