१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संघ र प्रदेशको निर्वाचनले देशमा स्थायीत्व: प्रधानमन्त्री देउवा

खोटाङ– प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको निर्वाचनपछि देशले स्थायीत्व पाउने बताएका छन् । शनिबार खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङस्थित सुनकोसीमा मोटरेवल पक्की पुल शिलान्यास गर्दै प्रधानममन्त्री देउवाले केही समयपछि हुने संघ र प्रदेशको निर्वाचनपछि मात्र देशले स्थायीत्व पाउने र विकासले गति अपेक्षित लिने बताएका हुन् । ‘संघ र प्रदेशसभाको चुनाव सकिएपछि देशले स्थायीत्व पाउने बाटो खुल्नेछ,’ हेलीकोप्टरबाट धाप्लाङघाट ओर्लिएका प्रधानमन्त्री देउवाले भने, ‘दुवै निर्वाचनपछि संविधानलाई संशोधन गरेर देशको विकासमा लाग्नु पर्ने बेला आएको छ।’

खोटाङको दक्षिणी क्षेत्र र तराई जोड्ने साउने–धाप्लाङ–सुनकोसी पुल शिलान्यासकाक्रममा आएका प्रधानमन्त्री देउवाले छोटो सम्बोधन गरेका थिए । उनले धाप्लाङघाटको पुल निर्माण भएपछि खोटाङको आर्थिक र भौतिक बिकासले गति लिने वताए । ‘यो पुल निर्माणसँगै जिल्लाको भाग्य र भविष्य निर्माण हुनेछ,’ प्रधानमन्त्री देउवाले भने, ‘समयमा पुल निर्माणका लागि सवैले खवरदारी गर्नु पर्छ, म आफैपनि सदैव लागीपर्ने छु ।’ प्रधानमन्त्री देउवा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बीरवहादुर वलायर, कांग्रेस नेता डा. नारायण खड्का सहित पुल शिलान्यासमा आएका कांग्रेस खोटाङले जनाएको छ ।

पुल शिलान्यास कार्यक्रममा खोटाङका सांसद विशाल भट्टराई, पिके राई, सरस्वति वजिमय, पुर्व राज्य मन्त्री शिवकुमार वस्नेत, कांग्रेस महासमिति सदस्य विष्णुकुमार राईल लगायत धाप्लाङघाट पुगेका छन् ।

धाप्लाङघाटमा २२ करोड ५ लाखको लागतमा २ सय मिटर लम्बाई र साँढे १० मिटर चौंडाईको पक्की पुल निर्माण गर्न लागिएको हो। ४०/४० मिटरमा पाँच वटा पिल्लर रहने पुल निर्माणको ठेक्का स्वच्छन्द निर्माण सेवाले लिएको छ। २०७३ साल असोजमा सम्झौता भएको सो पुल २०७६ साल असारभित्रमा पूरा गर्नेगरी स्वच्छन्दले जिम्मा लिएको हो ।

धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौँअघि सडक बनेको भएपनि हालसम्म पुल नहुँदा झोलुंगे पुल प्रयोग हुँदैआएको छ । धाप्लाङमा पक्की पुल बन्ने भएपछि स्थानी हर्षित भएका छन् । मोटरेवल पुल बनेपछि खोटाङको दक्षिणी क्षेत्रका २२ वडा तथा भोजपुरका केही वडाका स्थानीयलाई तराई जाने र आउने छोटो र सिधा वाटो खुल्ने छ। धाप्लाङघाट बाहेक दुधकोसीको जयराम, सुनकोसीको फोक्सिङटारमा मोटरेवल पुल निर्माणाधिन अवस्थामा छ। जयरामको पुल ढलानका लागि फर्मा राख्ने काम अन्तिम चरणमा पुगेको छ भने फोक्सिङटारको पुलको जग खन्ने काम भइरहेको छ । यद्यपी, दुवै पुल निर्माणको गतिमा भने ढिलाइ भइरहेको छ।

प्रकाशित: ३१ भाद्र २०७४ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App