१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाली प्रदर्शनमा सुधार

काठमाडौं- नेपाली महिला भलिबल टोली बिहीबार भारतविरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भयो। तर, आफ्नै पुरानो प्रदर्शनमाथि भने जित निकाल्न सकेको छ। नेपालले भारतसँग अहिलेसम्म १७ भन्दा माथिको स्कोर बनाउन सकेको थिएन। तर बिहीबार त्रिपुरेश्वरस्थित कभर्डहलमा नेपालले तीनै सेटमा १७ भन्दा माथिको स्कोर बनाउन सफल भयो। नेपालले पहिलो सेट २५–२० मा हारेको थियो भने दोस्रो सेट १९–२५ मा रोकियो। निकै प्रतिस्पधात्मक बनेको तेस्रो सेट २७–२५ ले गुमायो।

नेपालले यसअघि भारतविरुद्ध सबैभन्दा राम्रो प्रदर्शन गरेको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपमा हो। दुई वर्षअघि भएको उक्त प्रतियोगितामा नेपालले सबैभन्दा राम्रो १७ स्कोर जोड्न सफल भएको हो।

‘खेलाडीमा प्रदर्शनबाट म सन्तुष्ट छु। तथापि हामीले नतिजा गुमायौं,’ नेपाली टोलीका प्रशिक्षक सुदेशकुमार रिमालले भने, ‘मैले पहिले पनि भनेको थिएँ हामी जितभन्दा प्रदर्शन सुधारमा खेल्नेछौं, त्यसमा हामी सफल भयौं। यसले खेलाडीको मनोबल बढाउन सहयोग गर्नेछ। आज हामीले भारतविरुद्ध अहिलेसम्मकै राम्रो प्रदर्शन गर्न सफल भयौं। भारत धेरै राम्रो टोली हो। आज हाम्रो ब्लक कमजोर रह्यो। यसलाई सुधार गर्नेछौं।’

तेस्रो सेटमा नेपाल जित नजिक पुगेर पनि सफल हुन सकेन। निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २२–२२ को स्थितिमा प्रतिभा मालीले २ अंक जोडिन्। अन्तिम अंक लिने अवस्थामा नेपालले सर्भिसमा अंक गुमायो। २४–२३ को अवस्थामा सेटर विनिता बुढाथोकीले लयमा देखिएकी प्रतिभालाई नदिई कोपिला उप्रेतीलाई सट हान्न दिइन्। तर, कोपिलाले त्यो सदुपयोग गर्न सकिनन्। त्यसपछि भारतले खेलमा हाबी भयो।

‘अन्तिम सेट गुमाउनु दुर्भाग्यपूर्ण रह्यो,’ कप्तान विनिताले भनिन्, ‘मैले त्यो अवस्थामा ओपन सटलाई दिनुपर्थ्यो त्यसमा मैले गल्ती गरेँ। भारतीयलाई झुक्काउने प्रयास गर्दा सेट नै गुमायौं। यद्यपि हामीले आज धेरै राम्रो खेल्यौं। अहिलेसम्म खेलेको मध्ये यो हाम्रो राम्रो प्रदर्शन हो।’

नेपालले पछिल्लो दुई वर्षमा भारतसँग खेलेको यो तेस्रोपटक हो। यसअघि काठमाडौंमा सम्पन्न प्रथम महिला दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिप र भरतमा सम्पन्न १२औं सागमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। दुवैमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको थियो।

सागमा भारतले फाइनलमा श्रीलंकालाई सोझो सेटमा हराउँदै स्वर्ण जितेको थियो। उक्त टोलीका ९ खेलाडी नेपाल भ्रमणमा पनि सामेल छन्। १७ वर्षअघि आठौं साफ खेलकुदमा भारतीय टोलीको कप्तान सम्हालेकी वैशाली फड्तरे अहिले प्रशिक्षकमाभएर नेपाल आएकी छिन्। उनले तेस्रो सेटमा केही गाह्रो भए पनि अन्य सेट सहजै जितेको बताइन्।

‘जितमा खुसी छु। हामी जित्नेमा ढुक्क थियौं तर तेस्रो सेटमा संघर्ष गर्नुपर्‍यो,’ प्रशिक्षक वैशालीले भनिन्, ‘नेपालले पनि आज राम्रो खेल्यो। उनीहरूको ब्लक कमजोर रह्यो। अनुभवको पनि कमी देखिन्छ,  त्यसैले तेस्रो सेटको जित नजिक पुगेर पनि उनीहरूले गुमायो।’

भारतले अहिलेसम्म दक्षिण एसियाली खेलकुद(साग) मा तीनपटक महिला भलिबल समावेश हुँदा सबैमा स्वर्ण पदक जितेको छ। दक्षिण एसियाको शीर्ष टोली भारत विश्व वरीयतामा ५७औं स्थानमा छ भने नेपाल वरीयताविहीन छ।

अन्तर्राष्ट्रिय भलिबल महासंघबाट सहयोगस्वरुप प्राप्त म्याटको उद्घाटनका अवसरमा नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो।

असाधारण प्रतिभा

उमेरले सानै पनि भलिबलमाप्रभाव जमाउन सफल प्रतिभाले बिहीबार पनि आफ्नो क्षमता प्रमाणित गरिन्। स्पाइकमा उनकी सहकर्मी सरसस्वती चौधरी असफल हुँदा प्रतिभा अंक जोड्न सफल भइन्। उनले नेपालका लागि सबैभन्दा बढी २७ स्कोर बटुलिन्। उनी पछि धेरै स्कोर गर्नेमा अरुणा शाही थिइन्। अरुणाले ७ स्कोर गरिन्। भारतकी प्रशिक्षक वैशालीले प्रतिभाको खुलेर प्रशंसा गरिन्।

‘प्रतिभाले धेरै राम्रो खेलिन्। १२ जना खेलाडी प्रतिभा जस्तै भए नेपाल धेरै राम्रो हुनेछ,’ वैसालीले भनिन्, ‘भलिबल टिम गेम हो। त्यसैले नेपाली भलिबललेत्यसमा सोच्नुपर्छ। एक व्यक्तिमा भन्दा टिममा ध्यान दिनु आवश्यक छ। सबै खेलाडी प्रतिभाजस्तै हुने हो भने नेपाल धेरै राम्रो हुनेछ।’

नेपालका प्रशिक्षक रिमाल पनि प्रतिभाको खुलेर प्रशंसा गर्न चुकेनन्। उनले भने, ‘प्रतिभा असाधारण खेलाडी हुन्। आज नम्बर एक खेलाडीको नाम लिनुपर्दा त्यो प्रतिभा नै हो। यसमा कुनै शंका छैन।’

प्रकाशित: १४ श्रावण २०७३ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App