२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सप्तरीका बाढीपीडितलाई निःशुल्क उपचार

राजविराज – सप्तरीको पश्चिमी भेगका ८५० जना बाढीपीडितलाई शनिबार निःशुल्क स्वास्थ्योपचार गरिएको छ । 

सप्तरीको डाकनेश्वरी नगरपालिका–६ स्थित जनता मावि कटैया फत्तेपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित बालबालिका, वृद्धवृद्धासहित ८५० जना बाढीपीडितलाई निःशुल्क उपचार गरिएको स्थानीयवासी सन्दीप सदाले जानकारी दिए। 

एलायन्स फोर रिलिफको सहयोगमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको विशेषज्ञ डाक्टरको एक टोलीले त्यहाँ रहेका बाढीपीडितलाई स्वास्थ्य उपचारपछि निःशुल्क औषधि वितरण गरेको हो। 

प्रतिष्ठानबाट आएको टोलीले आँखा, कान, नाक, छाला, दाँत र हाड जोर्नीसम्बन्धी रोगको उपचार गरेको सोही कार्यक्रममा सहभागी महेन्द्र सदाले जानकारी दिए। 

यस्तै एलायन्स फर रिलिफको सहयोग र सन्दीप सदाको पहलमा त्यहाँ रहेका ५० जना बाढीपीडितलाई सोलार टर्च लाइट र २०० जनालाई झुल वितरणसमेत गरिएको छ । 

बाढीपीडितलाई राहत वितरण 

यसैगरी सप्तरीमा हालै आएको बाढीबाट विस्थापित एवं पीडित भएका परिवारलाई विभिन्न सङ्घसंस्थाले शनिबार राहत वितरण गरेको छ । 

वाइसिएल नेपाल केन्द्रीय समितिले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका ३०० बाढीपीडित परिवारलाई राहत वितरण गरेको हो। 

वाइसिएल केन्द्रीय समिति र जनप्रगतिशील मञ्चले संकलन गरेको राहत प्रत्येक बाढीपीडित परिवारलाई १५ किलो चामल, एक किलो दाल, आधा लिटर खाने तेल र एक किलोका दरले नून वितरण गरिएको वाइसिएल सप्तरी संयोजक विनोदकुमार यादवले जानकारी दिए। 

यस्तै बाढीका कारण विस्थापित भएका सकरपुराका बाढीपीडितलाई सुनचाँदी व्यवसायी सेवा समितिले राहत वितरण गरेको छ । 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको सकरपुरा १ र २ का करिब ७५ जना बाढीपीडित परिवारलाई प्रतिपरिवार एक थान त्रिपाल, एक थान झुल, खानेपानी शुद्धीकरण गर्ने पियुसलगायत अन्य सामग्री वितरण गरेको सो समितिले जनाएको छ। 

त्यस्तै हनुमाननगर कंकालनी नगरपालिका–९ स्थित नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जोगिनियाले २०० बाढीपीडित सदस्यलाई राहत वितरण गरेको छ । 

सो संस्थाले त्यहाँ रहेका आफ्नो ग्राहक सदस्यलाई २५ किलो चामल, एक किलो दाल, एक लिटर खाने तेल, आधा दर्जन साबुनलगायतका सामग्री वितरण गरेको शाखाका प्रबन्धक अंकितकुमार यादवले जानकारी दिए। रासस 

प्रकाशित: १८ भाद्र २०७४ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App