१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फेरिँदै चुनाव प्रचार शैली

वीरगन्ज- पोस्टरैपोस्टरले भरिएर कुरुप बनेका घरका भित्ता, कान फाट्ने गरी लाउडस्पिकर घन्काउँदै हिँड्ने प्रचार गाडी, एकअर्को दललाई नाङ्गोझार पार्ने भाषणबाजीबिना नै यसपालिको  स्थानीय तह चुनाव प्रचार सकिने देखिएको छ । दुई दशकपछि हुन थालेको स्थानीय तह निर्वाचनमा प्रचारशैली संविधानसभा निर्वाचन तुलनामा भद्र देखिएको छ ।

‘चुनाव प्रचार शैलीमा पूरै परिवर्तन देखिएको छ । माइकिङ गरेर हल्ला मच्चाउने, पोस्टर पम्प्लेट टाँस्ने चलन यसपालि दोहो¥याइएन,’ वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रदीप केडियाले आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा फेरिएको चुनाव प्रचार शैलीबारे भने, ‘अहिले मुख्य कुरा देखिएको छ, घरदैलो । उम्मेदवार जनताको दैलोमै पुगेर भोट माग्न केन्द्रित देखिएका छन् ।’ तराईको बाढीले पनि प्रचारशैली फेरिएको हुन सक्ने उनको अनुमान छ ।

‘केही हदसम्म चेतनाको पनि विकास भएको हो, आचारसंहितालाई महŒव दिएर दलहरुले कार्यकर्तालाई नियन्त्रण गरेको देखियो,’ वीरगन्जका नागरिक अगुवा पन्नालाल गुप्ताले भने, ‘नियम–कानुन कार्यान्वयनले यस्तो परिवर्तन देखिने हो र यो सकारात्मक हो ।’

चुनावी सभा र कार्यक्रममा हुने एकअर्काको आलोचना सामाजिक सञ्जालका भित्तातिर सरेको गुप्ताको भनाइ छ ।

‘यसपालि आचारसंहिता पालना धेरै राम्रो देखिएको छ । छिटपुट गुनासा सुनिए पनि आचासंहिता उल्लंघनको एउटा पनि उजुरी आएको छैन,’ पर्साका जिल्ला निर्वाचन अधिकारी हुमनाथ पराजुलीले भने, ‘माइकिङ गर्ने र ठूला पोस्टर, पम्प्लेटm ब्यानर लगाउनेजस्ता आचारसंहिताले निषेध गरेका कुरा रोकिनु एउटा ठूलो परिवर्तन हो ।’

उम्मेदवार चयन सुस्त

वीरगन्जमा सबै दलले उम्मेदवार घोषणा गर्न सकेका छैनन् । केही दलमा टिकटका लागि हानथाप देखिएको छ भने केही दलले गतिला उम्मेदवार नै नपाएको अवस्था छ । कांग्रेसमा मेयर उम्मेदवारका रुपमा अघि सारिएका अजयकुमार द्विवेदीले उपमेयरको उम्मेदवार पुरानो आबद्धता र पार्टीमा लगानी भएकालाई दिनुपर्ने अडान राखेपछि उम्मेदवारको नाम टुंगिन सकेको छैन । केन्द्रीय सदस्य रमेश रिजालले नयाँ अनुहार प्रियंका केशरीलाई उपमेयर उम्मेदवार बनाउन खेलेको भूमिका पार्टीका लागि प्रत्युत्पादक भइरहेको कांग्रेस कार्यकर्ताको टिप्पणी छ ।

नेकपा एमालेले वीरगन्जको मेयरमा बसरुद्दिन अन्सारी र उपमेयरमा सोफिया आचार्यको नाम घोषणा गरिसकेकाले सो पार्टीका कार्यकर्ताले प्रचार तीव्र बनाएका छन् । त्यसैगरी संघीय समाजवादी फोरम नेपालले विजय सरावगीलाई मेयरमा र पिंकी यादवलाई उपमेयर उम्मेदवार घोषणा गरिसकेको छ । फोरम नेपालले घरदैलो, कोणसभा र पार्टी प्रवेशकार्यक्रमलाई प्राथमिकतामा राखेको पार्टीका पर्सा उपाध्यक्ष सुन्दर कुर्मीले बताए । उनले भने, ‘कसैलाई होच्याउने कुरा कुनै पनि कार्यकर्तालाई गर्न नदिन निगरानी गरिरहेका छौं ।’

माओवादी केन्द्रले मेयरमा रहबर अन्सारीको नाम सार्वजनिक गरे पनि उपमेयरसमेत अन्य उम्मेदवारको टुंगो लगाउन सकेको छैन । फोरम गणतान्त्रिक र राप्रपाजस्ता दलले कुनै चुनावी चहलपहल देखाउन सकेका छैनन् । राजपामा पनि उम्मेदवार टुंगो लगाउन गाह्रो भएको छ ।

वीरगन्ज महानगरका ३२ वडामा एक लाख ८ हजार पाँच सय एक मतदाता छन् । ‘पार्टीहरुले  उम्मेदवार घोषणामा ढिलाइ गरेका कारण पनि चुनावी गतिविधि त्यति धेरै हुन नसक्दा विकृति पनि कम देखिएको हो,’ विश्लेषक चन्द्रकिशोरले भने, ‘अहिले आचारसंहिता पनि लागिसक्यो, बीचमा बाढीको प्रभाव रह्यो त्यसैले समग्रमा चुनाव प्रचारशैली फरक देखिएको हो ।’

प्रकाशित: १६ भाद्र २०७४ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App