१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाललाई हिन्दू–गणतन्त्र बनाउन पार्टी एकता:अध्यक्ष राणा

पशुपति शमशेर राणा।

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाई स्विकारेकोले पार्टी एकता हुने निश्चित भएको बताएका छन्।

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘राप्रपा नेपालसँगको पार्टी एकता हुन्छ, हिन्दू–गणतन्त्रलाई मुख्य एजेण्डा मानेर जाने सहमति भएको छ, बाँकी मुद्दा महाधिवेशनपछि टुँगो लगाउँछौं।’ उनले आगामी चैत्रमा महाधिवेशन हुने र महाधिवेशनबाटै संघीयताको बारेमा सहमति गर्ने जनाए। उनले थपे,‘संघीयता र गणतन्त्रलाई राप्रपाले स्विकारिसकेको छ, पार्टी एकता हुँदापनि यसकै सेरोफेरोमा टेकेर समझदारी बनाएर अघि बढ्छौं।’ राणाले दुई पार्टीबीचको एकता नेपाललाई हिन्दू–गणतन्त्र बनाउनका लागि भएको दाबी गरे।  उनले भने, ‘अब नेपाल छिट्टै हिन्दूराष्ट्र हुन्छ।’

उनले भने,‘पार्टी एकतापछि कस्तो नीति लिनेबारे अहिले छलफल भैरहेको छ, कतिपय असहमतिका बुँदाहरुमा हामी महाधिवेशनबाट टुँगोमा पुुग्छौं।’ उनले अब हुने एकता कहिल्यै नफुट्नेगरी हुने एकता हुने समेत दाबी गरे। पार्टी एकतापछि चुनाव चिन्ह समेत हलो हुने उनको विश्वास थियो। उनले पार्टी एकतापछि आफू राष्ट्रिय अध्यक्ष बन्ने र कमल थापालाई अध्यक्ष बनाउने र पार्टीभित्रका अन्य पदाधिकारी चयन गर्नेबारे सहमति भएको बताए।

अध्यक्ष राणाले काँग्रेस–माओवादी केन्द्रबीच बनेको नयाँ गठबन्धनलाई आफ्नो पार्टीले समर्थन गर्ने उल्लेख गर्दै सरकारमा सहभागी हुने वा नहुनेबारे अहिले छलफल भैरहेको जनाए। उनले थपे, ‘सरकारमा जाने वा नजानेवारे अहिले छलफल जारी छ, सम्भवतः दुवै पार्टी छलफल गरेर हामी एउटै निश्कर्षमा पुग्छौं।’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने विषयमा दुवै पार्टी एक हुने विश्वास व्यक्त गरे।

केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई राहत महशुस हुने खालका कुनै ठोस काम नगरेको, मधेशको मुद्दालाई हल नगरेको, संविधान कार्यान्वयन धिमा गतिमा अघि बढेको र पछिल्लो समय संसदबाट आर्थिक विधेयक असफल भएकाले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको स्पष्ट पारे। उनले अघि थपे, ‘स्भाविक रुपमा अब ओलीजीको विरुद्धमा उभिएकाले अब बन्ने प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गर्छौं ।’

 

प्रकाशित: १३ श्रावण २०७३ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App