१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बङ्गलादेशमा म्यानमारका शरणार्थी एक लाख नाघ्ने अनुमान

कोस बजार (बङ्गलादेश)-  म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण बङ्गलादेश पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या मङ्गलबार एक लाख भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।

छिमेकमा पर्ने देश म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण शरणार्थीको रुपमा त्यस समुदायका ती व्यक्ति बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

म्यानमारको अल्पसङ्ख्यक हजारौँ रोहिङ्गा मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बङ्गलादेश छिर्ने सीमामा बसेका छन्।

सोमबार म्यानमारको पश्चिमी राज्य राखिन र बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा करिब २० हजार अधिकांश रोहिङ्गा मुस्लिम समूदायका व्यक्ति बङ्गलादेश छिर्नको लागि पर्खेर बसेका र ८७ हजार बङ्गलादेशभित्र गएका संयुक्त राष्ट्रसंघद्धारा जारी प्रतिवेदनमा जनाइएको छ।

संयुक्त राष्ट्रसंघले यो जानकारी दिएको भए पनि बङ्गलादेशी अधिकारीहरुका अनुसार भने गत अगस्त २५ बाट सोमबारसम्म बङ्गलादेश प्रवेश गर्ने म्यानमारका शरणार्थीको सङ्ख्या करिब ९२ हजार पुगेको थियो।

मङ्गलबार यो सङ्ख्या एक लाख भन्दा बढी हुने अनुमान गरिएको सो समाचारमा जनाइएको छ । करिब दशदिन यतादेखि सुरु भएको हिंसाका कारण ढाकाले आफ्नो सीमा क्षेत्रमा नियन्त्रण गर्न छोडेको छ । हालैका दिनमा बङ्गलादेशी सीमा सुरक्षा गार्डहरु पनि म्यानमारका शरणार्थीहरुलाई त्यहाँबाट भाग्न र बङ्गलादेश छिर्न सघाइरहेका छन।

गत पाँच बर्षयता म्यानमारको राखिन राज्यमा जाती र धर्मका कारण हिंसा अत्यन्तै भड्किदै गएको छ।

राष्ट्रसंघका अनुसार म्यानमारको रोहिङ्गा राज्यमा सुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रममा नाफ सीमा नदी पार गर्दा बगाएर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ।

म्यानमारबाट भागेर आएका व्यक्तिले शरणार्थी शिवीर भरिएको हुनाले स्थानीय व्यक्तिहरुले समेत शरणार्थीलाई सहयोग गर्ने गरेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौं रोहिङ्गा मुस्लिमहरुको मृत्यु भएको छ भने लाखौंको सङ्ख्यामा विस्थापित भएर स्वदेश तथा विदेशमा शरणार्थीका रुपमा रहेका बताइन्छ । रासस/एएफपी
 

 

प्रकाशित: २० भाद्र २०७४ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App