१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

शृंगारिक चितवन

 

किन सोध्यौ मेरो उमेर सत्तरी कि सत्र ।

सक्छौ भने लेखे हुन्छ अझै प्रेमपत्र ।।

गजलकार प्रेमविनोद नन्दनले पछिल्लो समय लेखेको गजल हो यो । अहिले उनी ८२ काट्न लागिसके तर उनलाई प्रेमिल गजल नै प्रिय लाग्छ, उनलाई साहित्यको शृंगार रस मनपर्छ ।
गजलको राजधानी भनेर चिनिने चितवनमा शृंगार रसका परिपूरक मानिन्छन्, गजलकार प्रेमविनोद नन्दन ।
माहोल जमाउनकै लागि पनि शृंगाररस बलियो हुने उनको अनुभव छ । तर, अचेल समसामयिक विषयमा लेख्नेहरू बढेसँगै शृंगार रस छायामा पर्दै छ ।

गजल गायनलाई शास्त्रीय गजल गायन र घरानाको गजल गायन भनेर रूपान्तरण गरिएको छ । गुरुकुल परम्परामा कायम रहेर गाइने घरानाको गजल हो । भारत र पाकिस्तानमा पूर्वीय संगीतमा विभिन्न घरानाको गजल चलेको पाइन्छ ।


प्रेमविनोद र शीतल कादम्बिनीको गजल दोहोरी चल्यो ।
माफ गर्नु है मैले अलिकति पिएर आएको छु ।
नरिसाउनु है, मैले आफूलाई कतै दिएर आएको छु ।।
...
रुधिर त पिउँछन्, मदभरि नयन पिएर के भो ।
अथाह सागर नै मेरो हो एक बुँद दिएर के भो ।

साठीको सुरुवाती दशकमा नन्दन चितवनमा शृंगार रसमा जमेका गजलकारको अग्रपंक्तिमै थिए । शीतल कादम्बिनीसँग शृंगार रसमा चुर्लुम्म डुबेर गजलको दोहोरी गाउँदा मध्यरात कटेको पनि उनी चाल पाउँदैनथे ।
प्रेमका गजलले उनलाई ऊर्जा दिन्छ । मन चंगा पार्छ । शृंगारिक रसभित्र नै प्रेमको फूल फुल्छ भन्ने ठान्छन् उनी ।
त्यसो त उनले समसामयिक गजल पनि लेखेका छन् । उनी भन्छन्, ‘प्रेमका गजलले जति लोकप्रियता दिन्छ, त्यति नै समसामयिकताका शब्द उठानले गजलमा गहनता थप्छ ।’ अचेल उनी दर्शनभाव गजलमा पोख्न थालेका छन् । दर्शनमै रमाउने मिर्जा गालिबसँग प्रभावित छन् ।

 उनी गालिबको एक शेर लिन्छन्–
उम्र भर गालिब यही भुल करता रहा ।
धूल चेहरे पे थी फिर भी आइना पुछता रहा ।।

यस्तै खालको विम्बात्मक अभिव्यक्ति कौशलता नन्दन गजलमा खोज्न थालेका छन् ।
‘रदिफ र काफिया मात्रै गजलमा लेखेर हुन्न,’ उनी भन्छन्, ‘समसामयिकताको नयाँपन हुनुपर्छ भन्ने धारमा छु ।’ व्युत्पति, प्रतिभा र अभ्यासले नै गजलमा निखार आउने उनी विश्वास गर्छन् ।
उनको एक शेर–
टाउको लुकाउने छानो छैन, सिंहदरबार पाएर के गर्नु ।
न ढाल न धारको, भुत्ते तरबार पाएर के गर्नु ।।

०००
गोविन्दराज विनोदी चालीसको दशकमा चितवनमा गजल भित्रिँदाका एक साक्षी हुन् । उनी लगायत गोवद्र्धनपूजा, अकिञ्चन, उत्सव खरेल, खगेन्द्र बस्याल मिलेर गजललाई मलजल गरे । बस्यालको गजलका विधान र नियमको संग्रह ०५६ मा प्रकाशित भएपछि लेख्नेहरूको आकर्षण अझ बढेको विनोदी बताउँछन् ।
उनका अनुसार गजल घटीमा तीन शेर तथा बढीमा जतिसुकै शेरमा लेख्न सकिन्छ । तर, गजलको सुन्दरताका लागि भने पाँच शेर सबैभन्दा राम्रो मानिन्छ ।
‘गजलको पहिलो शेरलाई मतला भनिन्छ । जसको दुवै मिसरा अनुप्रासयुक्त रहन्छन् । अन्तिम शेर भने मक्ता हो । जसमा गजलकारले आफ्नो उपनाम प्रयोग गर्न सक्छन्,’ विनोदी भन्छन्, ‘आफ्नै नामको प्रयोगलाई तखल्लुस भनिन्छ । प्राचीन कालमा प्रेमराग बोल्नका लागि उर्दू तथा फारसी भाषीले गजलको प्रयोग गरेको पाइन्छ । यो पश्चिमी पद्यभन्दा पृथक ढंगको साहित्य लेखनीको एक विधा हो ।’ उनका अनुसार गजलमा कवितामा जस्तो कल्पनाशीलताभन्दा सत्य जे हो, त्यो व्यक्त गरिन्छ । ‘सत्य देखाउने ऐना भनेर उर्दूभाषीहरू गजललाई परिभाषित गर्छन्,’ विनोदी भन्छन्, ‘गजलमा रदिफ, काफिया, बहर मूल मानिन्छ ।’
शास्त्रीय गजल गायन र गुरुकुल परम्परामा कायम रहेर गजल गाइन्छ । भारत र पाकिस्तानमा पूर्वीय संगीतमा विभिन्न घरानाको गजल चलेको पाइन्छ । नेपालमा भने गुरुशिष्य परम्परामा आधारित गजल गायनको विकास भइरहेको विनोदी बताउँछन् ।
उनका अनुसार सुरुवाती चरणमा अन्यत्रबाट सिके पनि पछिल्लो समय चितवनको गजल मौलिक बहर वा शास्त्रीय छन्दतर्फ मोडिँदै छ ।
‘गजलको शेरमा स्पष्ट भाव हुनुपर्छ,’ उनी भन्छन्, ‘असजिला शब्द प्रयोग र गजलका हरेक शेर अर्थपूर्ण हुनैपर्छ ।
विनोदीका अनुसार प्रेमविनोद नन्दन र शीतल कादम्बिनी, धनराज गिरी गजलमा उत्रिएपछि प्रेम रसको बाढी नै आयो । त्यही बेला हवाई पत्रिका हाम्रो मझेरीको माध्यमबाट नयाँ पुस्ताका गजल बटुल्ने गर्थे, पुष्प अधिकारी अञ्जली । केशवराज आमोदी गजलको सैद्धान्तिक धार केलाउन उत्रिएपछि गजलकारहरू गजल निखार्न बाध्य भए ।
उता, छिमेकी जिल्ला नवलपरासीमा घनश्याम परिश्रमी गजलमा उदाए । रुपन्देहीका बुँद राना स्थापित भइसकेका थिए । चितवनमा अहिले गुणस्तरीय गजल लेखिएको विनोदी अनुभूत गर्छन् ।
‘गजल जति लोकप्रिय छ, त्यति विभाजित पनि छ,’ उनी भन्छन्, ‘शास्त्रीय अनि गेयात्मक विधा हो भन्ने बुझेर गजललाई त्यतातिर लैजाने तर्खरमा छ चितवन ।’ उनका अनुसार अक्षरको संख्या, रदिफ काफिया मिलाउँदा गजलले वाह वाह त पाउँछ तर पूरै संरचना अझै नबन्ने भएकाले अधुरा गजलका बाढी सिकारु चरणमा आएका थिए ।
विनोदी गजलकार ज्ञानुवाकर पौडेलको गजल पुनर्जागरण चितवनका लागि प्रेरणा मान्छन् । उनले नै गजललाई गेयात्मकतातिर बढी ढालेका थिए । ‘संरचना र भाव माथिल्लो लाइनले उठान गर्छ भने अर्को लाइनले तीर हान्ने प्रक्षेपण शक्ति गजलमा हुनुपर्छ,’ विनोदी गजलको गहनता केलाउँछन्, ‘अचेल सचेतता बढी संरचनामा आएको छ ।
‘साठीको दशकमा ह्वात्तै आएको गजलको बाढीले चितवन गजलको राजधानी भनेरै चिनियो । अब भने अध्ययन अनुसन्धान र परख हुन थालेको छ,’ विनोदी अनुभूत गर्छन् ।
साठीकै दशकबाट गजलमा उदाएका धनराज गिरी चितवन गजलको राजधानी हुनुमा रेडियोको भूमिका ठूलो मान्छन् । ‘म त रहरले लेख्थेँ, तर त्यही रहर रेडियोका कारण गहनतामा बदलिदियो,’ उनी सुनाउँछन्, ‘श्रोतालाई सुनाउने भएपछि अध्ययन गर्न र गहन बन्न मलाई करै लाग्यो ।’
गजलको भित्री सौन्दर्य श्रोताले सुन्नेबित्तिकै बुझिहाल्ने भएकाले ढिला प्रतिक्रिया दिने पाठकभन्दा श्रोतालाई झुक्याउन कठिन रहेकोे अनुभव उनले संगाले । गजल गायनतिर भने चितवनको माटो अझै कमजोर रहेको उनी देख्छन् । ‘गजल ठुल्ठूलो स्वरमा गाउने हैन,’ गिरी भन्छन्, ‘गजलको मर्म बुझ्ने गायकीको अभाव छ ।’ भारतका राहत फतेह अली, जगजित सिंह, गुलाम अली स्टाइलमा गाउनुपर्ने कुरा सिक्नै बाँकी छ । लेखनीमा भने चितवनको गजल उम्दातिर बढेको उनको पनि बुझाइ छ ।
मायाप्रीतिका गजल नै सर्वोपरी हुनुलाई उनी नकारात्मक मान्दैनन् ।

कसैको यादमा तड्पी बसेको आज धेरै भो ।
नुनिला मोतीका दाना खसेको आज धेरै भो ।।

उनको यो गजल सुनेर विदेशमा बसेकी पत्नी नेपालको घर–परिवार सम्झेर रोएको घटना ताजै छ । ‘मान्छेको जीवनमा कालजयी भनेको माया–प्रीति नै हो,’ उनी अथ्र्याउँछन्, ‘प्रेमिकाले लाउने गाजल नै हो, गजलको उद्गम ।’

गजललाई प्रेमिकाको गाजलमार्फत नेपालमा मोतीराम भट्टले गजल जन्माएका थिए । गाजलका गजलबाट अब समाजका गजललाई पनि प्राथमिकता दिनुपर्नेलाई गिरी नकार्दैनन् । ‘समाजमा विकृृति र विसंगतिका बिराला नै बिराला नै छन्,’ उनी भन्छन्, ‘तिनलाई तनाव दिएर समाज परिवर्तन गर्नु पनि त हाम्रो धर्म हो ।’ चितवनलाई साँच्चैको गजलको राजधानी कायम राख्ने हो भने गयात्मकलाई चितवनबाटै ब्यँताउनतर्फ लाग्नुपर्ने गिरी बताउँछन् ।
गेयात्मकताको सच्चा गजलकार बन्नु ठूलो तपस्या हो भन्दै उनी गजलमै बोल्छन्–
यस्तो लेखा लेखनीमा दम हुनुपर्छ,
फूलभरि काँडा अलि कम हुनुपर्छ ।

गुणात्मकताको पहिलो हतियार गुरुशिक्षा परम्परा मान्ने उनी गजलका तालिम र प्रशिक्षणमा जोड दिनुपर्ने सुनाउँछन् ।
चितवनमा गजलको रजगज भित्रिएपछिका दोस्रो पुस्ताका गजल सर्जक हुन्, पुष्प अधिकारी ‘अञ्जली’ । उनले आफू मात्र गजल लेखेनन्, विगत २० वर्षदेखि युवा पुस्तालाई गजलमा प्रतिनिधित्व गराउन क्रियाशील रहे । ०५७ सालतिर उनको हवाई साहित्यिक पत्रिका हाम्रो मझेरीले निकट र विकटका गजलकारलाई हौस्याउन थाल्यो । उनको पत्रिकाको प्रतिष्ठानले ०५८ र ०५९ मा टिकट बेचेरै गजल कार्यक्रम ग¥यो । गणतन्त्र दिवसका दिन टिकटमै गजलको कार्यक्रम ग¥यो । यस वर्ष पनि चितवनका २० सशक्त गजलकारलाई उभ्याएर टिकटमा गजल सुनिएको थियो ।
साठीको दशकमा गजलको बाढी चितवन पस्दा उनको पत्रिकामा गजल धानिनसक्नु हुन्थ्यो । ‘गजल सुन्नकै लागि हल खचाखच रहन्थ्यो,’ उनी सम्झन्छन्, ‘हरकोही गजल लेख्न चाहन्थे, सुन्न चाहन्थे ।’ साठीको मध्यतिर गजलको राजधानी बनेको चितवन सत्तरीको दशक लाग्दालाग्दै संख्यात्मकताबाट गुणात्मकतातिर लम्केको उनी अनुमान गर्छन् ।
‘प्रेमविनोद नन्दन र शीतल कादम्बिनीले सुरु गरेको प्रेमरसको बाढी अब राजनीतिक, सामाजिक र विकृति औँल्याउने र चेतना भर्ने हुरी बन्न थालेको छ,’ अञ्जली थप्छन् ।
हिजो गजलकारमध्ये छानिएर राम्रो समूह तयार भएकाले पनि चितवनले तत्काल फड्को मार्न सक्ने उत्तराधिकारी पाएको दाबी उनी गर्छन् ।
उनका अनुसार गजल भित्रिएपछिका सशक्त तीन पुस्ता अझै चितवनमा सक्रिय छन् । चौथो पुस्ताका रूपमा नवआगन्तुक पनि गजल लेखेरै साहित्य फाँटमा पाइला टेक्न चाहनेको संख्या बढी रहेको उनको पत्रिकामा आएका रचनाले देखाउँछन् । स्थानीय रेडियो, पत्रपत्रिका र स्थानीय रूपमा हुने कार्यक्रम र गजलका नाममा खोलिएका अनगिन्ती संघ–संस्था गजल विकासको बलियो साधन बनेको छ ।
सरला जोशी पनि साठीकै दशकमा गजल लेखनीमा उत्रिएकी हुन् । जब उनलाई थाहा भयो गजल लेख्न सजिलो हुन्न, तर लेख्न छाडिनन् । ‘एक प्रकारको मोह बस्दो रैछ,’ उनी गजलका अनुभव बताउँछिन्, ‘प्रेम त सदावहार नै छ, देशका पीडा र समाजको पीडा पछिल्लो समय गजलको कथा बन्दै छ ।’
उनी पहिले उपन्यास लेख्थिन् । गजलको बाढीमा नपसी सुख पाइनन् । बुझेर लेख्दा भाव पक्ष र रदिफ काफियासँगै अनेक विधानको ज्ञान हुनुपर्ने औँल्याउँछिन् ।
‘हरेक शेरमा एउटा कथा लुकेको हुन्छ,’ उनी विधानमा लेख्ने कला सुनाउँछिन्, ‘पाँच शेरमा पाँच कथा बनाउन सकिन्छ ।’ लामो उपन्यासले बोल्ने कथा एकै गजलमा बुन्न सकिने उनले भेउ पाएकी छन् । अरबी, फारसी र उर्दूबाट आएको गजल विधानलाई नेपाली मौलिकतामा ढाल्ने काम चितवनबाटै हुनुपर्नेमा जोड दिन्छिन् ।
गजलमञ्च चितवनका अध्यक्ष प्रभाकर पण्डित भारतीय गायकीको एकराज तोड्न चितवनले हिम्मत गर्ने बेला आएको बताउँछन् । पहिले उनले लेखेका धेरै गजल गीत भएका थिए । तर सिकाइ निरन्तर रहेपछि पक्का गजलकार भएका छन् ।
हिन्दी र उर्दू गजल सुनेर रमाउने उनी त्यो दिन चितवनले नेपालमा भिœयाउनेमा विश्वस्त छन् । शीतल कादम्बिनीले पहिलो हिम्मत गरिसकेकाले त्यसमा थप्न गाह्रो नहुने उनको मत छ ।
स्त्री र पुरुषको संवादको सीमा पार गर्दै समय, देश बोल्दै समसामयिकताका गजलको धार यतिबेला चितवनको अंश बनेको उनको अनुभव छ ।
जटिल विधा भएकैले नयाँ पुस्तालाई प्रशिक्षण दिन थालेका छन् । ‘गजलसँग’ नामक कार्यक्रममा श्रोता र गजलकारबीच साक्षात्कार हुन्छ । चितवनमा पैसा तिरेर सपरिवार गजल सुन्न आउने क्रम बढेकाले नयाँ पुस्ता उत्साहित भएको उनले देखेका छन् ।
‘कफी र काफिया’ चलाउने गजलका नयाँ पुस्ता हुन्, लेखराम सापकोटा । ‘सिर्जन साहित्य प्रतिष्ठानले चलाउने युगल गजल कार्यक्रम हो, हरेक महिनाको अन्तिम शुक्रबार गरिन्छ,’ उनी भन्छन्, ‘गजल विकासकै अभियानमा समर्पित छौँ ।’ पहिलेको जस्तो शृंगारिकभन्दा पनि अहिलेको सामाजिक चेतना बोकेर नयाँ पुस्ता आएको उनले बताए । गोविन्दराज विनोदी, पुष्प अधिकारी अञ्जलीबाटै गजल लेख्ने कला सिकेको उनी बताउँछन् । उनका अनुसार नयाँ पुस्ताले गजलको सैद्धान्तिक ज्ञान लिन अग्रजसँग सिक्ने बानी बसालेको छ । तर सैद्धान्तिक धारमै केही विभाजन देखिएकाले भने निराश छन् । कोही रदिफ र काफियालाई महŒव दिन्छन् भने कोही बहरलाई महŒव दिन्छन् । गजलको भाव संरचना, छन्द संरचना र गायकी संरचनामा गजलकार स्वयं विभाजित छन् ।
चितवनलाई परबाट नियाल्ने रुपन्देहीका गजलकार बुँद राना चितवनको सक्रियताको सराहना गर्छन् । ‘म चिरस्थायी गजलको रोगी हुँ, प्रेमी हुँ,’ उनी भावमै बोल्छन्, ‘सपाट आँखाले हेर्दा पनि राम्रो ग¥या रैछन् भन्ने देख्छु ।’ चितवनको मञ्च बारम्बार गजल गाउन बोलाइने एक साधक उनी हुन् । ‘गजललाई हरेक दृष्टिले त्रुटिरहित बनाउनुपर्छ,’ उनी थप्छन्, ‘त्यसमा चितवनका केही युवाले ध्यान दिइरहेका छन् ।’ जिल्लाले मात्र मेहनत गरेर नहुने तीतो उनी पोख्छन् । गहकिलो गजल सामग्री छाप्ने प्रकाशक भइदिए चितवनसँगै धेरै जिल्ला उदाउँथे । उनका अनुसार विधाहरूमा सबैभन्दा हेपिएको विधा गजल रहेकाले प्रकाशकसँगको नाता पानी बाराबारजस्तै रहेको छ । देशव्यापी रूपमै प्रकाशकहरू स्वयं गजलका विज्ञ हुँदैनन्, सम्पादनमै कठिनाइ हुनेजस्ता कुराले पाठकमाझ बिक्ने विषय गजल पछि परेको उनको बुझाइ छ ।
स्रष्टाले मेहनत गरिरहे पनि त्यो प्रकाशनमार्फत देशव्यापी नहुँदा ओइलाउने सम्भावना उत्तिकै रहने उनको आकलन छ । चितवनले त्यतातिर ध्यान दिन सके गजलको भविष्य सुरक्षित रहने राना अपेक्षा गर्छन् ।

प्रकाशित: ३१ भाद्र २०७४ ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App