१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्मचारीलाई बिदा नबस्न निर्देशन

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभर प्राकृतिक विपत्ति आइरहेका बेला बिदा लिएर घरमा नबस्न सरकारी कर्मचारीलाई निर्देशन दिएको छ। प्रकोपलाई मिलेर सामना र सहयोग गर्नका लागि कर्मचारीलाई निर्देशन दिएको कार्यालयका प्रवक्ता विनोद कुँवरले बताए।

उनले सरकार मातहतका सबै कर्मचारीलाई आ–आफ्नो ठाउँबाट विपतमा परेका सर्वसाधारणलाई जिल्लास्थित दैवी प्रकोप समितिसँग खटिन निर्देशन दिएको बताए। बाढी, पहिरो र डुबानमा परी ज्यान गएका, हराएका, घाइते र घरबारविहीन भएकालाई जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरी सघाउन कार्यालयले निर्देशन दिएको छ।

प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला दैवी प्रकोप उद्धार समिति रहेका छन्। समितिसँग समन्वय गर्दै विपद् व्यवस्थापनको आकस्मिक कार्यमा खट्ने व्यवस्था गर्न सबै मन्त्रालय र मातहत निकायमा कार्यरत कर्मचारीलाई निर्देशन दिएको छ। प्रवक्ता कुँवरले भने, 'सम्बन्धित मन्त्रालयका सचिवको पूर्वस्वीकृतिबेगर जिल्ला र क्षेत्रस्तरमा कार्यरत कुनै पनि कर्मचारीलाई काज, बिदा बस्न दिइने छैन। साथै कुनै पनि कर्मचारी अनुपस्थित हुन पाउने छैन।'

त्यसैगरी, गृह मन्त्रालयले कसैले थाहा पाएमा नजिकको सुरक्षा निकायलाई घटनाको जानकारी दिन आग्रह गरेको छ। घटना घटेको र खतरा रहेको थाहा पाउनासाथ  नजिकका इकाईमा रहेका सुरक्षा निकाय परिचालन गरिएको मन्त्रालयले बताएको छ। मन्त्रालयका सहायक प्रवक्ता झंकनाथ ढकालले घटनामा परी घाइते भएकाको उद्धार भइरहेको बताएका छन्। उद्धारक्रममा मृत्यु भएकाको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने काम भइरहेको छ।

घाइतेलाई नजिकको अस्पतालमा उपचार व्यवस्था मिलाइएको, बेपत्ताको खोजी तथा उद्धार भइरहेको उनले बताए। डुबान र जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

जल तथा मौसम विभागका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना भएकाले आ–आफ्नो जिल्लाबाट तयार गरिएको मनसुन पूर्वतयारी कार्ययोजनाअनुरुप तत्काल खोज, उद्धार र राहत वितरण गर्न सक्नेगरी तयारी अवस्थामा रहन स्थानीय प्रशासनलाई मन्त्रालयले निर्देशन दिएको छ।

प्रकाशित: १३ श्रावण २०७३ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App