१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

१४ पाइलटलाई १४ आवेदन

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय सेवातर्फका ठूला र आन्तरिकतर्फका साना जहाज उडाउन गरेको पाइलट आह्वानमा एक दर्जन बढीले आवेदन बुझाएका छन्।

निगमले गत असार २८ गते सार्वजनिक सूचना जारी गरी १४ जना पाइलट माग गरेको थियो। १५ दिन दिइएको म्यादभित्र १४ जनाकै आवेदन परेको छ। निगमले सबै पाइलट करारमा लिन लागेको हो। यस्ता पाइलटले निगमसँग रहेका एकथान बोइङ र दुईथान एयरबस, दुईथान चिनियाँ र दुईथान टि्वनअटर जहाज उडाउन पाउनेछन्।

'हाम्रा सातथान ठूला जहाज उडाउनका लागि १४ जना पाइलटको आवेदन परेको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बुधबार नागरिकसँग भने, 'आवेदक पाइलट सबै नेपाली हुन्। हाम्रो मागअनुसार केही बढी आवेदन पर्ने आशा थियो तर माग र आवेदन बराबर हुन पुग्यो। प्राप्त आवेदनको अध्ययन गरेपछि छनोट प्रक्रिया सुरु हुने छ।'

उनका अनुसार अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त 'बि७५७' सिरिजका एकथान र युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित १ सय ५८ सिट भएका 'ए३२०–२००' सिरिजका दुईथान जहाज उडाउन ६ जना वरिष्ठ क्याप्टेन माग गरिएको थियो।

त्यसैगरी चिनमा निर्मित ५८ सिट क्षमतायुक्त एकथान 'मोडर्न आर्क' (एमए–६०) र १७ सिटे एकथान 'वाई१२–ई' जहाज उडाउन आठजना जुनियर क्याप्टेन माग गरिएको थियो। वरिष्ठ क्याप्टेन नौ तह र जुनियर क्याप्टेन आठ तहका हुन्। आवदेनकर्ताको उमेर २१ वर्ष पूरा गरी ६२ वर्ष ननाघेको हुनुपर्ने सर्त छ।

निगमका अनुसार वरिष्ठ क्याप्टेनका लागि बि७५७ वा ए३२० सिरिजका जहाज न्यूनतम ५ सय घन्टा कमान्ड गरी उडान गरेको वा यही सिरिजका जहाज ३ सय घन्टा (१ हजार ५ सय घन्टा जेट जहाज) उडाएको अनुभव वा ६ हजार ७ सय किलो तौलको जहाज ३ हजार ५ सय घन्टा उडाएको अनुभव वा 'सर्ट टेक अफ एन्ड ल्यान्डिङ' (स्टोल) छोटो दुरीका धावनमार्ग भएका विमानस्थलमा कमान्ड गरी बहुइन्जिनयुक्त जहाज उडाएको न्यूनतम आवश्यक योग्यता तोकिएको छ।

त्यसैगरी आन्तरिक सेवातर्फका जहाज उडाउन माग गरिएका आठजना जुनियर क्याप्टेनका लागि छोटो दुरीका धावनमार्ग भएका (स्टोल) विमानस्थलमा न्यूनतम चार वर्ष बहुइन्जिनयुक्त जहाज कमान्ड गरी उडान गरेको हुनुपर्ने वा स्टोल विमानस्थलमा एउटा वा बहुइन्जिनयुक्त जहाज ३ हजार घन्टा उडाएको अनुभव हुनुपर्ने न्यूनतम योग्यता तोकिएको छ।

'हाम्रा आन्तरिक जहाज उडाइरहेका पाइलटलाई अन्तर्राष्ट्रिय सेवामा पदोन्नति गर्दै लाने र नयाँ लिइने पाइलटलाई आन्तरिक सेवा राख्ने योजना छ,' प्रवक्ता शर्माले भने, 'नयाँ नियुक्त हुने सबै पाइलटको सेवासुविधा संस्थाको नियमअनुसार हुने छ।'

पाइलट अभाव हुँदा निगमले अन्तर्राष्ट्रिय उडानमा आफ्ना जहाजलाई पूर्णक्षमतामा उडाउन सकेको छैन। नयाँ पाइलट नियुक्त भएपछि आफ्ना सम्पूर्ण उडान थप सरल हुने निगमको भनाइ छ। जति जहाज संख्या थपिँदै जान्छ, ध्वजावाहकले त्यति नै पाइलट अभाव झेल्दै आएको छ। यसैका कारण व्यापारिक हिसाबमा पछाडि पर्नेमात्र नभई निगमको छवि थप धमिलो भइरहेको छ।

निगम व्यवस्थापनले उपलब्ध गराएको ताजा तथ्यांकअनुसार हाल एकथान बि७५७ जहाज उडाउन १८ जना क्याप्टेन छन् भने ए३२० सिरिजका दुईथान जहाज उडाउन ८ क्याप्टेन र १३ को–पाइलट छन्। दुइटा बि७५७ लाई १४ क्याप्टेन र १४ को–पाइलट तथा ए३२० लाई पनि त्यति नै संख्या गरी कुल ५६ पाइलट आवश्यक पर्छन्।

निगम सञ्चालक समितिले यसअघि नै दुइटा बि७५७ जहाजका लागि आधा दर्जन को–पाइलट आन्तरिक रूपमा लिन व्यवस्थापनलाई स्वीकृति दिएको थियो। त्यसैअनुसार व्यवस्थापनले आन्तरिक उडानका क्याप्टेनलाई बोइङको को–पाइलटमा स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढाएको थियो।

व्यवस्थापनकै एक उच्च अधिकारीले भने पाइलटलाई आकर्षक सेवा–सुविधा दिन नसकेका कारण निगमका जहाज उडाउन पाइलटहरूले चासो नदिएको बताए। उनका अनुसार निगमका क्याप्टेन (जसले जहाज कमान्ड गर्छन्) ले मासिक औसत ८० घन्टा उडान गर्न पाए भने सबै कर कटाएर प्रतिमहिना २ लाख २५ हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म हात पार्छन्। 

'तर, यो रकम भनेको यहिँका निजी वायुसेवा कम्पनीका साना जहाज उडाउने क्याप्टेनको भन्दा कम हो किनभने निजी कम्पनीका क्याप्टेनले महिनाको पाँच लाख रुपैयाँभन्दा बढी खान्छन्। त्यसमाथि छिमेकी देशमा ठूला जहाज उडाउने क्याप्टेनले मासिक न्यूनतम ८ लाख रुपैयाँ तलब थाप्छन्,' ती अधिकारीले भने, 'हामीले दुःखका साथ भन्नुपर्छ, यो विडम्बना हो र हामी चाहेर पनि पाइलटलाई सेवा–सुविधा थप्न सकिरहेका छैनौं।'

प्रकाशित: १३ श्रावण २०७३ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App