१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘स्थानीय निर्वाचन चैतमा'

काठमाडौं- नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आगामी चैतसम्ममा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नेगरी अघि बढ्ने सहमति गरेका छन्।

दलीय सहमतिमा स्थानीय तहको प्रस्तावित संख्या हेरफेर गर्नुपर्ने ठहर गर्दै दुई दलले नेकपा एमालेसहितका दलसँग समझदारी गरेर आगामी चैतसम्ममा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।

कांग्रेस र माओवादीको बुधबार सिंहदबारमा बसेको बैठकले स्थानीय तहको सीमा निर्धारणका लागि गठन गरिएको आयोगको म्याद फागुन मसान्तसम्म रहेको जनाउँदै गाउँपालिकाको संख्या र सीमा निर्धारण गर्न बाँकी रहेको अवस्थामा मंसिरमा स्थानीय निकाय निर्वाचन सम्भव नरहेको ठहर गरेको हो।

कांग्रेस नेता विमलेन्द्र निधिले सबै दलको सहमतिमा चैत पहिलो साता निर्वाचन गर्ने विषयमा दुई दलबीच छलफल भएको जानकारी दिए। माओवादीसमेत सहभागी एमाले नेतृत्व सरकारले आगामी मंसिरमा स्थानीय निकाय निर्वाचन गर्ने घोषणा गरेको छ।

दुई दलीय बैठकले एकैपटक ठूलो संख्यामा गाउँ विकास समिति संख्या घटाउन नहुने निष्कर्ष निकालेको छ। बैठकले ३ हजार २ सयबाट एकैपटक ५ सय ६५ मा झार्ने स्थानीय निकाय पुनःसंरचना आयोगको प्रस्ताव व्यावहारिक नभएको जनाएको छ।

कांग्रेस पदाधिकारीका साथै प्रभावशाली नेताको मंगलबारको बैठकले स्थानीय तहको संख्या एकैपटक धेरै घटाउन नहुने ठहर गर्दै अन्य दलसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो।

यसैबीच प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारले नीति र मिति दिए निर्वाचन आयोग तीनवटै चुनाव गर्न सक्षम रहेको स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लब नेपालले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले निर्वाचनका लागि आवश्यक पर्ने नीति तथा कार्यक्रम र कानुनसहित तीनै तहको निर्वाचन मिति तोके आयोग चुनाव गराउन सक्षम रहेको दाबी गरे।

प्रकाशित: १३ श्रावण २०७३ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App