१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उजुरीको एक महिनापछि रेडक्रसमा छापा, कार्यालय सिल

दोलखा रेडक्रस कार्यालय।

दोलखा– भष्ट्राचार विवादमा तानिएको नेपाल रेडक्रस सोसाइटी दोलखा शाखामा स्थानीय प्रशासनले छापा मारी कागजात नियन्त्रणमा लिनुका साथै कार्यालय सिल गरेको छ।

भूकम्पयताका परियोजना र राहत तथा खोज उद्दारका कार्यक्रमहरुमा चरम अनियमितता भएको भन्दै स्थानीयले प्रशासनमा उजुर गरी ताला लगाएको एक महिनापछि जिल्ला प्रशासन कार्यालयको टोलीले बुधबार छापा मारी लेखासम्बन्धी कागजात नियन्त्रणमा लिँदै शाखा कार्यालय सिल गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालको संयोजकत्वमा गठित छानबिन टोलीले बुधबार दिउँसो कार्यालयमा पुगेर छापा मार्नुका साथै कार्यालय सिल गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। टोलीले रेडक्रसका कर्मचारीलाई बिहीबारबाट जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशनसमेत दिएको छ।

कटवालले भष्ट्राचार विवादको उजुरीपछि छापा मारी कागजात नियन्त्रणमा लिएको बताए। ‘अहिले अनुसन्धानका लागि कागजात मात्र लियौं’ उनले नागरिकसगँ भने– ‘कम्प्युटरलगायतका सामान र उपकरणसमेत अनसन्धानका लागि पछि आवश्यक पर्नसक्ने हुनाले शाखा कार्यालयलाई सिल गरेका हौँ।’ उनले अनुसन्धानलाई छिट्टै टुङगोमा पु¥याउने जानकारी दिए।

स्रोतका अनुसार लामो समयदेखि चलेको भष्ट्राचार विवादमा रेडक्रस केन्द्रले छानविन गर्ने भनेर स्थानीय प्रशासनले पर्खिए पनि केन्द्रले वास्ता नगरेपछि आफैले छानविन थालेको हो। ‘केन्द्रले हस्तक्षेप गरी रेडक्रसभित्रको बेथिती नियन्त्रण गर्छ भनेर प्रमुख जिल्ला अधिकारी पर्खिरहेका थिए,’ प्रशासन स्रोतले भन्यो, ‘तर यति ठुलो विवाद बढ्दासमेत वास्ता गरिएको नदेखिएका कारण प्रशासन आफै अघि सरेको हो।’  
रेडक्रसभित्र महाभूकम्पपछि आएका राहत, उद्दार तथा पुनर्निर्माण कार्यक्रममा चरम आर्थिक अनियमितता भएको भन्दै स्थानीयले उजुरी गरेका थिए। जिल्ला शाखामा सामान खरिद गर्दा फर्जी बिल पेश गरेको, दातृ निकायले उपलब्ध गराएको चामलदेखि त्रिपालसम्मका राहतमा हिनामिना गरेको, कोटेशन माग गर्न जिल्ला कार्यसमितिकै सदस्यहरुको फर्जी दस्तखत गराएर निर्णय गरेको, पुनर्निर्माण कार्यक्रमअन्तर्गत भूकम्प प्रतिरोधी नमुना घर निर्माण गर्दा र कर्मचारीहरुको फिल्ड भत्तामा अनियमितता गरेको साथै बोलेरो गाडी खरिद गर्दा पुरानो किनेर नयाँ गाडीको बिल पेश गरी जिल्ला सभापतिले भष्ट्रचार गरेको, कार्यक्रमहरुबाट बचेको रकम र बिल भर्पाई पारदर्शी रुपमा नदेखाएको आरोप स्थानीयको छ।

भष्ट्राचार विवाद बढेपछि केन्द्र रेडक्रसले शाखा सभापति टीकानारायण प्रधानलाई यसअघि नै कार्याक्रम कार्यान्वयन समितिबाट हटाइसकेको छ। यस्तै कार्य समितिमा बसेर आफै रेडक्रसभित्रको टेण्डरलगायत व्यवसाय गर्दै आएका कार्यसमिति सदस्य कृष्णबहादुर खड्कालाई भने केन्द्रले अहिलेसम्म कारवाही गरेको छैन।  

 

 

प्रकाशित: १२ श्रावण २०७३ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App