१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नागरिक विरुद्धको मुद्दा ‘नियोजित’ : पत्रकार महासंघ बागलुङ

बागलुङ – नेपाल पत्रकार महासंघ बागलुङले नागरिक दैनिकमाथी लगाइको मुद्दा ‘नियोजित’ रहेको भन्दै आपत्ती जनाएको छ। 
 
पत्रकार महासंघ बागलुङले एक प्रेस विज्ञप्ती जारी गर्दै आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको समाचार प्रकाशन भएपछि दायर भएको मुद्दाले भ्रष्टाचारको खुलासा गर्ने कामलाई निरुत्साहित गर्ने र पत्रकारिता क्षेत्रमा त्रास सिर्जना गर्ने नियोजित प्रयास गरिएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । ‘सार्वभौम संसदका विभिन्न समितिहरूले अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको ‘नेपाल आयल निगमको जग्गा खरिद’ प्रकरणका विषयमा नागरिक दैनिकले अनुसन्धानात्मक रिपोर्टिङ गरी समाचार प्रकाशित गरेपछि विकसित घटनाक्रम प्रति महासंघले आपत्ती जनाएको छ। 
 
समाचार प्रकाशन भएपछि निगमका प्रवन्धक गोपाल खड्काले नागरिक दैनिकमा कार्यरत पत्रकार दीलिप पौडेलसहित प्रवन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, प्रधान सम्पादक गुणराज लुइँटेललाई विपक्षी बनाई जनही २० करोड रुपैयाँका दरले क्षतिपूर्ति माग गरेर मुद्दा दायर गरेका छन् । ‘एउटा नागरिकको अदालतमा जाने अधिकारको महासंघ सम्मान गर्दछ,’ शाखा अध्यक्ष दिल शिरीष र सचिव राम थापा ‘अविरल’द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाक्रम विश्लेषण गर्दा यो मुद्दा नियोजित रुपमा भ्रष्टाचारको खुलासा गर्ने कामलाई निरुत्साहित गर्ने, पत्रकारिता क्षेत्रमा त्रास सिर्जना गरी सञ्चारमाध्यम तथा पत्रकारलाई क्षतिपूर्तिका नाममा आर्थिक क्षति पु¥याउने मनसायबाट प्रेरित रहेको देखिन्छ ।’ 
 
पेट्रोलियम पदार्थको एकाधिकार सहित व्यापार गरिरहेको नेपाल सरकारको आधिकारिक वितरक निगममा जग्गा खरिद, पेट्रोलियम पदार्थ भण्डारण लगायत विषयमा भइरहेको संस्थागत अनियमितताबारे नागरिक दैनिकले गरिरहेको खोज र समाचारमा यो मुद्दाले कुनै पनि किसिमको प्रभाव पर्न नदिन शाखाले पत्रकार महासघंको केन्द्रीय समिति लगायत सम्बन्धित सबै पक्षसँग आग्रह समेत गरेको छ । सम्मानित अदालतमा दर्ता भएको मुद्दाका बारेमा नेपालको प्रचलित कानुन, प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता र खोजी पत्रकारिताको मान्यतालाई सुरक्षित गर्ने गरी अदालतले फैसला गर्नेमा महासंघ विश्वस्त रहेको विज्ञप्तीमा उल्लेख छ । प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता र नेपाली पत्रकारिताको मौलिक चरित्रको जगमा उभिएर निर्भिकतापूर्वक खोजी पत्रकारितामा दृढतापूर्वक लागि रहन सबै पत्रकारहरुलाई महासंघले आह्वान समेत गरेको छ। 

प्रकाशित: २१ भाद्र २०७४ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App