१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गाउँसभाको ब्यानरमा बिपीको तस्बिर राखिएपछि..

इलाम- रोङ गाउँपालिकाको प्रथम गाउँसभामा प्रयोग गरिएको ब्यानरमा नेपाली कांग्रेसका नेता स्वर्गीय बिपी कोइरालाको तस्बिर प्रयोग गरेको भन्दै नेकपा एमालेले गाउँसभा नै अवरुद्ध गर्ने चेतावनी दिएको छ । एमालेले गाउँपालिका अध्यक्ष समशेर राईले नियोजित रूपमा आफ्नो दलका नेताको तस्बिर गाउँसभाको ब्यानरमा प्रयोग गरेको निष्कर्ष निकालेको हो।

शनिबार बसेको नेकपा एमाले गाउँपालिका संसदीय दलको बैठकले अध्यक्षले त्रुटि नसच्याएसम्म गाउँसभा नै अवरुद्ध गर्ने निर्णय गरेको हो । अध्यक्ष राईले नियोजित रूपमा बिपीको तस्बिर गाउँसभाको ब्यानरमा प्रयोग गरेको, ब्यानरमा मितिसमेत नराखेकाले गाउँसभा नै नियोजित रूपमा सञ्चालन गर्न खोजेको आरोप एमालेले लगाएको छ । एमालेले शनिबार विज्ञप्ति नै जारी गरी अध्यक्षले जनताको मतबाट जितेपछि सम्पूर्ण जनताको साझा जनप्रतिनिधि हुँ भन्ने हेक्का नराखेर गाउँसभाको मूल ब्यानर बनाउनेक्रममा गम्भीर त्रुटि गरेको उल्लेख गरेको छ । एमाले रोङ गाउँपालिकाको संसदीय दलका नेता युवराज राईले हस्ताक्षर गरेको विज्ञप्तिमा गाउँका सम्पूर्ण जनप्रतिनिधिको भेला बोलाइ आत्मआलोचना गर्न र ब्यानर सच्याउन अध्यक्षसँग माग गरिएको छ ।

        रोङ गाउँपालिकाको शुक्रबार आयोजित प्रथम गाउँसभामा प्रयोग भएको ब्यानरको पृष्ठभूमिमा बिपीको तस्बिर राखिएको थियो । कार्यक्रम उद्घाटन गर्नेक्रममा मात्रै ब्यानरमा बिपीको तस्बिर सहभागीले देखेका थिए । तर, उद्घाटनसत्र भने सम्पन्न भएको थियो । बैठक उद्घाटन गर्न अर्थराज्यमन्त्री उदयसमशेर जबरा आएका थिए ।

        शनिबार आयोजित गाउँसभा बैठकमा एमालेका प्रमुख सचेतक महानन्द अधिकारीले ब्यानरमा भएको त्रुटिबारे कुरा राखेपछि बैठक नै स्थगित गरिएको थियो । ‘शुक्रबार हामीले बोल्ने पालो थिएन, शनिबारको बैठकमा कुरा राखेपछि अध्यक्षले आउँदो २७ गतेसम्मलाई बैठक नै स्थगित गरेका छन्,’ युवराजले भने, ‘भोलि (आइतबार) बजेट भाषणको कार्यतालिका छ । तर, हामी त्यसभन्दा अघि नै ब्यानरको विषय राख्नेछौं । अध्यक्षले त्रुटि स्वीकार नगरे सभा नै अवरुद्ध हुन पनि सक्छ ।’

        रोङ गाउँपालिकाका अध्यक्ष समशेर राई र उपाध्यक्ष चन्द्रकला राई दुवै नेपाली कांग्रेसबाट विजयी भएका हुन् । रोङ गाउँपालिकाका ६ वटा वडाबाट चुनिएका ३५ जनप्रतिनिधिमध्ये कांग्रेसका २१ र एमालेका १४ जना छन् । अध्यक्ष समशेर राईले बिपी जननिर्वाचित पहिलो प्रधानमन्त्री भएकाले उनको तस्बिर ब्यानरमा प्रयोग गरिएको दाबी गरे । उनले कुनै दलको नेता भएर वा कुनै नियतले तस्बिर नराखेको भन्दै गाउँसभा पहिलो भएकाले कमीकमजोरीसमेत हुनसक्ने बताए ।

 

प्रकाशित: २४ भाद्र २०७४ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App