१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाढीबाट क्षतिग्रस्त भौतिक पूर्वाधार अलपत्र

बर्दिया- बबईमा बाढी आएको दुई साता बित्दा पनि भौतिक पूर्वाधारमा भएको क्षतिको आधिकारिक तथ्यांक संकलनमा बेवास्ता गरिएको छ । यकिन तथ्यांक नहुँदा दैवी प्रकोप उद्धार समितिले क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण अघि बढाउन पाएको छैन ।

ग्रामीण भेग जोड्ने अधिकांश पुल र सडक बाढीबाट क्षतिग्रस्त भएकाले दैवी प्रकोप उद्धार समितिमा अन्य क्लस्टरबाट आउनुपर्ने सूचना आउन समस्या छ । कृषि, स्वास्थ्य, शिक्षा, संरक्षण, सरसफाइका विभिन्न गैरसरकारी संस्थाको सहयोगमा सरकारी निकायले तथ्यांक संकलन गरिरहेको छ । साउन २८ गते बबईमा आएको बाढीले अधिकांश सडक, पुल र सार्वजनिक विद्यालय भवनमा क्षति गरेको छ ।

दैवी प्रकोप उद्धार समितिअन्र्तगतका क्लस्टरमध्ये भौतिक पूर्वाधार क्षति सम्बन्धी आधिकारिक निकायका पदाधिकारी नहुँदा तथ्यांक संकलनमा ढिलाइ भएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तेजप्रसाद शर्मा संयोजक रहेको जिल्ला प्राविधिक कार्यालयको सहयोगमा भौतिक पूर्वाधारको क्षति विवरण संकलन गरेर जिल्ला दैवी प्रकोप समितिमा पेस गर्नुपर्ने हुन्छ । तर, जिम्मेवार निकायका पदाधिकारी नै जिल्लाबाहिर रहेकाले आधिकारिक तथ्यांक सार्वजनिक हुन सकेको छैन ।

बबईमा बाढी आएलगत्तै बिदामा हिँडेका समन्वय समितिका प्रमुख शर्माका कारण दैवी प्रकोप समितिमा यकिन तथ्यांक आउन सकेको छैन ।

बबईमा आएको बाढीले गुलरियादेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने पुल नै क्षतिग्रस्त बनाएको छ । १६ करोडमा निर्मित चार सय २५ मिटर लामो उक्त पुल क्षति पछि गुलरियासँग दर्जनभन्दा बढी गाउँको सम्बन्ध टुटेको छ । बाढीबाट नेपालगन्ज–गुलरिया सडक खण्डमा पनि क्षति भएको छ । यसलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासबाट काम चलाए पनि जुनसुकै बेला उक्त सडक खण्ड अवरुद्ध हुन सक्छ ।

बाढीकै कारण सयौं ग्रामीण क्षेत्र र सदरमुकाम जोड्ने सडक खण्डको पुनर्निर्माण अघि बढ्न सकेको छैन ।

भौतिक पूर्वाधार जस्तो संवेदनशील कुरामा सरोकारवाला निकायले बेवास्ताले भौतिक पूर्वाधारको यकिन तथ्यांकमा ढिला हुनु दुर्भाग्यपूर्ण भएको गैरसरकारी संस्थाका अध्यक्ष विष्णु तिमिल्सेनाले बताए ।

दैवी प्रकोप उद्धार समितिमा अन्य क्लस्टरबाट प्राप्त सूचनाका आधारमा गरिएको निर्णयले केही काम अघि बढे पनि भौतिक पूर्वाधार क्षतिको तथ्यांक नआउँदा त्यस विषयमा छलफलसमेत नभएको जिल्ला प्रशासनका एक अधिकृतले बताए । बबईमा साउन अन्तिम साता आएको बाढीबाट गुलरियासहित पाँचवटा नगरपालिकामा क्षति भएको छ । बाढीबाट चारजनाको ज्यान गएको छ भने एकजनाको अवस्था अज्ञात छ ।

प्रकाशित: १८ भाद्र २०७४ ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App