१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मैत्रीपूर्ण शृंखला नेपाललाई

काठमाडौं- नेपालले बंगलादेशलाई ३–२ सेटमा हराउँदै मैत्रीपूर्ण शृंखलामा २–० को सफलता हासिल गरेको छ । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २५–२७, २५–१७, २५–१६, २५–२३ ले हराएको थियो । बुधबार नेपालले लगनखेलस्थित आर्मी कभर्ड हलमा बंगलादेशलाई १९–२५, २५–२२, २०–२५, २५–२२, १५–८ ले हरायो । मैत्रीपूर्ण शृंखलामा नेपाली टोलीका स्पाइकर कुलबहादुर थापा सर्वाधिक स्कोरकर्ता बने । बुधबार कुलले २८ स्कोर गरे । त्यस्तै उनले पहिलो मैत्रीपूर्ण खेलमा २१ स्कोर गरेका थिए ।

नेपालले पछिल्लो समय तीन साता नेदरल्यान्डका प्रशिक्षकको नेतृत्वमा अभ्यास गरेको थियो । भलिबल राष्ट्रिय खेल भएको अवसरमा गरिएको मैत्रीपूर्ण शृंखलामा नेपालले बंगलादेशलाई खेलमा एकतर्फी रूपमा हाबी हुन दिएन ।  नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो खेल जितेको थियो । पहिलो खेलबाट उत्साही भए पनि नेपालले बुधबार सुरुआतमा आत्मविश्वासका साथ कोर्टमा प्रस्तुत हुन सकेको थिएन ।

पहिलो र दोस्रो सेटमा बंगलादेशले नेगेटिभ समान ७ अंक दिएको थियो । तर पनि नेपालले पहिलो सेटमा आफ्नो पकडलाई बलियो बनाउन सकेन । रिसिभमा कमजोर भएका कारण नेपालले सुरुआतमा आफ्नो स्वाभाविक खेल पस्कन सकेको थिएन । प्रशिक्षक जगदीश भट्टले सफलता हासिल गरे पनि नेपालले सोचेजस्तो खेल खेल्न नसकेको बताए ।

‘पहिलो खेल जितेपछि हामीले मानसिक रूपमा बलियो भएर खेल्नुपर्ने थियो । तर सुरुआतदेखि हामीले सोचेअनुरूप खेल्न सकेनौं, भट्टले भने, ‘रिसिभमा निकै कमजोर हुँदा बंगलादेशलाई फाइदा भयो । उनीहरूलाई हराउन हामीले पहिलो बलमै अट्याक गर्न जरुरी थियो । हामीले सर्भिसबाट त्यो अट्याकलाई प्रयोग ग¥यौं । हाम्रो सर्भिसले बंगलादेशको रिसिभलाई कमजोर बनाएपछि खेलमा कमब्याक गर्न सहज भयो ।’

ब्लकमा कमजोर देखिएको नेपालले खेलभर सर्भिसबाट ९ अंक र रिसिभबाट ४ अंक गुमाएको थियो । स्पाइकमा भने नेपाली खेलाडीले केही उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशको डिफेन्सलाई दबाब दिएका थिए ।

बंगलादेशले यसअघिको प्रतियोगितामा नेपाललाई हराएको थियो । बंगलादेशले घरेलु मैदानमै गत वर्ष भएको दोस्रो एभिसी सेन्ट्रल जोनमा नेपाललाई हराएको थियो ।

सुरुआतको चार सेट २–२ को बराबरी भएपछि बंगलादेशले पाँचांै सेटमा नेगेटिभ ४ अंक दियो । जसले नेपाललाई खेल जित्न मद्दत गरिदियो । बंगलादेशी खेलाडीले रेफ्री चन्द्रबन्दना राईको निर्णयलाई लिएर असन्तुष्टि जनाए ।

खेल सकिएपछि बंगलादेशका खेलाडीले केहीबेर मिडियासँग कुराकानी गर्न समेत मानेका थिएनन् । बंगलादेशका प्रशिक्षक अली पोउर ज्वरो आएका कारण बुधबार कोर्टमा देखिएनन् । बंगलादेशका कप्तान अल जाबिरले रेफ्रीले अनावश्यक फल लिँदा खेलाडीले मानसिक रूपमा दबाब महसुस गरेको बताए । जाबिरले भने, ‘रेफ्रीको निर्णयमा केही गल्ती भए । त्यसको कारणले हामीले हारेको होइन । तर निर्णयले हाम्रो लयमा असर गरेको छ ।’

ज्वरोका कारण कप्तान जाबिरले पहिलो दिनको खेल खेल्न सकेका थिएनन् । बुधबार पहिलो सेटमा कोर्टमा उत्रिए पनि उनले पछिल्लो सेट खेल्न सकेनन् । कप्तान जाबिरले मैत्रीपूर्ण खेलले दुवै देशको भलिबल विकासमा सहयोग गर्ने बताए । उनले थपे, ‘मैत्रीपूर्ण खेलबाट हामीले सकारात्मक कुरा सिक्ने कोसिस गर्नुपर्छ । नेपाल र बंगलादेशबीच भविष्यमा यस्ता शृंखला हुनुपर्छ ।’

प्रकाशित: १५ भाद्र २०७४ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App