१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्तारुढ माओवादीले बागलुङमा गठन गर्‍यो 'समानान्तर सरकार'

बागलुङ-  नेकपा माओवादी केन्द्र बागलुङले 'जयनयुद्व'को झल्को दिनेगरी जनपरिषद ब्यूँताएको छ। केन्द्रको जिल्ला सचिवालयको वैठकले जिल्ला जनपरिषद बनाएको हो। पार्टी भित्रैको अन्तरद्वन्द्वको कारण स्थानीय तह निर्वाचनमा जिल्लाका अधिकांस तहमा पराजित भएको माओवादी केन्द्रले जनप्रतिधिलाई चेक एण्ड ब्यालेन्स गर्नका लागि जनपरिषद बनाएको बताएको छ। पार्टीका पोलिटब्युरो सदस्य तथा जिल्ला सह-इन्चार्ज चन्द्रबहादुर बुढा मगर ‘सागर’ को संयोजकत्वमा २१ सदस्यीय जिल्ला जनपरिषद् बनाईएको जिल्ला इन्चार्ज फमलाल निउरेले जानकारी दिए।

माओवादीले जनयुद्धका समयमा जनसत्ताको अभ्यास गर्न भन्दै देशभर पार्टी मातहत जनसरकार चलाएको थियो । शान्ति प्रक्रियामा आएपछि माओवादीको समानान्तर सत्ता विघटन भए पनि पार्टी शान्ति प्रक्रिया मार्फत लोकतान्त्रिक प्रतिस्पर्धामा आएको १२ वर्षपछि फेरी पुरानै जनसत्ताको झल्को दिने गरी जनपरिषद् बनाईनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा माओवादी केन्द्र बागलुङका सहईन्चार्ज एवं जनपरिषद संयोजक चन्द्र बुढा ‘सागर’ ले जनपरिषद छाँया सरकार भएको बताए । ‘जनताको भावना र आवश्यकतलाई सम्बोधन गर्नका लागि हामीले यसलाई पुनः शुरु गरेका हौं,’ सागरले भने,‘यो एक प्रकारको छाँया सरकार पनि हो ।’

 उनले जनप्रतिनिधिले गरको कामहरुको अनुगमन गर्ने समेत बताए। ‘जनप्रतिनिधिले स्थानीय तहमा के कस्ता काम गरेका छन् भनेर हामी अनुगमन गछौं,’ सागरले भने,‘विकास निर्माण क्रममा हुने आग्रह पूर्वाग्रहलाई हटाएर जनताको आवश्यकतालाई सम्बोधन गर्नका लागि हामीले भूमिका खेल्नेछौं ।’ जनपरिषद्ले स्थानीय तहमा रचनात्मक प्रतिपक्षको भूमिकामा रहने सागरले बताए । ‘यसको काम पार्टी र जनताबीचको सम्बन्धलाई नजिक बनाउने पुलको काम गर्नेछ,’ उनले भने, ‘आवश्यकता अनुसार हस्तक्षेपकारी कार्यसमेत जनपरिषद्ले गर्छ ।’

 पार्टी केन्द्रको नीति अनुसार नै जनपरिषद् विस्तार गरिएको र अब छिटै नै सबै स्थानीय तहमा जनपरिषद गठन गरिएको माओवादी केन्द्रले जनाएको छ । पार्टीका पोटिलब्युरो सदस्य समेत रहेका जिल्ला इन्चार्ज निउरेले स्थानीय सत्तामा पार्टीको भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन जनपरिषद् गठन गरिएको बताए । ‘स्थानीय चुनावमा हामी धेरै ठाउँमा पराजित भयौं, हारेका गाउँरनगरको सरकारमा हाम्रो प्रतिनिधित्व छैन,’ निउरेले भने, ‘त्यहाँ जनताको दुःख सुखसंग पार्टीलाई सँगसँगै लैजान नयाँ फोरम बनाएका हौँ । यसबाट कोही पनि आत्तिनु पर्दैन ।’ उनका अनुसार स्थानीय स्तरमा विकास निर्माणको कामसँगै जनताका समस्यासँग पार्टीलाई जोडेर लैजान नयाँ संरचना बनाईएको हो । स्थानीय चुनाबमा उम्मेदवार बनेर पराजित भएका पार्टी नेतालाई जनपरिषद्मा राखिने छ।

 पार्टी संगठनको संरचना भद्रगोल हुँदा स्थानीय निर्वाचनमा पराजित हुनुपरेको निश्कर्ष निकाल्दै बैठकले जिल्लाका चार वटा नगरपालिका र ६ वटा गाउँपालिका स्तरमा पार्टीको प्रशिक्षण सञ्चालनका साथै जनवर्गीय संगठन निर्माण गर्ने जनाएको छ । बैठकले स्थानीय माओवादी नेता प्रदिप थापालाई कारबाही गरेको छ। उनी पार्टी पोलिटव्यूरो सदस्य लिलाबहादुर थापाका छोरा हुन्। पार्टी निर्णय विपरीत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको रुख चिन्ह लिएर बरेङ गाउँपालिका प्रमुखको उम्मेदवार भएकोले साधारण समेत नहरने गरी थापालाई कारबाही गरिएको जिल्ला सहइन्चार्ज सागरले बताए।

प्रकाशित: १७ भाद्र २०७४ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App