१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गरुडाका सरकारी कार्यालय दोस्रो–तेस्रो दर्जाका कर्मचारीको भरमा

रौतहट– रौतहटको गरुडा नगरपालिकाभित्रका अधिकांश सरकारी कार्यालयहरु दोस्रो र तेस्रो दर्जाका कर्मचारीको मातहतमा सञ्चालन भएको पाइएको छ। गृह, स्थानीय विकास, शिक्षा तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयहरुमा दोस्रो र तेस्रो दर्जाका कर्मचराीलाई प्रमुखका रुपमा खटाइएको पाइएको हो।

नगरपालिकाभित्र कार्यालय रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा प्रहरी निरीक्षकको दरबन्दी छ। तर, यस कार्यालय हाल हवलदारको भरमा सञ्चालन भइरहेको छ। प्रहरी निरीक्षकको दरबन्दी रहे पनि दरबन्दी अनुसारको व्यक्ति  विभागले नपठाउँदा हवलदारको भरमा कार्यालय चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गत महिनादेखि सञ्चालनमा आएको इलाका प्रशासन कार्यालय गरुडा पनि नायब सुब्बाको भरमा सञ्चालनमा छ। अधिकृतको दरबन्दी हुने इलाका प्रशासन कार्यालय गरुडाको लागि दरबन्दी अनुसारको कर्मचारी पठाइदिन सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दा पनि नपठाएपछि नायब सुब्बालाई कार्यालय प्रमुखको जिम्मेवारी दिनुपर्ने बाध्यता रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताए।

गरुडा नगरपालिका कार्यालयमा कार्यकारी अधिकृतको दरबन्दी छ। तर, गाविस सचिवले कार्यालय सम्हालेका छन्। नगरपालिका घोषणा भएको डेढ वर्ष नाघिसक्दा पनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यकारी अधिकृत नपठाउँदा नायब सुब्बाको भरमा नगरपालिका सञ्चालन हुँदै आएको छ।

यसैगरी, शिक्षा मन्त्रालयअन्तर्गत पर्ने विभिन्न विद्यालयहरु पनि दोस्रो र तेस्रो दर्जाका शिक्षकहरुको भरमा चलेका छन्। मावि गेडहीमा प्राथमिक तहका शिक्षकले नै प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका छन्। मावि बसबिटी जिंगडिया र झाँझपुलमा चाहिँ निम्न माध्यमिक तहका शिक्षक प्रधानाध्यापक छन्। तीनवटै विद्यालयबाट कैयौँ पटक विद्यार्थीहरु प्रवेशिका परीक्षामा सामेल भइसकेका भए पनि सम्बन्धित जिल्ला शिक्षा कार्यालयले विद्यालयको तहअनुसारको शिक्षक नपठाएकोले दोस्रो तथा तेस्रो दर्जाका शिक्षकबाट कार्य सम्पादन भइरहेको पाइएको छ।

नगरपालिकाका विभिन्न वडाहरुमा रहेका इलाका हेल्थ पोस्ट, उपस्वास्थ्य चौकी तथा स्वास्थ्य चौकीहरुमा समेत दरबन्दीअनुसार पदका कार्यालय प्रमुख छैनन्। अधिकांश स्वास्थ्य संस्थाहरु दोस्रो दर्जाका प्रमुखबाट चलेका छन्।

अधिकांश कार्यालयमा दरबन्दीअनुसारको कार्यालय प्रमुख नहुँदा कार्य सम्पादन गतिलो हुन नसकेको स्थानीयको गुनासो छ। सरकारले जानीजानी गरुडा नगरपालिकाअन्तर्गतका कार्यालयहरुमा दोस्रो तथा तेस्रो दर्जाको कार्यालय प्रमुख पठाएर नगरका बासिन्दाहरुको कामलाई प्रभावकारी हुन नदिएको नागरिक समाज गरुडाका अगुवा मनोजकुमार चौधरीको भनाइ छ।

सम्बन्धित निकायहरुले कार्यालय प्रमुख पठाउन बेवास्ता गर्दा गरुडा नगरपालिकाअन्तर्गतका कार्यालयहरुको काम प्रभावित भइरहेको चौधरीको भनाइ छ।

सरकारले कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नपठाउने र कर्मचारीहरु पनि आउन नमान्ने प्रवृत्तिले गर्दा गरुडा नगरपालिकाका अधिकांश सरकारी कार्यालयमा दरवन्दीमा भएको पदअनुसारका सरकारी कर्मचारी नभएको रौतहटका प्रजिअ बरालले बताए। दरबन्दी अनुसारकै कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिन आफूले निरन्तर पहल गरिरहेको बताएका छन्।
 ‘नेमकिपा सरकारमा जाँदैन’

 

प्रकाशित: १२ श्रावण २०७३ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App