१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उम्मेदवार घोषणासँगै कलैयामा चुनावी रन्को

बारा – तेस्रो चरणको स्थानीय तह चुनाव नजिकिँदै गर्दा र विभिन्न पार्टीले मेयर उम्मेदवार घोषणा गरेपछि कलैया उपमहानगरपालिकको चुनावी वातावरण एक्कासी तातेको छ ।

दुईतीन दिनअघिसम्म कांग्रेस, एमाले र राजपा नेपालले पार्टीका तर्फबाट मेयर उम्मेदवार टुंगो नलगाएको अवस्थामा यहाँ चुनावी गतिविधि सुस्त देखिन्थ्यो ।

कलैयका वरिष्ठ पत्रकार सुजित अर्यालले सोमबारसम्म कांग्रेस, एमाले, राजपाले मेयर उम्मेदवार तोकेपछि चुनावी गतिविधि एकाएक बढेको बताए । यसअघि माओवादी केन्द्र र संघीय समाजवादी फोरमले मेयर उम्मेदवार तोकिसकेको भए पनि चुनावी माहोल बन्न नसकेको अर्यालको ठम्याइ छ ।

विभिन्न पार्टीले कलैया उपमहानगपालिकामा जित्नका लागि मेयर र उपमेयरमा जातीय समीकरण मिलाएर टिकट वितरण गरेका छन् । २७ वटा वडा रहेका कलैया उपमहानगरपालिकामा लगभग ५६ हजार मतदाता छन् । यो उपमहानगरपालिका यादव र मुस्लिम समुदाय बाहुल्य छ।

कांग्रेसबाट राजेश राय यादव 
कांग्रेसले यो उपमहानगरपालिकाका मेयरका लागि कांग्रेस केन्द्रीय सदस्य तथा सांसद राधेचन्द्र यादवका छोरा राजेश यादवलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ । 

पार्टीका जिल्ला सभापति जयचन्द चौरसिया, क्षेत्रीय सभापति फुलमहम्द मंसुर, रामानन्द यादवलगायत धेरैजना मेयरका आकांक्षी रहे पनि जित्ने उम्मेदवारको खोजीमा कांग्रेसले यादवलाई मेयरको टिकट दिएको बताइएको छ ।
२०४७ सालमा कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका मेयर उम्मेदवार यादव अहिले पार्टीका जिल्ला कार्य समिति सदस्य छन् । 

एमालेबाट विनोद साह 
यो उपमहानगरपालिकामा एमालेले  मेयर उम्मेदवारमा पूर्वउपमेयर तथा बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहलाई अघि सारेको छ । २०५४ सालमा  भएको स्थानीय निकाय निर्वाचनमा एमालेका तर्फबाट कलैया नगरपालिकाका  उपमेयरमा उनी निर्वाचित भएका थिए । 

एमालेका नगर सचिव, क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य हुँदै अहिले प्रदेश सदस्य रहेका साह २०७३ सालको संविधानसभा निर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले प्रत्याशीका रूपमा कांग्रेसका फरमुल्लाह मंसुरसँग पराजित भएका थिए । एमालेसँग असन्तुष्ट भएर केही महिनाअघि उनी पार्टीबाट राजीनामासमेत दिएका थिए ।
राजीनामा दिएपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल साहलाई मनाउन कलैया आएका थिए । मेयरका उम्मेदवार बनाइए पनि एमाले नगर कमिटीले उम्मेदवारका लागि उनको नाम सिफारिस नगरेको एमालेका स्थानीय नेताले बताएका छन् । 


माओवादी केन्द्रबाट मुकेश साह

माओवादी केन्द्रले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउने अन्दोलनमा खटेका मुकेश साहलाई मेयरको टिकट दिएको छ ।
समान्य परिवारका सदस्य साह कलैया उपमहानगरपालिकाका अन्य दलका मेयर उम्मेदवार घोषणा भएकाभन्दा कम उमेरका छन् । अनेरास्ववियु क्रान्तिकारीबाट राजनीति सुरु गरेका उनी युवामाझ लोकप्रिय छन् ।
यो उपमहानगरपालिकामा कमजोर रहेको माओवादीलाई बलियो बनाउने कार्य साहले गर्ने विश्वास माओवादी नेताहरूको छ । तीन महिनाअघि नै मेयर उम्मेदवार घोषणा भएको साह नेतृत्वको टोलीले अन्य पार्टीभन्दा प्रचारप्रसार र संगठन विस्तारमा बढी सक्रिय छ । 

फोरम नेपालबाट प्रमोद गुप्ता

संघीय समाजवादी फोरम नेपालबाट पूर्वसभासद  प्रमोद गुप्तालाई मेयर उम्मेदवारका रूपमा अगाडि सारिएको छ । 
चुनाव जित्ने रणनीतिअनुसार गुप्तालाई टिकट दिएर मैदान उतारेको फोरम नेपालका नेताहरूले बताएका छन् । कलैया उपमहानगरपालिकाका अधिकांश भाग पर्ने निर्वाचन क्षेत्र नम्बर ३ बाट गुप्ता पहिलो संविधानसभा चुनावमा निर्वाचित भएका थिए ।  दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए । कलैयामा बालिकामाथि बढ्दै गएको हिंसा नियन्त्रण गर्नका लागि गुप्ताले लामो समयसम्म केटी बचाऊ अभियान चलाएका थिए ।

राजपाबाट जयप्रकाश  साह

राष्ट्रिय जनता पार्टी नेपालले मेयरमा जयप्रकाश  साहलाई टिकट दिएको छ । कांग्रेस परित्याग गरी राजपामा प्रवेश गरेका उनलाई राजपाले टिकट दिएको हो ।
बारा उद्योग वाणिज्य संघका महासचिव रहेका साह असल छवि र सरल स्वभावका व्यक्ति मानिन्छन् ।
राजपामा प्रवेश गरेयता साहले मेयरमा चुनाव लड्नकै लागि नगरक्षेत्रमा राजपालाई बलियो बनाउने कार्यमा खट्दै आएका छन् ।

प्रकाशित: २१ भाद्र २०७४ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App