१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ढोरपाटनमा झारलको संख्यामा वृद्धि

बागलुङ –  छ वर्षअघिको तुलनामा ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्। 

विसं २०६८ मा भएको गणनामा २८५ झारल आरक्षमा थिए। पाँच वर्षको अन्तरमा गणना हुनुपर्नेमा यो वर्ष प्राविधिक कारणले ढिलो भएको जनाइएको छ। गत जेठ–असारमा कार्यालयले आरक्षका सातवटै शिकार ‘ब्लक’ मा झारल गणना गरेको थियो। 

गणना वर्षलाई तुलनात्मकरुपमा हेर्दा झारलको संख्या बढेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। “पछिल्लो गणनामा ४२ समूहमा झारल भेटिएका थिए” अधिकृत बरालले भने, “सबैभन्दा ठूलो समूहमा ५१ वटा झारल देखिए।” जसमध्ये ३२७ झारलको लिङ्ग पहिचान भएको र बाँकी ६१ को पहिचान गर्न नसकिएको उनको भनाइ छ। पहिचान भएकामा १६२ भाले र बाँकी पोथी झारल थिए। 

आरक्षमा झारलको वृद्धिदर वार्षिक १ दशमलव ७८ प्रतिशत रहेको कार्यालयले जनाएको छ। गणनापछि भेटिएका झारलको संख्याका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शिकारका लागि ‘कोटा’ निर्धारण गर्ने गरेको छ। आरक्ष कार्यालयले गणनाको विस्तृत प्रतिवेदन विभागमा पठाइसकेको जनाएको छ। 

बाख्रा प्रजातिमा पर्ने झारल ढोरपाटन पुग्ने विदेशी शिकारीको पनि पहिलो रोजाइमा पर्ने गरेको छ। संख्याका आधारमा हेर्दा वर्षेनी ८ दशमलव ५ प्रतिशतले झारलको शिकार हुने गरेको पाइएको छ। “झारल शिकारमा आकर्षण बढ्दो छ, अघिल्लो शिकारयाममा एउटा झारल शिकार गरेबापत शिकारीले रु १३ लाख पाँच हजार तिरेका थिए” प्रमुख संरक्षण अधिकृत बरालले भने। वर्षेनी झारल र नाउर दुवैको शिकार दर घटबढ हुने गरेको छ । विभागले केही दिनमै यो वर्षको पहिलो शिकार यामका लागि नाउर र झारलको शिकार कोटा निर्धारण गर्नेछ। 

तीन हजारदेखि चार हजार मिटरको उचाइमा पाइने झारल नाउरको तुलनामा कम भएपछि शिकारको कोटा पनि कम छुट्याउने गरिएको छ। विभागले अधिकांश वर्षमा २६ नाउर र १२ वटा झारलको शिकार कोटा निर्धारण गर्ने गरेको छ। 

आरक्ष कार्यालयले अघिल्लो वर्ष गरेको नाउरको गणनामा दुई हजार २०२ वटा नाउर भेटिएका थिए। नाउर र झारल दुवैको पाँच/पाँच वर्षको फरकमा गणना गर्ने गरिएको छ। ढोरपाटन साहसिक यात्रा र शिकार अनुभवका लागि आकर्षक गन्तव्य हो । रासस 

प्रकाशित: २२ भाद्र २०७४ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App