१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिंहदरबार भवन अध्ययनमा फेरि दुई करोड

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार पश्चिमी मोहडाको अवस्थाबारे पुनः अध्ययन गर्ने भएको छ । यसका लागि प्राधिकरणले दुई करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको छ ।
प्राधिकरणका सम्पदा तथा सार्वजनिक भवन महाशाखा प्रमुख एवं सहसचिव राजुमान मानन्धरले क्षतिग्रस्त भवनको अवस्था विश्लेषण गर्न परामर्शदाता चयन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । यसका लागि प्राधिकरणले एक–दुई दिनभित्रै आसयपत्र प्रकाशन गर्ने तयारी गरेको छ । ‘सुरुमा ६ वटा कम्पनी सूचीकृत गरी कम्पनीको विस्तृत विवरण र प्रस्तावना अध्ययन गर्छौं,’ सहसचिव मानन्धरले शुक्रबार नागरिकसँग भने, ‘त्यसबाट एक कम्पनी छनोट गरी भवनको अवस्था अध्ययनका लागि सम्झौता हुनेछ ।’ उनका अनुसार चार महिनाभित्र अध्ययन र डिजाइनको काम सक्ने लक्ष्य छ ।
यसअघि सहरी विकास मन्त्रालयले लाखौं रुपैयाँ खर्चेर भवनको विस्तृत अध्ययन गरेको थियो । मन्त्रालयले नियुक्त गरेको परामर्शदाताले उक्त भवन भत्काउनुपर्ने आसयको प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदनअनुसार मन्त्रालयले भवन भत्काउने तयारी गर्दा ऐतिहासिक भवन भएकाले यसलाई जोगाउनुपर्ने आवाज उठेपछि प्राधिकरणले रोकेको थियो ।
‘यसअघि तयार पारिएको प्रतिवेदनमा सूक्ष्म अध्ययन भएको देखिएन, त्यसैले पुनः अध्ययन गर्नुपरेको हो,’ मानन्धरले भने, ‘अबको अध्ययनमा विस्तृत विश्लेषण गरिनेछ ।’ भवनमा भएको इँटा, ढुंगा, माटो, काठ आदि कुन अवस्थामा छन् भन्ने आधुनिक प्रविधिबाट परीक्षण गरी समग्र भवनको अवस्था विश्लेषण गरिने उनले बताए ।
प्राधिकरणले भवन नभत्काई प्रबलीकरणमा जोड दिँदै आएको भए पनि के गर्ने भन्ने निर्णयमा अझै पुग्न सकेको छैन । अब अध्ययन प्रतिवेदन आएपछि मात्र भवन प्रबलीकरण गर्ने वा भत्काउने टुंगो लाग्ने सहसचिव मानन्धरको भनाइ छ ।  
‘यो ऐतिहासिक महŒवको भवन भएकाले भत्काउन हुँदैन भन्ने नै प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘तर प्रबलीकरणबाट यसको संरक्षण गर्न सम्भव नहुने देखिए भत्काउनैपर्ने हुन्छ । अध्ययनपछि मात्र यसको टुंगो लाग्छ ।’ प्रबलीकरण गर्दा हुने अवस्था आए आगामी १३ महिनाभित्र सबै काम पूरा गर्ने योजना रहेको उनले बताए ।
क्षतिग्रस्त भएको दुई वर्षसम्म पनि पुनर्निर्माणको प्रक्रिया नबढ्दा भवनको अवस्था जीर्ण बन्दै गएको छ । वर्षात्को पानी चुहिएर गारोमा क्षति हुनबाट जोगाउन भन्दै प्राधिकरणले गत असारमा भवनको छानालाई प्लास्टिक सिटले ढाकेको थियो । यसका लागि प्राधिकरणले ६ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।
पुनः अध्ययन गर्न अहिले भवनमा स्काफोल्डिङको काम भइरहेको छ । यसका लागि प्राधिकरणले एक करोड २४ लाख रुपैयाँ खर्च गरेको छ ।

प्रकाशित: २५ भाद्र २०७४ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App