१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खड्का र शर्मालाई कारबाही हुन्छ : श्रेष्ठ

काठमाडौं- उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का र साझा प्रकाशनका अध्यक्ष डोलिन्द्र शर्मालाई मन्त्रिपरिषद्को आगामी बैठकले कारबाही गर्ने जनाएका छन् ।
सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीका प्र्रश्नको जबाफ दिँदै मन्त्री श्रेष्ठले निगमको जग्गा खरिदमा अर्बौं अनियमितता गरेको आरोप खेपेका खड्का र साझाको रकम हिनामिना गरेको आरोप लागेका शर्मालाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

गोपाल खड्का र डोलिन्द्र शर्मालाई कारबाही गर्न सरकार तयारी हालतमा छ । आगामी मन्त्रिपरिषद् बैठकबाट यस विषयमा निर्णय हुन्छ ।- गोपालमान श्रेष्ठ, उपप्रधानमन्त्री।


‘आगामी मन्त्रिपरिषद् बैठकले आयल निगम र साझाका बारेमा आवश्यक निर्णय लिनेछ’, श्रेष्ठले भने, ‘सरकारले अनियमितता गर्ने, भ्रष्टाचार गर्नेलाई यसै छाड्दैन, कारबाही गरेरै छाड्छ ।’ उनका अनुसार खड्कालाई कारबाही गर्न सम्बन्धित मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ भने साझाका शर्मालाई पुनः दोस्रो पटक स्पष्टीकरण सोध्ने काम भएको छ ।
सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कारबाही गर्न पनि केही सरकारी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले ढिलाइ भएको बताए । ‘अनियमितता भएको हो कि होइन ? त्यसबारे अन्तिम निर्णय लिनुअघि केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, अहिले त्यो सबै प्रक्रियामा छ,’ बस्नेतले उक्त कार्यक्रममा भने, ‘प्रक्रिया टुंगिनेबितिक्कै कारबाही हुन्छ ।’ उनका अनुसार भ्रष्टाचार र अनियमितता आरोप लागेका सबैमाथि आन्तरिक रुपमा छानबिन भइरहेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठका अनुसार मन्त्रिपरिषद्मा सम्बन्धित मन्त्रालयले प्रस्ताव पठाएकाले आगामी बैठकमा त्यसबारे छलफल हुनेछ । ‘आयल निगमबारे छानबिन गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । सरकारले सत्यतथ्य छानबिन गर्ने पनि प्रतिबद्धता जनाइसकेको छ, आगामी क्याबिनेटमा त्यो विषयले प्रवेश पाउनेछ ।’
मन्त्री श्रेष्ठले पहिलोपटक सोधिएको स्पष्टीकरणको जबाफ चित्त नबुझेर साझाका अध्यक्ष शर्मालाई पुनः अर्को स्पष्टीकरण सोधिएको जानकारी दिए । ‘साझामा अनियमितता छ भन्ने कुरा आउनेबितिक्कै दुईतीन दिनमै जाँच कमिसन पठायो, त्यसले १५ दिनपछि प्रतिवेदन तयार पा¥यो, त्यो प्रतिवेदन हामीसँग आउन पाउँदानपाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागी पठायो,’ श्रेष्ठले शर्मामाथिको कारबाही प्रक्रियाबारे भने, ‘त्यसलाई उता पठाइदियौं, हामीलाई लाग्यो– अख्तियारले चासो लिइसकेपछि उसैले गर्ला । तर फेरि पनि पत्रपत्रिकामा समाचार आउन थाले ।’
उनका अनुसार अख्तियारले प्रतिवेदन लगेको तर छानबिन नगरेपछि शर्मासँग स्पष्टीकरण सोधिएको थियो । ‘अख्तियारले प्रक्रिया अघि नबढाएपछि मन्त्रीस्तरीय निर्णय गरेर स्पष्टीकरण सोध्यौं, शर्माको जबाफ त्यति उपयुक्त लागेन  र फेरि बुधबार तीनदिने स्पष्टीकरण सोधेका छौं,’ श्रेष्ठले भने, ‘शिक्षा मन्त्रालयले उनीमाथि गर्नुपर्ने कुनै पनि कारबाहीमा कसर छाड्नेछैन, बदमासी गरेकोमा छुट हुने पनि छैन ।’ उनका अनुसार शर्माले शुक्रबार स्पष्टीकरण बुझाउनेबितिक्कै कारबाही प्रक्रिया अघि बढ्नेछ ।
निगमका खड्कालाई १ अर्ब ६७ करोड बराबर रकम अनियमितता गरेको आरोप लगाइएको छ । व्यवस्थापिका संसद्का तीनवटा समितिले छानबिन गरी कारबाही गर्न सिफारिस गरे पनि कारबाही भएको थिएन । उपप्रधानमन्त्री श्रेष्ठले उनलाई पनि कारबाही गर्न सरकार तयारी अवस्थामा रहेको बताए ।
संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले स्थलगत अध्ययन गरी जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै खड्कालाई कारबाहीका लागि सिफारिस गरेको छ । संसद्कै सार्वजनिक लेखा समितिले पनि विद्यमान ऐनकानुन मिचेर अधिक मूल्यमा निगमलाई घाटा हुने गरी जग्गा खरिद गर्दा अनियमितता भएको ठहर गर्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको थियो । सुशाषन समितिले पनि जग्गा खरिद घोटालामा संलग्न रहेका खड्कासहितलाई कारबाही गर्न सरकारलाई निर्देश गरिसकेको छ ।
प्रधानमन्त्री देउवा तेस्रो चरणको स्थानीय तह निर्वाचनको चुनावी सभा सम्पन्न गरेर फर्केलगत्तै सम्भवतः शुक्रबारै मन्त्रिपरिषद् बैठक बस्नेछ । उच्च स्रोतका अनुसार सोही दिन खड्का र शर्मालाई औपचारिक रुपमा बर्खास्त वा निलम्बन गरिनेछ ।

प्रकाशित: ३० भाद्र २०७४ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App