१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुन-डलर तस्करीमा केरुङ-काठमाडौं ‘कनेक्सन’

काठमाडौं- शक्तिशाली भूकम्पका कारण सिन्धुपाल्चोकको खासा नाका बन्द भएपछि चीनसँगको व्यापारलाई सहज बनाउन रसुवाको केरुङलाई मुख्य नाका बनाउन सरकार सक्रिय छ ।
भारतले लगाएको अघोषित नाकाबन्दीपछि चीनतर्फका नाकालाई सहज बनाउने सरकारी निर्णयअनुसार सडक र भौतिक पूर्वाधार निर्माणमा सरकार सक्रिय भए पनि नाका सहज बन्न सकेको छैन । तर, सरकारभन्दा एक कदमअगाडि बढ्दै तस्करहरूले केरुङलाई सुन र डलर तस्करीको मुख्य नाका बनाइसके ।
पछिल्लो समयमा फेला परेका सुन र डलर दुवै ओसार्ने मुख्य नाका केरुङ देखिएको छ भने तस्करीमा चिनियाँ नागरिकको संलग्नता बढ्दो छ । सोमबारमात्रै महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंमा ८८ किलो सुन बरामद ग¥यो । 
बा १७ च ६४२७ नम्बरको टाटा सफारीमा सुनसँगै गाडीका चालक मनोज अधिकारी पक्राउ परेका छन् । सुन कसले ल्याएको हो र यसको मुख्य नाइको को हुन् भन्ने खुलेको छैन । तर, सुन केरुङबाट आएको हो भन्नेमा प्रहरी निश्चिन्त देखियो ।
महाशाखा अधिकारीका अनुसार आइतबार गाडी केरुङबाट काठमाडौं हिँडेको खुलेको छ । गाडीको पछिल्लो भागमुनि चाङ लगाएर ८८ वटा सुनका बिस्कुट लुकाएर काठमाडौं हिँडेको गाडी सहजै सबै सुरक्षा जाँच पार गरेर काठमाडौं भित्रिएको थियो ।
गाडी ठमेल पुगेपछि सोमबार बिहान २ बजे प्रहरीले चालक र गाडी नियन्त्रणमा लिएर टेकुमा पु¥याएको थियो । सुन लुकाएको स्थान पहिचान गरेर सुुन निकाल्नमात्रै ५ घन्टा लागेको थियो । 
‘गाडी आइतबार केरुङबाट काठमाडौं आएको पुष्टि भइसकेको छ,’ महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘पक्राउ परेकाले चिनियाँ नागरिकको गाडी हो भन्ने जानकारी दिएका छन् । सुन कसको हो भन्ने खोजी जारी छ ।’
पाँच दिनअगाडिमात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तस्करीको २२ किलो सुन खोज्दा १५ किलो फेला पा¥यो । १४ किलो सुन काठमाडौंको टोखामा फेला पारेको थियो भने एक किलो धनुषामा फेला पा¥यो । तस्करीको अनुसन्धानका क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीका अनुसार फेला परेको सुन केरुङ हुँदै काठमाडौं भित्रिएको हो । उनका अनुसार केही सुन तातोपानी नाकाबाट समेत भित्रिएको देखिन्छ ।
प्रारम्भमा काठमाडौंमा हवाईमार्ग हुँदै सुन भित्रिने गरेको थियो । सुन तस्करीमा संलग्न भएकाको पक्राउ पर्ने क्रम बढेपछि स्थलमार्गको खोजीमा खासा नाका सक्रिय भएको थियो । 
 

तस्करीमा केरुगं–काठमाडौं कनेक्सन
पक्राउ परेकाको बयान र प्रहरी अनुसन्धानले चीनसँगै दुबई र हङकङ अवैध सुनको मुख्य स्रोत देखिन्छ । पछिल्लो समयमा सुन तस्करीमा चिनियाँ नागरिक बढी सक्रिय देखिएको छ । स्थल नाका केरुङ बढी सक्रिय देखिन्छ । 
भूकम्पछि  फेरि हवाई नाका सक्रिय भयो । २०७३ पुस २१ मा दुबईबाट भित्रिएको साढे ३३ किलो सुन फेला परेपछि पुनः केरुङ नाका बढी सक्रिय भएको देखिन्छ । यसबीचमा बरामद भएका अधिकांश सुनको स्रोत केरुङ देखिएको थियो । 
२ वर्षअगाडि आएको शक्तिशाली भूकम्पले तातोपानी नाका ध्वस्त पारेपछि विकल्पको खोजीमा केरुङ नाका चर्चामा आयो । संविधान जारी भएसँगै असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएपछि इन्धनको हाहाकार कम गर्न विकल्पका रूपमा सरकारले केरुङ नाकालाई सञ्चालनमा ल्यायो । 
केरुङ नाका सञ्चालनमा आएसँगै काठमाडौंमा फेला पर्ने सुन केरुङबाट आउने गरेको खुल्यो भने काठमाडौंमा फेला पर्ने अमेरिकी डलर केरुङ हुँदै चीन जाने गरेको खुल्यो । 
२०७३ जेठ ३० मा  रसुवाको टिमुरेमा काङकाङ तामाङ ६ किलो सुनसहित पक्राउ परे । २०७३ माघ १० मा चक्रबहादुर धमला १ सय १७ ग्राम सुनसहित फेला परे । २०७३ चैत ३ मा रसुवा उत्तरगयामा ७ किलो सुनसहित प्रकाश गैरे पक्राउ परे ।  २०७४ असार ६ मा कृष्णबहादुर श्रेष्ठ र दिनेश रोक्का दुई किलो सुनसहित पक्राउ परे ।
यता काठमाडौंमा समेत पक्राउको क्रम सुरु भयो । २०७३ मंसिर १८ मा बौद्धमा लावारिस मोटरसाइकलमा १० किलो सुन फेला परेको थियो । जसको स्रोत केरुङ देखियो । २०७३ पुस १४ मा बा ८ च ७४२० मा ७ किलो सुनसहित चालक कुन्साङ लामा पक्राउ परे । उनको बयानमा चिनियाँ नागरिकले केरुङ नाकामा सुन दिएर काठमाडौं पठाएको खुलेको थियो । 
७ किलो सुनसहित पक्राउ परेका वीरेन तामाङ, २ किलो सुनसहित पक्राउ परेका कृष्णबहादुर श्रेष्ठ सबैको कनेक्सन केरुङ नै देखिएको थियो । 
खासा नाका बन्द भएसँगै डलर तस्करीको कनेक्सनसमेत केरुङतिरै स¥यो ।  गत वैशाख २७ मा महाशाखाले नागढुंगामा करिब ४ करोडबराबरको विदेशी मुद्रासहित नेपाली र चिनियाँ नागरिक पक्राउ गरेको थियो । 
तीन लाख ४९ हजार अमेरिकी डलर,  ६८ हजार युरो,१४ हजार चिनियाँ युआन , ३१ लाख जापानी येनलगायत विदेशी मुद्रा पर्यटकको आवरणमा केरुङ हुँदै खासा लैजाने प्रयासमा फेला परेको खुलेको थियो । 
‘पछिल्लो समय तस्करीमा केरुङ नाका बढी सक्रिय देखियो,’ ब्युरो प्रमुख कार्की भन्छन्, ‘सुन र डलर तस्करीमा केरुङ नाका सक्रिय देखिएपछि विशेष टोली परिचालन गर्नुपर्ने देखियो ।’

३४ वर्षदेखि निरन्तर
२०४२ सालमा राष्ट्रिय पञ्चायतका सदस्य चन्द्रबहादुर बूढा त्रिभुवन विमानस्थलबाट साढे २२ किलो सुनसहित पक्राउ परेका थिए । सुन तस्करीमा पक्राउ परेको औपचारिक घटना यो नै पहिलो देखिन्छ । त्यसयता ३४ वर्ष निरन्तर तस्करीका सुन फेला पर्ने क्रम जारी रह्यो । 
२०४३ सालमा नरबहादुर गुरुङ सुन तस्करीकै केसमा पक्राउ परेका थिए ।      २०४४ मा नेपाली सेनाका कर्णेल भरत गुरुङ र पूर्व प्रहरी महानिरीक्षक डिबी लामा सुन तस्करीमा जोडिएका थिए । 
२०५४  मंसिर २९ मा सय किलो सुनसहित कोरियन नागरिक जो कुन ह्वा र युन सोङ विमानस्थलमा समातिएका थिए । राष्ट्र बैंकले २०६८ मा सुन आयात तथा बिक्री कार्यविधि ल्याएर दैनिक १५ किलो सुन किन्न पाइने नीति बनाएपछि तस्करी समूह बढी सक्रिय भएको थियो । 
सरकारले तोकेको कोटाले बजार मागको ३० प्रतिशत पनि नधान्ने भएपछि व्यवसायी आन्दोलनमै उत्रिए । दैनिक ४५ किलो आन्तरिक माग रहेको भन्दै कोटा बढाउन दबाब दिए । पुराना सुन दैनिक १५ किलोसम्म बजारमा फर्कने गरेको सुन व्यवसायी दाबी गर्छन् । सोअनुसार मागभन्दा बढी १५ किलोमात्रै सुन बजारमा पुग्दा दैनिक १५ किलो तस्करी हुने सुनको बजार कायमै रह्यो । 
प्रहरी तथ्यांकअनुसार २०६९ यतामात्रै ४ सय किलोभन्दा बढी तस्करीको सुन फेला परेको छ ।  तथ्यांकअनुसार ०६९÷७० मा ८३ किलो, ०७०÷७१ मा ८९ किलो , ०७१÷७२ मा १ सय ११ किलो, ०७२÷७३ मा ६८ किलो र ०७३÷७४ मा ७० किलो तस्करीको सुन फेला परेको थियो । 
प्रहरी अनुसन्धानमा डलर, हुन्डी र सुनमा एकै समूह संलग्न रहेको देखिन्छ । त्रिभुवन विमानस्थल हुँदै तस्करी हुन लागेको डेढ करोडबराबरको विदेशी मुद्रा तस्करीमा विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठ जोडिएपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान समिति गठन गरेको थियो । 
सो समितिले विदेशी मुद्रा तस्करीलाई सुन र हुन्डीसँग जोडेको थियो । तर, सुन तस्करीको अनुसन्धानमा सक्रिय हुने प्रहरी डलर र हुन्डीको अनुसन्धानमा खटिएको देखिन्न । अनुसन्धानमा प्रभावशाली कारोबारीको नाम नपोलिने हैन तर अधिकांश अनुसन्धान भरिया पक्राउमै सकिन्छ ।

प्रकाशित: २० भाद्र २०७४ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App