१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

एड्सको नयाँ उपचार !

अमेरिकी शोधकर्ताहरुले एचआइभी एड्सबाट जुझ्न नयाँ भ्याक्सिन बनाएको र त्यसका लागि गाई उपयोगी जनावर भएको बताएका छन् ।
गाईको शरीरमा हुने विशेष किसिमको एन्टिबडिजले एचआइभी निमिट्यान्न पार्न सकिने उनीहरुको विश्वास छ ।
गाईमा हुने कप्लेक्स र ब्याक्टेरियायुक्त पाचन प्रणालीका कारण तिनको प्रतिरक्षा क्षमता साँच्चिकै गज्जबको हुन्छ ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले यसबारेमा जानकारी सार्वजनिक गर्दै यस किसिमको एन्टिबडी या उपचार सर्वसाधारणका लागि उपयोगी हुने बताएको छ ।
एचआइभीले आफूलाई चाँडै बदल्छ र यस भाइरसले रोगीको प्रतिरक्षा प्रणालीमा आक्रमण गर्ने बाटो खोजिहाल्छ । एचआइभीले आफ्नो अवस्था चाँच्चाँडो परिवर्तन गर्ने गर्छ ।
गाईको शरीरमा हुने जुन किसिमको प्रतिरक्षा प्रणाली हुन्छ, त्यसै किसिमको प्रतिरक्षा मानिसमा विकसित गर्न सके एचआइभीको आक्रमण निस्तेज पार्न सकिने अध्ययनबाट देखिएकाले गाईकैजस्तो प्रतिरक्षा प्रणाली विकसित गर्न वैज्ञानिकहरु लागिपरेका छन् ।
गाईको योगदान
इन्टरनेसनल एड्स भ्याक्सिन इनिसिएटिभ र द स्क्रिप्स रिसर्च इन्स्टिच्युटले गाईको प्रतिरक्षा प्रणालीको अध्ययन पनि थालिसकेका छन् ।
शोधमा लागिपरेका डाक्टर डेभिन सोकले शोधबाट जे परिणाम फेला पारिएको छ, त्यस परिणामले सबैलाई चकित पारेको बताएका छन् । गाईको प्रतिरक्षा प्रणाली केही सातामा नै बन्ने कुरा थाहा पाएर वैज्ञानिकहरु चकित छन् । यस्तोमा जसरी एचआइभीका जीवाणुले आफूलाई चाँडोभन्दा चाँडो परिस्थितिअनुसार परिवर्तन गर्छन्, सोहीअनुसार गाईमा रहेको प्रतिरक्षा प्रणालीले पनि जीवाणुअनुसार आफ्नो प्रतिरक्षा प्रणाली परिवर्तन गरिरहन्छन् । यस्तो गुण र प्रणाली अन्य प्राणीमा अहिलेसम्म नदेखिएको शोधकर्ताहरुको दाबी छ ।
डाक्टर सोक भन्छन्, ‘मानिसमा सोही किसिमको एन्टीबडी तयार हुन तीनदेखि पाँच वर्ष लाग्छ । केही सातामा नै एन्टीबडी तयार हुने गाईको प्रणाली अद्भूत छैन त ?’
यसअघि गाईमा यस किसिमको क्षमता होला भनेर कसैले पनि सोचेको थिएन ।
‘नेचर’ नामक जर्नलमा प्रकाशित परिणाममा गाईको एन्टिबडीहरुले एचआइभीको असरलाई ४२ दिनमा २० प्रतिशतले कम गर्न सकिने भनी देखाएको छ ।
प्रयोगशाला परीक्षणमा ३८१ दिनमा यी एन्टिबडीहरुले ९६ प्रतिशत एचआइभीलाई बेअसर गर्न सकेको देखियो ।
अर्का शोधकर्ता डाक्टर डेनिस बर्टन भन्छन्, ‘यस अध्ययनले दिएको जानकारी निकै काम लाग्दो छ । मानिसको तुलनामा जनावरहरुको एन्टिबडी बढी नै अनौठो हुन्छ र एचआइभीजस्तो रोगलाई पनि नियन्त्रण गर्ने क्षमता हुँदोरहेछ ।’

प्रकाशित: १९ भाद्र २०७४ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App