१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

हिग्विनको महँगो सरुवा

रोम- युभेन्ट्सले विश्व फुटबल इतिहासकै तेस्रो ठूलो सरुवा रकममा इटालियन सिरी 'ए' को प्रतिद्वन्द्वी नेपोलीबाट अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्विनलाई भिœयाएको छ।

सिरी 'ए' च्याम्पियन युभेन्ट्सले हिग्विनका लागि ९ करोड युरो खर्चेको जनाएको छ। 'दुई क्लब, खेलाडी र लिगबीच हिग्विनको सरुवाबारे सहमति भइसकेको छ। सरुवा रकम दुई किस्तामा तिर्नेमा पनि हामी सबै पक्ष सहमत छौं,' नेपोलीका प्रवक्ता निकोला लोम्बार्डीले मंगलबार भने।

२८ वर्षे हिग्विनका लागि युभेन्ट्सले खर्चेको रकम विश्व फुटबल इतिहासकै तेस्रो ठूलो सरुवा रकम हो। यसअघि २०१३ मा रियाल मड्रिडले टोटेनह्यामबाट वेल्सका स्टार गारेथ बेललाई सान्टियागो बेर्नाबेउ भिœयाउँदा खर्चेको १० करोड युरो अहिलेसम्मकै ठूलो सरुवा रकम हो। दोस्रो ठूलो सरुवा रकम खर्चिनेमा पनि रियालकै नाम छ। रियालले २००९ मा म्यानचेस्टर युनाइटेडबाट क्रिस्टियानो रोनाल्डोलाई भिœयाउँदा ९ करोड ४० लाख युरो खर्चेको थियो।

गत सिजनमा हिग्विनले नेपोलीका लागि इटालियन सिरी 'ए' का ३५ खेलमा कीर्तिमानी ३६ गोल गरेका थिए। युभेन्ट्सले लगातार पाँचौंपल्ट सिरी 'ए' को उपाधि जित्दा गत सिजनमा हिग्विनप्रेरित नेपोली उपविजेता भएको थियो। रियालमा ६ सिजन बिताएपछि २०१३ मा हिग्विन नेपोली पुगेका थिए। हिग्विनले युभेन्ट्स जाने इच्छा देखाएपछि आक्रोशित बनेका नेपोलीका समर्थकले शनिबार नेपल्स सिटी सेन्टरमा उनको तस्बिर च्यात्दै ९ नम्बर जर्सी जलाएका थिए। जसले हिग्विनलाई नेपोली छोड्न थप प्रेरित गरेको बताइएको छ।

नेपोलीमा तीनवर्ष उच्च सफलताको समय बिताएका हिग्विनलाई बेच्दा क्लबले ठूलो रकम पाए पनि खेलाडी स्वयंले भने धोका दिएको समर्थकको आशय थियो। हिग्विनले वार्षिक अनुमानित ७५ लाख युरो पाउने गरी पाँच वर्षे सम्झौता गर्न सहमति जनाएका थिए। क्लबका मालिक औरेलियो डी लाउरेन्टिसले पनि ठूलो रकम पाउनाका बाबजुद हिग्विनले 'धोका' दिएको बताए।

'केही मानिसले उनको धोकालाई हामीले बढाइचढाइ गर्‍यौं भन्छन्। तर मेरो विचारमा उनले क्लबप्रति सम्मान नदेखाएर हामीलाई धोका दिएका हुन्। युभेन्ट्सको प्रस्तावमा मैले लचकता अपनाउनुपर्ने थियो। तर हिग्विनबाट मैले क्लबप्रति विशेष सम्मान अपेक्षा गरेको थिएँ, उनले त्यस्तो देखाएनन्,' डी लाउरेन्टिसले भने, 'उनका भाइसँग केही समयअघि कुरा गर्नेबित्तिकै हामीले नयाँ सेन्टर फरवार्ड खोज्नुपर्ने बुझिइसकेका थियौं। हिग्विनले क्लबसँगको तीनवर्षे सम्बन्ध पखालेर गए। उनले कम्तीमा तीनवर्ष खेलेको र धेरै सफलता हासिल गरेको क्लबप्रति छोड्ने बेला सम्मान देखाउनुपर्ने थियो।'

गुनार नोर्डाहलले सिरी 'ए' को एकै सिजनमा ३५ गोल गरेर बनाएको ६६ वर्ष पुरानो कीर्तिमान गत सिजनमा तोड्ेका हिग्विन दुई महिनासम्म 'नेपोलीका राजा' को उपनाममा नेपल्समा लोकप्रिय थिए। १९९० पछि पहिलोपटक इटालियन लिगको उपाधि जित्न संघर्ष गर्ने क्रममा हिग्विनले नेपोलीका लागि उच्च प्रदर्शन गरेका थिए।

हिग्विनलाई बिहीबार युभेन्ट्सले आधिकारिक रूपमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। तर इटालियन फुटबलमा सबैभन्दा बढी सम्भावना बोकेको, उत्तिकै लोकप्रिय र त्यतिकै आलोचना बेहोर्ने क्लबमा भएको हिग्विनको अनपेक्षित सरुवा विषयमा इटालीभित्र मिश्रित प्रतिक्रिया आउन थालेका छन्। एउटै क्लबमा पूरा खेलजीवन समर्पण गर्ने क्रममा एएस रोमाका लागि अन्तिम सिजन खेल्दै गरेका फ्रान्सेस्को टोट्टीले हिग्विनको सरुवालाई 'लगावलाई व्यापार' ले जितेको घटनाका रूपमा बयान गरे।

'गोन्जालो हिग्विन नेपोली छोडेर युभेन्ट्स जानु भनेको दुर्भाग्जयनक कुरा हो,' टोट्टीले भने, 'तर, अहिले इटालीमा यस्ता कुरा सामान्य हुन थालिसकेका छन्। विदेशी खेलाडी इटाली आएपछि बढी पैसाका लागि एउटा क्लब छोडेर अर्कोमा जानु अन्यथा होइन। ऊसँग पैसाबाहेक क्लबप्रतिको भावना हुँदैन।'

नेपोलीले हिग्विनलाई स्थानान्तरण गर्नका लागि इन्टर मिलानका स्ट्राइकर माउरो इकार्डीमाथि आँखा गाडिरहेको छ। तथापि अयाक्सका पोलिस अन्तर्राष्ट्रिय स्ट्राइकर आर्काडिउस मिलिकले हिग्विनको ठाउँ लिने सम्भावना बलियो रहेको बताइएको छ।

प्रकाशित: १३ श्रावण २०७३ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App