१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘चुनाव खर्च जुटाउन’ सुन तस्करी

काठमाडौं- सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेका बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो । लामो समयदेखि निर्वाचन चर्चामै समेटिएको थियो । गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरु भयो ।

यहीबीच राजधानीमा भटाभट तस्करीका सुन बरामद हुन थाल्यो । सुरक्षा निकाय र निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेकै बेला पुस १३ मा थानकोटमा ७ किलो सुन फेला प¥यो ।

जबजब पैसा खर्च हुने राजनीतिक गतिविधि बढ्छ सुनलगायतका तस्करीका घटना बढ्छन् । सुन तस्करीलाई अहिले भइरहेको चुनाव र आगामी चुनावको खर्चसँग जोडेर हेर्नुपर्छ । – सुन व्यवसायी मणिकरत्न शाक्य


सो सुनको अनुसन्धान सकिएकै थिएन पुस २१ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन फेला पा¥यो ।  जसले राम्रै तरंग ल्यायो ।
सरकारले आयोगलाई २०७४ वैशाख अन्तिमसम्म निर्वाचन गर्ने गरी तयारी थाल्न निर्देशन दियो । सुन बरामद हुने क्रम रोकिएन । माघ १ मा चमतीमा १५ किलो सुन बरामद भयो भने फागुन ८ मा विमानस्थलमा डेढ किलो र चैत ७ मा रसुवामा ७ किलो सुन बरामद भयो ।
स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भई तेस्रो चरणको निर्वाचन तयारीकै बेला भदौ १५ मा १५ किलो र १९ मा ८८ किलो सुन फेला प¥यो ।
प्रहरी अधिकारीहरू तस्करी भएको सुन मुस्किलले १० प्रतिशत मात्रै बरामद हुने स्विकार्छन् । ९० प्रतिशत उनीहरूको पहुँचबाहिरै रहन्छ ।
राजनीतिक दलका लागि निर्वाचन सबैभन्दा खर्चिलो समय हो । स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षका उम्मेदवारले ५ करोड खर्च भएको सार्वजनिक भएका थिए । यस्तो बेलामा दललाई उम्मेदवारको खर्च जुटाउन हम्मेहम्मे पर्ने नै भयो ।
यही बेला सुन तस्करी किन बढेको होला ? सुन व्यवसायी मणिकरत्न शाक्य पञ्चायतकालदेखि नै सुन तस्करी हुने गरेको तर २०६६ पछि बरामद हुने क्रम बढेपछि यसबारे धेरै चर्चा हुने गरेको बताउँछन् । सुन तस्करी राजनीतिक गतिविधिसँग जोडिएको उनको विश्लेषण छ ।
सुन तस्करी कहिलेदेखि सुरु भएको भन्ने तथ्यांक कतै भेटिन्न । पक्राउ परेको आधारमा २०४२  साल जोडिन्छ । २०४२ मा राष्ट्रिय पञ्चायतका सदस्य चन्द्रबहादुर बुढा त्रिभुवन विमानस्थलबाट साढे २२ किलो सुनसहित पक्राउ परेका थिए । बयानमा उनले निर्वाचन खर्चका लागि सुन ल्याएको दाबी गरेका थिए ।
व्यवसायी शाक्यले पछिल्लो समय भइरहेको सुन तस्करीलाई हालै सम्पन्न दुवै चरणको स्थानीय तह निर्वाचन, असोज २ मा हुन लागेको तेस्रो चरणको निर्वाचन र मंसिरमा हुने संघ र केन्द्रको निर्वाचनसँग जोड्ने प्रयास गरे ।
‘जबजब दलले पैसा खर्च गर्नुपर्ने राजनीतिक गतिविधि बढ्छन् त्यति बेला सुनलगायतका तस्करीका घटनासमेत बढेको देखिन्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका शाक्यले भने, ‘तस्करीको विश्लेषण गर्दा राजनीतिक गतिविधि छुटाउने हो भने पूर्ण हुन्न ।’
शाक्यको दाबीझंै सुन तस्करीको राजनीतिक तहमा सम्बन्ध छ त ?
नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल खुलै रूपमा सुन तस्करी गराउन सक्ने अवस्था नभए पनि कुनै न कुनै तहमा सुन तस्करीमा संलग्नको संरक्षण राजनीतिक तहबाट हुने गरेको बताउँछन् ।
‘राजनीतिक तहबाट योजनाबद्ध रूपमा सुन तस्करी गराउने र सुन बोकेका सवारीसाधनलाई बिनाव्यवधान नेपाल भिœयाउन अहिलेको अवस्थामा सम्भव देखिन्न,’ मल्लले भने, ‘तर अनुसन्धानका क्रममा एक तहमा पुगेर ठप्पै हुने गरेकाले कुनै न कुनै रूपमा राजनीतिक तहको प्रभाव रहेको भने देखिन्छ ।’
उनले आफ्नो भनाइ पुष्टिका लागि २०६६ मा विमानस्थलमा फेला परेको करिब डेढ करोड बराबरको विदेशी मुद्रा तस्करीको अनुसन्धान र त्यसको नतिजालाई उदाहरण दिए ।
दुबई लैजान विमानसम्म पु¥याएको विदेशी मुद्रा तस्करीको सो घटनामा तत्कालीन एसएसपी रविराज श्रेष्ठ जोडिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो ।
समितिले विदेशी मुद्रा तस्करीलाई सुन र हुन्डीसँग जोडेर विस्तृत अनुसन्धानको सिफारिससँगै विदेशी मुद्रा, सुन र हुन्डीमा संलग्न रहेका एक दर्जन बढी प्रभावशाली व्यक्तित्वहरुको नामसमेत खुलाएको थियो । प्रहरी अनुसन्धानमा खुलेका केही व्यापारी र प्रहरी कारबाहीको दायरामा आए तर प्रतिवेदनमा उल्लेख भएका अधिकांशले उन्मुक्ति पाए । सुन र हुन्डीको अनुसन्धानमा प्रवेशै भएन ।
‘त्यो प्रतिवेदनमा को कस्तो गतिविधिमा संलग्न छन् भन्ने खुलाइएको थियो,’ मल्लले भने, ‘तर प्रतिवेदनको कार्यान्वयन एक चरणमा पुगेर रोकियो ।’
साढे ३३ किलो सुन बरामद भएपछिको चर्चा, राजनीतिक तहमा चासो र त्यसको नतिजाले समेत राजनीतिक तहको प्रभाव कुनै न कुनै रूपमा रहेको अनुमान मल्लको छ ।

नीतिमा चलखेल
नेपाली बजारमा दैनिक ४५ किलो सुनको माग छ तर राष्ट्रबैंकको नीतिले २० किलोभन्दा बढी किन्न दिँदैन । बजार फर्कने पुरानो सुनको मात्रा १० देखि १५ किलो जोड्दासमेत दैनिक १५ किलो अभावै हुनुपर्ने हो । तर बजारमा कहिल्यै त्यसको प्रभाव देखिएन ।
नेपाल भित्रिने तस्करीको सुनको अर्को बजार भारत हो जहाँ वार्षिक ६ सय ६६ टनसम्म सुनको माग हुन्छ । वार्षिक कति सुन भारत तस्करी हुन्छ त्यसको लेखाजोखा छैन ।
प्रहरीले हालै बरामद गरेको एक सय ३ किलो सुनको लक्ष्य भारत पु¥याउने देखिएकाले नेपाल भित्रिने तस्करीको सुन अधिकांश भारत पुग्ने देखिन्छ नै ।
शाक्य बजारको मागअनुसारको आपूर्ति नहुँदा सुन तस्करीमा संलग्नहरू प्रोत्साहित भइरहेको बताउँछन् । तस्करीको सुन बजारमा आउँदा वैध रूपमा कारोबार गरिरहेकाहरू मारमा पर्ने गरेको उल्लेख गर्दै उनले यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढाएको दाबी गरे ।
‘तस्करीको सुनलाई बजारमा फैलन नदिने हो भने बजार मागअनुसारको आयात अनुमति आवश्यक छ,’ शाक्यले भने, ‘यसका लागि राष्ट्रबैंकका अधिकारीसँग छलफल गरिरहेका छौं, उहाँहरू सकारात्मक हुनुहुन्छ ।’
मल्लसमेत तस्करीको वातावरण बनाउन नीतिमा प्रभाव पार्ने गरेको देखिएको दाबी गर्छन् । नेपालको बजारको मागअनुसारको सुन आयात गर्न नदिने सरकारी नीतिलाई उनले सुन तस्करीका लागि वातावरण बनाउने कोणबाट विश्लेषण गरे ।
‘राजनीतिक तह आफैंले तस्करी नगराए पनि नीतिमा खेलेर सहज वातावरण बनाउन सक्छन्,’ उनले भने, ‘नेपाली बजारमा माग भएअनुसारको सुन ल्याउन नदिने नीति कतै न कतै यसैको प्रभावमा आएको हुन सक्छ ।’

प्रकाशित: २४ भाद्र २०७४ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App