१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वीरगन्ज मेयर उम्मेदवारका अजेन्डा

समृद्ध र स्वस्थ्य सहर

अजयकुमार द्विवेदी, नेपाली कांग्रेस

चुनावमार्फत आफ्नो प्रतिनिधि चुन्ने अवसर पाएका छन् जनताले । यो सुखद अवसर हो । जनताका लागि कांग्रेसले यहाँ काम गरेको छ । त्यस कारण जनताले हामीलाई साथ दिन्छन् । कांग्रेससँग दृष्टिकोण छ, योजना छ र सामथ्र्य पनि छ । इतिहास पनि हाम्रो विश्वासिलो छ, भविष्य पनि हाम्रो आशा गर्ने लायक छ । वीरगन्जमा व्यवस्थित सहर, समृद्ध सहर, स्वस्थ्य सहर, सफा सहर हाम्रो मुख्य नारा हो । साथसाथै अहिले वीरगन्जमा धेरै ग्रामीण क्षेत्र जोडिएको छ । पुरानो सहरको मात्र कुरा हामीले गर्न खोजेको होइन् । नयाँ क्षेत्रका जनतालाई ‘हामी पनि नगरवासी भयौं’ भन्ने अनुभूति दिलाउने, नयाँ थपिएका क्षेत्रलाई प्राथमिकतामा राख्ने, पुरानो सहरमा पनि सेवासुविधा विस्तार गर्ने नारा हामीले दिएका छौं । पुराना संरचनाको सुधार तथा नयाँ निर्माण हाम्रो लक्ष्य हो ।

 

परिवर्तन र विकास

विजयकुमार सरावगी, संघीय समाजवादी फोरम, नेपाल

भ्रष्टाचारमा शून्य सहिष्णुताको नीति, सेवा विस्तार र विकास निर्माण चुस्त–दुरुस्त, पारदर्शी र प्रविधियुक्त प्रशासन हाम्रो चाहना हो । नगरवासीको आयआर्जनलाई फराकिलो बनाउन शिक्षा र स्थास्थ्य, किनमेल आदिको हब वीरगन्जलाई बनाउने छु । सडक, ढल, सरसफाइ, विद्युत्, शैक्षिक क्षेत्र, खेलकुद र सुशासनलाई प्राथमिकता दिनेछु । व्यवस्थित सहरीकरण, प्रदूषण नियन्त्रण र सरसफाइ जस्ता विषय पनि प्राथमिकतामा रहनेछन् । वीरगन्जमा मिलेका नयाँ क्षेत्रको विकासका लागि विषेश प्याकेज योजना बनाउने छु  । यिनै कुरालाई हामीले आफ्नो चुनावी अजेन्डा र भविश्यको कार्यसूची बनाएका छौं । ‘परिवर्तन, विकास र आत्मसम्मान’ भन्ने नारा लिएर हामी अघि बढेका छौं । वीरगन्जलाई समृछ सहर बनाउनका लागि नगरको नेतृत्व लिन खोजेको हुँ ।

महानगरको बेग्लै पहिचान

रहबर अन्सारी,  माओवादी केन्द्र

वीरगन्ज महानगरपालिकलाई बेग्लै पहिचान दिलाउन जरुरी छ । वीरगन्जमा भौतिक पूर्वाधार विकास जरुरी छ  । वीरगन्जवासीको सुख, सुविधा र सहरको प्रगतिमा केन्द्रित हुने योजनासाथ अघि बढेको छु । वीरगन्जको समृद्धि, विकास र सुशासनका लागि काम गर्न मैले उम्मेदवारी दिएको हुँ । वीरगन्जलाई नेपालकै सबैभन्दा आकर्षक महानगर र सुन्दर सहरको रुपमा विकसित गर्ने मेरो लक्ष्य हो । पहिलेका राजनीतिक खेलाडी र अहिलेका खेलाडीको परिभाषा बदलिइसकेको छ, पहिले विकासमा अवरोध गरेर राजनीति गर्ने परिपाटी थियो, अहिलेका खेलाडी विचारका खेलाडी हुन् । जनताले मलाई साथ दिने छन् भन्ने विश्वास लिएको छु ।

विकासका लागि उम्मेदवारी

बसुरुद्दिन अन्सारी, एमाले

जनताको माग र चाहना अनुसार मैले उम्मेदवारी दिएको हुँ । जनताको चाहना हो, विकास । वीरगन्जको विकासका लागि मसँग विस्तृत डिपिआर छ । अहिले मैले ९ करोड रुपैयाँ कर तिर्न बाँकी रहेको कुरा आएको छ, एउटा कुरा के बुझ्नुपर्छ भने नेसनल मेडिकल कलेजले उम्मेदवारी दिएको होइन्, बसुरुद्दिन अन्सारीले उम्मेदवारी दिएको हो । अहिले मेरो लोकप्रियता देखेर हारको मानसिकतामा पुगेकाले यस्तो गलत प्रचार गरिरहेका छन् ।

ग्रेटर वीरगन्ज

राजेशमान सिंह, राष्ट्रिय जनता पार्टी

जबसम्म वीरगन्जका युवाले नगरमै काम पाउँदैनन् तबसम्म यहाँको विकास हुँदैन । कामका लागि विदेसिएका युवालाई देशमै रोजगारीको अवसर सिर्जना गरिनुपर्छ । वीरगन्जका युवा कामका लागि विदेश पलायन हुनबाट रोक्न यहीं रोजगारीका अवसर सिर्जना गर्ने मेरो प्राथमिकतामा छ । ग्रेटर वीरगन्जको अवधारणा अन्तर्गत समग्र वीरगन्जको विकास योजना हामीले बनाएका छौं । यही नै हाम्रो चुनावी अजेन्डा पनि हो ।

आर्थिक समृद्धि

विमलप्रसाद श्रीवास्तव, नेपाल जनाधिकार फोरम लोकतान्त्रिक

स्थानीय चुनावमा स्थानीय अजेन्डा हुन्छ । विकास प्रथमिकता हो । यही नै हाम्रो पार्टीको मूल मुद्दा हो । मैले जितेपछि वीरगन्ज महानगरको समग्र विकासका लागि योजना अगाडि ल्याउनेछु । समृद्घ वीरगन्जका लागि आर्थिक अजेन्डा लिएर अगाडि बढ्नेछु । यहाँको सडक, ढल, खानेपानीलगायत मुद्दामा ध्यान केन्द्रित गर्नेछु । युवालाई केन्द्रित गरेर रोजगारीका अवसर सिर्जना गरिनेछ ।

प्रस्तुति : रितेश त्रिपाठी

प्रकाशित: २४ भाद्र २०७४ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App