१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ब्याटिङ सुधार्ने प्रयासमा नेपाल

मलेसिया – एसिसी यु १९ एसिया कपको पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालले सोमबार थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । नेपालका प्रशिक्षक विनोद दासले ब्याटिङमा सुधार भएनभएको परीक्षण गर्ने खेल भएको प्रतिक्रिया दिए ।

नेपालको बलियो पक्ष बलिङ र फिल्डिङ हो । विश्वकप छनोट प्रतियोगितामा नेपालका खेलाडी ब्याटिङमा आत्मश्विासी हुन सकेका थिएनन् । प्रशिक्षक दासले ब्याटिङ प्रशिक्षक मन्टे देसाईसँग मिलेर ‘ब्याटिङ एप्रोज’लाई सुधार गर्ने प्रयास गरेको बताए । 

‘हाम्रो ब्याटिङ नराम्रो होइन । खेलाडीले आफ्नो पुरानो ब्याटिङ क्षमतालाई बिर्सेजस्तो लाग्छ । आत्मविश्वासको कमी भएजस्तो देखिन्छ । त्यो डरलाई हामीले हटाउने प्रयास गरेका छौं,’ प्रशिक्षक दासले थपे, ‘थाइल्यान्डविरुद्ध त्यसको परीक्षण हुन्छ ।’ 

नेपाली युवा टोलीले सोमबार पहिलो पटक दीपेन्द्रसिंह ऐरीको कप्तानीमा खेल्दै छ । सिंगापुरमा सम्पन्न यु–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालको ब्याटिङ सन्तोषजनक हुन सकेको थिएन । ब्याटिङमा कमजोर देखिएपछि नेपालले मलेसियामा हुने प्रतियोगिताका लागि केही साता मन्टे देसाइबाट ब्याटिङ प्रशिक्षण लिएको थियो ।

समूह ‘ए’ मा रहेको नेपालले सोमबार थाइल्यान्डसँग क्लब अमान मैदानमा खेल्नेछ । प्रतियोगितामा नेपाललाई बलियो टोलीको रूपमा हेरिएको छ । नेपाली युवा टोलीका प्रशिक्षक विनोद दासले यहाँको मौसमलाई लिएर आफूहरू केही सजग भएको बताए । वर्षा हुने सम्भावना औंल्याउँदै प्रशिक्षक दासले सकेसम्म छिटो खेल्ने रणनीति बनाएको बताए । उनले अन्य प्रतिस्पर्धी तुलनात्मक रूपमा सहज भए पनि सजग भएर खेल्ने बताए ।

‘प्रतियोगितामा मलेसिया र सिंगापुर बलिया टोली हुन् । तर हामी अन्य टोलीलाई कमजोर मान्दैनौं । क्रिकेट हो, प्रतिस्पर्धीलाई कमजोर ठान्नु गल्ती हुन सक्छ ।’ 

कप्तान दीपेन्द्र प्रतियोगिताले युवा खेलाडीलाई एक स्तर माथि उठ्न सहयोग गर्ने बताउँछन् । जारी प्रतियोगिताले खेलाडीलाई नयाँ अवसर दिलाउने दीपेन्द्रको विश्वास छ ।

‘हामीले प्रतियोगिता खेल्न पाउनु खुसीको कुरा हो । यो प्रतियोगिताले पनि हाम्रो भविष्यको करियरलाई सहयोग गर्नेछ । हामी सबै भविष्यमा सिनियर टिमबाट खेल्न चाहन्छौं । प्रतियोगितामा राम्रो गरे धेरै खेलाडीले सिनियर टिममा स्थान बनाउन सक्छन्,’ कप्तानको रूपमा खेल्दा नयाँ जिम्मेवारी थपिएको बताउने दीपेन्द्रले थपे, ‘पहिला मैले आफ्नो व्यक्तिगत प्रदर्शनमा ध्यान दिएर टिमलाई सहयोग गर्थें । तर अहिले सबै साथीको मनोबललाई बढाएर खेल्नुपर्नेछ । नयाँ जिम्मेवारीलाई राम्ररी सम्हाल्ने प्रयास गर्छु ।’ 

सोमबारको खेलमा प्रशिक्षक दासले पहिलो खेल भएकाले कुनै जोखिम नलिने बताए । 
उनले भने, ‘पहिलो खेलमा हामी आफ्नो सम्पूर्ण क्षमता देखाउने गरी खेल्छौं । सुरुआती खेल भएकाले पहिलो रोजाइका खेलाडीलाई मैदानमा उतार्ने हो । सोमबारको प्रदर्शनले पछिको खेल कसरी खेल्ने भन्ने योजना बनाउनेछौं ।’

प्रकाशित: २६ भाद्र २०७४ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App