१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपत्यकाबाट ६७ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ – वाग्मती सफाइ महाअभियान शुरु भएको २२७ औँ हप्तामा उपत्यकाबाट सबैभन्दा बढी ६७ मेट्रिक टन फोहर व्यवस्थापन भयो। 

वाग्मती सफाइको २२७ औँ हप्तामा आज बानेश्वर क्याम्पसअघि जनचेतनामूलक अभियानसहित सफाइ गरियो। वाग्मती सफाइबाट आज सात मेट्रिकटन फोहर व्यवस्थापन भयो। 

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिकालगायत संस्थाका ४५० अभियन्ताको सहभागिता रहेको प्रवक्ता उमेश बोहराले बताए। 

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १८९ औँ हप्तामा शनिबार
गोकर्णेश्वर नगरपालिकास्थित हनुमानघाट क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनीमैत्री समाजलगायत संस्थाका १०० अभियानकर्मीको सहभागिता थियो। 

रुद्रमती सफाइको १८७ औँ हप्तामा कमलपोखरीदेखि गौशाला चोकसम्मको सडकमा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउँदा जम्मा भएको धुलो सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए। 

सांसद गीता राणा, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र काठमाडौँ महानगरपालिका–३० का वडा अध्यक्ष दलबहादुर कार्कीको नेतृत्वमा भएको सफाइबाट १२ मेट्रिक टन धूलो व्यवस्थापन गरियो । धूलो व्यवस्थापनका लागि स्काभेटर, जेसिबी र ट्रिपर पनि प्रयोग गरिएको थियो। 

विष्णुमती सफाइको १५८ औँ हप्तामा माछापोखरी–बालाजु सडक किनारमा ट्राफिक प्रहरीले सम्याउँदा जम्मा भएको १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ५०० भन्दा बढी अभियन्ताको सहभागिता थियो। 

तिलगंगा महिला समूहले तिलगंगा क्षेत्रको वाग्मती नदीमा गरेको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । यसैगरी चक्रपथ सफाइको २३ औँ हप्तामा बसुन्धरादेखि महाराजगञ्जसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ८०० भन्दा बढी अभियन्ताको सहभागिता थियो। 

मीनभवनस्थित आलोकनगरमा सकारात्मक मातृशक्ति आवाजले गरेको २३ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा १०० भन्दा बढी महिलाको सहभागिता थियो। सो अवसरमा वाग्मती नदी किनारमा निर्माण सम्पन्न गरिएको प्रतिक्षालयको पनि उद्घाटन गरियो। 

यसैगरी बल्खुस्थित इन्द्रमती नदी सफाइको तेस्रो हप्तामा शनिबार खड्कुलो पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। मनोहरा नदीको तेस्रो हप्ताका सफाइ कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटी आवास गृहअघि गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन भयो। 

यसैगरी वाग्मती सफाइ महाअभियानको नेतृत्वमा शुरु भएको पशुपति क्षेत्र सफाइ १०० दिनसम्म निरन्तर जारी रहने प्रवक्ता उमेश बोहराले जानकारी दिए। 

पशुपतिमा आइतबारदेखि दैनिक तीनचरणमा सफाइ गरिनेछ। बिहान पाँच बजेदेखि राति २ बजेसम्म तीन समूह बनाइ सफाइ एवं ढुंगामा पालिस लगाएर चम्काइनेछ। 

दैनिक तीन चरणमा गरिने सफाइमा स्वयंसेवीका रुपमा काम गर्न चाहनेले सफाइ महाअभियानमा सम्पर्क गर्नसक्ने उनले बताए। पशुपति सफाइमा पशुपति क्षेत्र विकास कोष र हेम्स क्लिनिङको पनि सहयोग रहदै आएको छ । रासस 

प्रकाशित: ३१ भाद्र २०७४ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App