१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

महानगरकी पहिलो महिला मेयर

स्थानीय चुनावअघिसम्म रेणु दाहाललाई माओवादी जनयुद्धमा उनको योगदानका रुपमा भन्दा पनि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्रीका रुपमा चिनिन्थ्यो । भरतपुरमा उनलाई विजेता व्यक्तिका रुपमा कमैले हेरेका थिए । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी मनोनयन हुनु एक हप्ताअघि मात्रै उनी चितवन आइन् । उनले वैशाख १५ गते मात्रै भरतपुरमा आयोजित पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेकी थिइन् ।
राजनीति रेणुका लागि नौलो थिएन न त चितवन नै तर चितवनमा गर्ने राजनीति र चितवनवासीका लागि रेणु नितान्त नौलो थिइन् । हाल भरतपुर महानगरपालिकाअन्तर्गत नै रहेको शिवनगरमा ४३ वर्षअघि जन्मिएकी रेणुलाई भरतपुरवासीले यसअघि चितवनमा देखेको भनेको संविधानसभा सदस्य निर्वाचनमा दुई पटक भरतपुरको तत्कालीन वडा नं. ५ र हालको ४ मा मतदान गरेका बेला मात्रै हो । यहीँ जन्मेकी, पढेकी र मतदाता पनि यहीँ नै रहेकी रेणु चितवनवासीका लागि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरीभन्दा धेरै थिइनन् ।


‘म पुष्पकमल दाहालकी छोरी मात्रै होइन,’ मेयर पदमा उठ्दै गर्दा रेणु दाहालले आफ्नो भाषणमा यो वाक्य नउठाएको कुनै कार्यक्रम नै थिएन ।

भरतपुरमा माओवादीको कमजोर उपस्थिति, मतदाताका लागि अपरिचित व्यक्ति रेणु प्रचण्डकी छोरी भएकीले नै भरतपुरमा मेयर उठ्न आएकी हुन् भनेर ठान्ने धेरै थिए । त्यसैले २० वर्षपछि हुँदै गरेको स्थानीय तहको निर्वाचनमा मेयरका रुपमा मतदाताले उनलाई रोज्छन् भनेर सुरुमा कसैले सोचेको पनि थिएन । यस्तोमा यहीँको समाजले चिने÷जानेका व्यक्ति नै भरतपुर महानगरपालिकाको नेतृत्व गर्छ भन्ने धेरैलाई थियो ।
माओवादीले मेयरमा रेणु दाहाललाई उठाएको थियो भने कांग्रेसले युवा व्यक्तित्व दिनेश कोइरालालाई अगाडि सारेको थियो । एमालेले वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा भरतपुरको उपमेयर भइसकेका देवी ज्ञवालीलाई मेयरको उम्मेद्वार बनायो । चुनाव हुने १५ दिनअघिसम्म भरतपुरमा माओवादीबाट मेयरमा रेणुलाई उठाइएला भनेर कसैले कल्पना गरेको थिएन । मनोनयनपत्र दर्ता हुने पाँच दिनअगाडि मेयरमा रेणुको नाम सुन्दा भरतपुरवासी जसरी छक्क परे मनोनयन दर्ता भएर उम्मेद्वारी फिर्ता लिने अन्तिम दिन भरतपुरका लागि त्यस्तै अप्रत्याशित खबर आयो ।
पहिले पनि केही हल्ला नचलेको होइन तर चितवन कांग्रेस पार्टीले भरतपुरमा आफूहरुले एक्लै मेयर–उपमेयर जित्न सक्ने सम्भावना भएका कारण कसैसँग तालमेल नगर्ने बताएको थियो । वैशाख २१ गते बिहान पार्टीका चितवन सभापति जितनारायण श्रेष्ठले यही दाबी गर्दै विज्ञप्ति नै निकाले ।
बिहान यस्तो विज्ञप्ति नै आए पनि दिउँसो भरतपुरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको खबर सत्य ठहरियो । भरतपुरमा एक्लै चुनाव जित्ने सम्भावना रहे पनि कांग्रेसले मेयर पद नै माओवादीलाई छाड्यो । भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भयो । गठबन्धनका तर्फबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेद्वार रहने भइन् । यो सामान्य खालको अप्रत्याशित खबर मात्रै थिएन, खबरले कांग्रेस कार्यकर्ता आक्रोशित भएर पार्टी नेतृत्वविरुद्ध नाराबाजी नै गरे ।
त्यसबेला प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल र केही दिनपछि नै प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुँदै गरेका शेरबहादुर देउवाले काठमाडौँमा गरेको सहमति जिल्लाका नेता कार्यकर्ताले मान्नै पर्ने भयो । दुई दिनपछि संयुक्त कार्यक्रम गरेर माओवादी र कांग्रेसका उम्मेद्वार मत माग्न हिँड्न थाले । अन्तिम चुनावी सभालाई सम्बोधन गर्न पुष्पकमल दाहाल र शेरबहादुर देउवा नै भरतपुर आए । वैशाख ३१ मा मतदान भयो । जेठ एक गते अबेलाबाट मत गणना सुरु भयो ।
मत गणनाको प्रारम्भिक विवरण आउन सुरु भएपछि नै थाहा भयो– रेणु दाहाललाई जित्ने मत आउन गाह्रो छ किनभने कांग्रेस कार्यकर्तामध्ये धेरैले मेयरमा रेणुलाई मत दिएको पाइएन । उपमेयर र वडाध्यक्ष, वडासदस्यमा कांग्रेसलाई मत दिने धेरैले मेयरमा कि खाली छाडेको कि उम्मेद्वार नै नभए पनि नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा छाप लगाएको भेटियो । कांग्रेसका उम्मेद्वारलाई मत दिनेमध्ये केहीले मेयर पदमा एमालेका उम्मेद्वार देवीप्रसाद ज्ञवालीलाई नै मत दिएको पनि पाइयो । रेणुलाई पनि मत नदिएका होइनन् तर यो जितको लागि अपुग रहेको अन्तिम दुई वटा वडाको मत गन्न बाँकी रहँदा प्रस्ट भइसकेको थियो ।
जेठ १४ गते मध्यरातमा भरतपुर वडा नं. १९ को मतगणना हुँदै थियो । भरतपुरमा २९ वटा वडा छन् । तीमध्ये २७ वडाको मत गणना सकेर अन्तिम परिणाम सार्वजनिक भएको थियो । १९ पछि २० नम्बरको वडाको मतगणना सकिएपछि भरतपुरको अन्तिम परिणाम आउँथ्यो । त्यसो हुँदा भरतपुरले गणतन्त्र दिवस अर्थात् जेठ १५ गते मेयर पाउने लगभग निश्चित थियो तर वडा नं. १९ को गणना नसकिँदै कसैले नसोचेको निर्वाचन सम्बन्धित गम्भीर अपराधको घटना भयो । १९ को गणना अन्तिम हुँदै गर्दा जेठ १४ गते मध्यरातमा मतपत्र च्यात्तियो । गणना स्थगित भयो । त्यसपछि उठेका विवादहरुलाई कानुनी प्रक्रिया पूरा गर्दै साउन २० गते वडा नं. १९ मा फेरि मतदान गराइयो । त्यसपछि मतगणना हुँदा मेयरमा रेणु दाहाल प्रतिस्पर्धी एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीभन्दा २०३ मतको झिनो अन्तरले विजयी भइन् । यसरी उनलाई नेपालका महानगरपालिकामा पहिलो महिला मेयर बन्ने सौभाग्य प्राप्त भयो ।
रेणुका लागि यो सौभाग्य नै थियो किनभने वडा नं. १९ को मतपत्र नच्यातिई सरासर गणना भएको भए जुन अनुपातमा मत आएको थियो, त्यसअनुसार मेयरमा एमालेका ज्ञवालीले जित्ने लगभग निश्चित देखियो । १९ नम्बर वडाको मतगणना सुरु नहुँदासम्म ज्ञवाली रेणुभन्दा ७८४ मतले अगाडि थिए । मतपत्र च्यातिनुअघि सो वडाको १८ सय मत गनिएको थियो ।
त्यो बेलामा मतअन्तर जम्मा ७३३ मा खुम्चिएको थियो । जुन अनुपातमा दाहाल र ज्ञवालीको मत आएको थियो वडा नं. १९ को गणना सकेर २० मा जाँदा ज्ञवाली दाहालभन्दा ६ सय मत अन्तरले अगाडि नै रहने देखिएको थियो तर वडा नं. १९ मा फेरि मतदान भएर गणना सकिँदा अवस्था त्यस्तो रहेन । देवी ज्ञवाली जम्मा २२१ मतले अगाडि रहे । २० को गणना सकिँदा दाहाल २०३ मतको अन्तरले विजयी भइन् ।
रेणु निर्वाचित भएको अवस्थाप्रति असन्तुष्टि रहे पनि प्रक्रियामा कसैले चुनौती दिन मिल्ने ठाउँ छैन । मतपत्र च्यात्तिएपछि मतदान होइन, मतगणना नै हुनुपर्छ भन्ने माग राखेर एमाले सर्वोच्च अदालतसम्म गयो तर सर्वोच्च अदालतले पनि मतदानकै पक्षमा निर्णय दियो ।
स्थानीय निकायलाई संवैधानिक हैसियत दिएर अधिकारसम्पन्न बनाउने एजेन्डा माओवादीकै भएका कारण मतदाताले आफूलाई चुन्ने विश्वास रेणु दाहालको थियो । नगरपालिका, उपमहानगरपालिका हुँदै भरतपुर महानगरपालिका भएको एक वर्ष पनि भएको छैन । भरतपुरमा आधा चितवनको जनसंख्या र मतदाता छन् । चेपाङ बहुल पहाडी बस्ती कविलासदेखि बोटे कुमाल र थारु बहुल क्षेत्र नारायणी नदी तट आसपासका गाउँहरु पनि महानगरमै छन् । भरतपुर नारायणगढजस्ता पुराना बजार क्षेत्रदेखि गीतानगर, मंगलपुर, चनौली, पर्साढाप, मेघौली, पटिहानी, जगतपुरजस्ता नयाँ बजार क्षेत्र भरतपुरमा छन् । तर पुर्वाधारहरु नारायणगढ र भरतपुरमा बढी केन्द्रित छन् ।
व्यवस्थित बजार र सबै क्षेत्रमा पूर्वाधारका योजना आफ्नो प्राथमिकतामा रहेको रेणु दाहालले बताएकी छन् । मेयरमा निर्वाचित भएलगत्तै उनले भरतपुरलाई नमूना सहर बनाउने बताइन् । यसका साथै उनी जुन अवस्थाबाट निर्वाचित भएर आइन्, त्यो ‘दाग’बाट मुक्त हुन पनि केही गर्नैपर्ने छ । भरतपुरका २९ वटा वडाहरुमध्ये उनको पार्टीले जम्मा तीन वटा वडामा मात्रै वडाध्यक्ष जितेको छ ।
एमालेले सबैभन्दा धेरै १४ वडाहरुमा वडाध्यक्ष जितेको छ । चुनावको सहयात्री दल कांग्रेसले उपप्रुमखमा महिला उम्मेद्वार नै पार्वती शाहलाई विजयी बनाउनुका साथै १२ वटा वडाहरुमा वडाध्यक्ष जितेको छ । रेणुलाई कांग्रेससँग सम्बन्ध टिकाउन मात्रै परेको छैन, एमालेसँगको ‘तिक्तता’ पनि हटाउनु पर्नेछ तर यो विषयमा दाहाल आशावादी छिन् किनभने निर्वाचनपछि आएका जनप्रतिनिधिहरुको भूमिका पार्टीगत हैसियतमा मात्रै रहँदैन ।
‘म उम्मेदवार हुँदा माओवादीको मात्रै थिएँ,’ रणुले भनिन्, ‘पछि कांग्रेसको पनि साझा उम्मेदवार बनेँ । जितेपछि म कुनै पार्टीको मात्रै रहिनँ, सबै नगरबासीको भए । अन्य दलहरुमा पनि पक्कै यही भावना रहनेछ । हाम्रो स्वार्थ नगरको विकास हो । यसमा सबै लाग्ने नै छौँ ।’ देशको केन्द्र भागमा रहेको भरतपुर निर्वाचनका बेलामा नकारात्मक विषयले चर्चामा आए पनि अब विकासको अनुकरणीय काम गरेर देखाउने उनले बताएकी छन् ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १८ भाद्र २०७४ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App