१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढी प्रभावित क्षेत्रमा सर्पदंश र विभिन्न रोगको प्रकोप

राजविराज- दुई साताअगाडि आएको बाढी र पहिरोबाट प्रभावित गाउँघरमा आजभोलि विषालु सर्पको बिगबिगी बढेको छ । 

पछिल्लो पटक बाढीबाट अतिप्रभावित जिल्लाको लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया, हनुमाननगर, इनर्वा, मैनाकडेरी, पोर्ताहा, तिरकोललगायत दर्जनौँ गाउँमा विषालु सर्पको निकै वृद्धि भएको पाइएको छ । 

दुई दिनअगाडि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाकी गर्भवती महिला लुदियादेवी सदालाई विषालु सर्पले टोकेको थियो । सर्पले टोक्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा अहिले उपचार भइरहेको पीडितका परिवारजनले बताएका छन् । 

यस्तै, बाढी प्रभावित क्षेत्रमा विभिन्न किसिमका रोगका प्रकोपसमेत देखापरेको छ । अहिले बाढी प्रभावित क्षेत्रमा खासगरी पखाला, निमोनिया, टाइफाइड, रुघाखोकीका साथै सर्पले टोक्ने बिरामीको अलावा बालबालिका तथा वृद्धवृद्धामा सो रोगको प्रकोप देखापरेको बताइएको छ । 

यसअघि विषालु सर्पको टोकाइबाट सप्तरीको सकरपुरामा एक बाढीपीडित किशोरीको मृत्युसमेत भएको थियो । 

जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेका गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा दैनिक २० देखि ३० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । 

एक्कासि सर्पको बिगबिगी बढेपछि सो क्षेत्रका सर्वसाधारण त्रसित भई सर्पको टोकाइबाट जोगिन रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बाढीपीडितको गुनासो छ । साथै सर्पदंशको डरले बाहिरसमेत निस्कन समस्या हुने गरेको पीडितले बताएका छन् । रासस 

प्रकाशित: १६ भाद्र २०७४ ०५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App