१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमामा भारतीय सुरक्षा सतर्कता

वीरगन्ज- नेपालमा प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा सीमापारि भारतीय सुरक्षा एजेन्सीले सुरक्षा सतर्कता बढाएका छन् । भारतीय सुरक्षाकर्मीले हरेक सवारीसाधनको सघन चेकजाँचसँगै सीमावर्ती क्षेत्रमा गस्ती र निगरानी बढाएका छन् ।

‘नेपालमा भइरहेको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न होस् भनेर हामीले सुरक्षा सतर्कता बढाएका छौं । छिमेकी मुलुकले निर्वाचन सुरक्षित तथा शान्तिपूर्ण किसिमले सम्पन्न गरोस्, त्यसका लागि हाम्रो हरसम्भव सहयोग रहनेछ,’ रक्सोलस्थित सीमावर्ती भारतीय प्रहरीको कार्यालयका प्रमुख डिएसपी राकेश कुमारले भने, ‘सीमाको संवेदनशीलता ध्यानमा राख्दै हामीले स्थानीय तबरमा सुरक्षामा सहयोग गरिरहेका छौं ।’

कसैले नेपालतिरबाट कुनै आपराधिक क्रियाकलाप गरेर भारत पस्ने वा आपराधिक उद्देश्यले भारततिरबाट नेपाल पस्ने काम गर्न नसकोस्, हातहतियार तथा विस्फोटक पदार्थ ओसारपसार नहोस् भनेर नियमित सुरक्षा निगरानी सघन बनाएको भारतीय सुरक्षा अधिकारी बताउँछन् । ‘हामीले नियमित चेकजाँचकै उद्देश्यअन्तर्गत यतिखेर पनि सीमामा काम गरिरहेका छौं । हो, नेपालतिर निर्वाचन परेको हुनाले हामीलाई पनि सुरक्षा दायित्व बढेको छ, अहिले चेकजाँच समान्यभन्दा सघन बनाइएको छ र सुरक्षा निगरानी बढाइएको छ,’ अर्का एक सुरक्षा अधिकारीले भने ।

मूल नाकादेखि ससाना प्रवेशविन्दुसम्ममा भारतीय सूरक्षाकर्मीको तैनाती र चेकजाँच बढेको देखिन्छ । गत सोमबार भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) ले रक्सोलमा राखेको क्षेत्रीय स्तरीय सुरक्षा तथा सरोकावालाको बैठकपछि यता सीमाक्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो । एसएसबीका डिआइजी एमएस पड्ढाको अगुवाइमा बसेको बैठकमा सीमावर्ती एसएसबी कार्यालयका कमान्डडेन्ट, भारतीय भन्सारका प्रतिनिधि, वन कार्यालयका प्रतिनिधिलगायत पनि उपस्थित थिए ।

चुनावी सुरक्षा रणनीति

यता नेपालतिर पनि चुनावलाई ध्यान दिई विशेष सुरक्षा रणनीति कार्यान्यवन सुरु भइसकेको छ । वीरगन्ज महानगर, ३ नगरपालिका र १० गाउँपालिका भएको पर्सा जिल्लालाई सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको छ । पर्सा प्रहरीले चुनावका लागि लागि थप बल माग गरेको छ । ‘सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गमा वर्गीकरण गरेका छौं,’ पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले नागरिकलाई भने, ‘आन्तरिक सुरक्षा बैठक बसिसकेका छौं, सीमापारका सुरक्षा अधिकारीसँग भदौ २२ वा २३ मा बैठक बस्छौं ।’ चुनाव समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई परिचालन गर्ने तयारी भइरहेको उनले बताए ।

प्रकाशित: १६ भाद्र २०७४ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App