१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काम पूरा नहुँदै हस्तान्तरण

कुम्भीखाडी (सिराहा)- नेपाली सेनाले सम्झौताबमोजिम काम पूरा नगरी मैनाबती नदी नियन्त्रण तथा कुम्भीखाडी र सदामुसहर ताल संरक्षण कार्यक्रम राष्ट्रपति चुरे–तराई मधेस विकास समितिलाई हस्तान्तरण गरेको छ ।

सेनाले सम्झौताबमोजिम काम पूरा नगरी मैनाबती नदी नियन्त्रण तथा कुम्भीखाडी र सदामुसहर ताल संरक्षण कार्यक्रम राष्ट्रपति चुरे–तराई मधेस विकास समितिलाई हस्तान्तरण गरेको छ ।

सेनाले २ करोड ८३ लाख ३० हजार रुपैयाँमा कुम्भीखाडी र सदामुसहर ताल संरक्षण एवं विकास तथा मैनाबती नदी नियन्त्रणको काम थालेको थियो । उक्त बजेटमध्ये १ करोड ४३ लाख रुपैयाँको मैनाबती नदी नियन्त्रणको काम झारा टार्ने किसिमले गरेको स्थलगत भ्रमणमा पाइएको छ । योजना अनुसारका धेरै काम भएका छैनन् । तर पनि ताल र नदी नियन्त्रणका काम सेनाले भदौ ६ गते चुरे विकास समितिका अध्यक्ष विरेन्द्र यादवमार्फत हस्तान्तरण गरिसकेको  छ ।   

यी योजनामध्ये कुम्भीखाडी ताल संरक्षण र भौतिक संरचना निर्माणको काम सकिएको छ । थोरै बजेटको कुम्भीखाडी ताल संरक्षण र विकास कार्यक्रम सफल देखिए पनि सदामुसहर ताल र नदी नियन्त्रण काम अपूरै छन् । 

मैनाबती नदी नियन्त्रण कार्यक्रमलाई चुरे विकास समितिले नमुना कार्यक्रम बनाउने लक्ष्य लिएको थियो । तर स्थलगत भ्रमणमा सबैभन्दा असफल यही कार्यक्रम देखिएको छ । चुरेबाट निस्किएको मैनाबती खहरे खोलाले चुरे फेद काटेर ठूलो क्षति पु¥याएपछि यो कार्यक्रम लागू गरिएको हो । ‘मैनाबती नदी नियन्त्रणको आधा काम बा“की छ । जैविक इन्जिनियरिङ र वृक्षरोपणको काम भएकै छैन’, कुम्भीखाडी सदामुसहर ताल संरक्षण समिति अध्यक्ष लक्ष्मण साहले भने, ‘ढुंगाको स्पर पनि पर्याप्त संख्यामा बनाइएन ।’ उनले निर्माणमा सक्रिय सेना प्रमुखलाई पटक–पटक आग्रह गरेको तर सुनवाइ नभएको उल्लेख गरे । 

नदी नियन्त्रणका लागि चुरे फेददेखि एक किलोमिटर दक्षिणसम्म खोलाको सतह खोस्रने, दुवैतर्फ खोस्रिएको माटोले डिल बनाउने, खोलाले विनाश गरेको दुई किनारका जग्गामा वृक्षरोपण गर्ने र नदीको दाया“बाया“ भूक्षय भइरहेको चुरेको सबै भिरालो जमिनलाई नियन्त्रण गर्न जैविक इन्जिनियरिङ प्रविधि प्रयोग गर्ने योजनामा उल्लेख छ । ‘तर सेनाले नदीको एक किलोमिटर क्षेत्र खोस्रेर पन्ध्र मिटर चौडा बनाएको छ । केही स्थानमा ढुंगाका ग्याबेन वाल पनि लगाएको छ । तर अरु कुनै पनि काम गरेको छैन’, साहले भने, ‘खोला खोस्रेर बनाइएको दुवै किनारतर्फको डिललाई बचाउने हो भने वृक्षरोपण र हरियो चपरी ओछ्याउने काम पनि गर्नुपर्छ ।’ उनले माटोको डिललाई अहिलेकै अवस्थामा छोड्दा वर्षातले बगाएर लैजाने बताए । ‘नदी खोस्रिएर मात्र कसरी नमुना कार्यक्रम हुन्छ ?’ साहको प्रश्न छ ।

साहले चुरे विकास समितिले सेनालाई काम दिँदा विस्तृत कार्ययोजना नबनाएको र अनुगमन पनि नगरेकाले प्रभावकारी नभएको बताए । साहले भनेजस्तै चुरे विकास समितिले कुनै पनि कार्यक्रमको विस्तृत योजना नबनाईकनै दिएको पाइयो । एउटा कार्यक्रममा बजेट विनियोजन गरिएको भए पनि विस्तृत कार्ययोजना तयार नगरेको पाइयो । यस योजनामा कति हेक्टरमा कुन–कुन क्षेत्रमा वृक्षरोपण गर्ने, कुन–कुन क्षेत्रमा बायो इन्जिनियरिङ गर्ने, ढुंगाको ग्याबेन वाल कति लगाउने र कता लगाउने जस्ता कुरा स्पष्ट छैन ।

बायो इन्जिनियरिङका नाममा चुरेको पश्चिमतर्फको भिरालो जमिनमा चार ठा“उमा चार लाइनका बास गाड्ने काम मात्र भएको देखिन्छ । त्यसभित्र र बाहिर कुनै पनि वृक्षरोपण गरेको पाइँदैन । नदीले काटेर बनेका दुवैतर्फका खुला स्थानमा एउटा पनि विरुवा छैनन् ।

निर्माण कार्यमा संलग्न उदयपुरको बेलसोतस्थित राष्ट्रिय विकास तथा सुरक्षा विकास निर्देशनालयका प्रमुख कमल बानियाँले १७÷१८ हजार बिरुवा रोपेको जानकारी दिए । ‘यी बिरुवा सुख्खायाममा रोपिएछ, सबै मरे’, उनले भने, ‘कुरेर बस्ने कुरा भएन । स्थानीयले पनि रेखदेख गरेनन् ।’ उनले भौतिक संरचना निर्माणका लागि खटिएको सेनाको टुकडीस“ग वन र वातावरणस“ग सम्बन्धित कामबारे धेरै ज्ञान नभएकाले पनि केही समस्यमा भएको बताए ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्यसचिव हेमलाल अर्यालले भने सेना र समितिबीच योजना र कार्यक्रमबारे बुझाइ गलत भएकाले केही काम छुटेको बताए । ‘विकास निर्माण र वृक्षरोपणपछि मात्र निर्माण टुकडीले ठा“उ छोड्ने भन्ने थियो, तर भएन’, उनले भने । अर्यालका अनुसार वन र वातावरण हेर्ने सेनाको टुकडी नवलपरासीको काबासोतीमा छ । त्यही टुकुडीलाई ल्याएर वृक्षरोपण र जैविक इन्जिनियरिङको काम गर्ने योजना बनाइएको छ । ‘काबासोतीको गणस“ग कुरा गरिरहेको छु’, उनले भने ।

कुम्भीखाडी नजिकैको सदामुसहर तालको माटो निकाल्ने र फाल्ने काम पनि राम्ररी गरेको पाइएन् । ‘सदामुसहर तालबाट ११ हजार ४ सय ४५ घनमिटर माटो निकाल्नुपर्ने थियो, तर ५ हजारभन्दा बढी निकालिएन’, कुम्भीखाडी सदामुसहर ताल संरक्षण समितिका सचिव यादव साहले भने । उनका अनुसार निकालेको माटो पनि ताल किनारमै फालियो र त्यो माटो पानीले बगाएर तालमै गयो । ‘यो माटो भूक्षय भएको चुरेमा लगेर फालिदिएको भए यस्तो हुँदैनथ्यो’, साहले भने ।

सेनाले आर्थिक वर्ष २०७१-७२ देखि ०७३÷७४ सम्म चुरे विकास समितिको करिब साढे १८ करोड रुपैयाँ खर्च गरेर ११ वटा तालको संरक्षण र विकास काम गरेको हो । यस अन्तर्गत नै कुम्भीखाडी र सदामुसहर ताल संरक्षण काम गरिएको हो । मैनाबती नदी नियन्त्रण छुट्टै योजना हो ।

सेनाले पहिलो वर्ष सप्तरीको लोहजरा, बाबा र देवी तालको संरक्षण र विकासको काम गरेको थियो । यसैगरी दोस्रो र तेस्रो वर्ष बर्जु ताल, सुनसरी, कुम्भीखाडी ताल, सिराहा, राजारानी ताल, मोरङ, धनुषाधाम ताल, धनुषा, नाडिमन ताल, सर्लाही, बडेया ताल, रौतहट, कोहीलही ताल, कैलाली र गजेडी ताल रुपन्देहीमा काम गरेको छ । सबै तालको कामको प्रकृति लगभग उस्तैउस्तै छ ।

पुराना ताल मर्मत र संरक्षण क्रममा माटो निकालेर वरिपरि डिल बनाउने, बीचमा त्यहीं भित्रको माटोबाट टापु बनाउने, पर्यटकका लागि बस्ने कुर्सी, तालवरिपरि तारबार, वृक्षरोपण, भौतिक पूर्वाधारमा सेडघर, शौचालय, बारबिक्यु स्टेन्ड, ढुंगा र बाल उद्यान बनाउनेलागयत योजना छन् ।

प्रकाशित: २० भाद्र २०७४ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App