१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेस फकाउन दलका अजेन्डा

काठमाडौं- दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तहको चुनावमा पहिलो पार्टी बन्ने तयारीसाथ प्रमुख चार दलले मधेसको भोट आफूतिर तान्न थरीथरीका अजेन्डा मतदातामाझ लैजाने भएका छन् ।

कांग्रेस, एमाले र राजपाले स्थानीय तहको निर्वाचनमा मधेसमा पहिलो हुने दाबी गरेका छन् भने फोरम नेपाल र फोरम लोकतान्त्रिकका नेताहरूले अन्य प्रदेशको तुलनामा राम्रो परिणाम ल्याउने बताएका छन् । 

चुनावको माहोल आफ्नो पक्षमा बनाउन  प्रमख दलका शीर्ष नेताहरू दुई नम्बर प्रदेशका सबै तहमा पुग्ने रणनीतिमा छन् ।

कांग्रेस अजेन्डा संविधान संशोधन

कांग्रेसले उम्मेदवारको टुंगो लाग्नेबित्तिकै ‘दुई नम्बर प्रदेशमा नेपाली कांग्रेसलाई किन भोट दिने’ भनी अपिल बनाएर मतदातामाझ जाने भएको छ । चुनावमा  कांग्रेसले  संविधान संशोधनको अजेन्डालाई मुख्य रुपमा उठाउने छ । संविधान संशोधन हुन नसक्नुमा कांग्रेसले एमालेलाई दोष दिने भएको छ । ‘संविधान संशोधन कांग्रेसकै अजेन्डा हो तर एमालेका कारण संसद्बाट संशोधन विधेयक पारित हुन सकेन । हामी यही विषय उठाउनेछौं’, कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले भने, ‘तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा पहिलोपटक संविधान संशोधन भयो । दोस्रो संशोधनको पहल पनि कांग्रेसको अगुवाइमा भएको हो ।’

मधेसको विकास र समृद्धिलाई पनि कांग्रेसका नेताहरूले उठाउने भएका छन् । पहिलो पार्टी बन्न कांग्रेसका दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद, भ्रातृ संगठनका कार्यकर्ताहरू खटाउने रणनीति कांग्रेस नेताहरूले बनाएका छन् । दुई नम्बर प्रदेशमा सयभन्दा बढी स्थानमा कांग्रेस विजयी हुने दाबी धनुषाका नेता रामसरोज यादवले दाबी गरे ।

एमोले पहिलो हुने तयारीमा

एमालेले दुई नम्बर प्रदेशको चुनावमा संविधान कार्यान्वनय, राजनीतिक स्थिरता र विकासलाई प्रमुख अजेन्डा बनाउने भएको छ । ‘संविधान कार्यान्वयन भएमा र राजनीतिक स्थिरतामा आएमा मधेसको समृद्धिको ढोका खुल्छ । त्यसैले हामीले संविधान कार्यान्वयन र राजनीतिक स्थिरतालाई पहिलो मुद्दा बनाएका छौं,’ एमाले सांसद तथा पोलिटब्युरो सदस्य शत्रुघन महतोले भने ।

एमालेले स्थानीय तहको निर्वाचनमा दुई नम्बर प्रदेशमा पनि पहिलो पार्टी हुने रणनीति बनाएको छ । एमालेले पनि दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका सांसद, केन्द्रीय दसस्य तथा भ्रातृ संगठनका कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गर्ने नीति बनाएको छ । एमालेका शीर्ष नेताहरू पनि दुई नम्बर प्रदेशका सबै तहमा पुग्ने भएका छन् । महतोले दुई नम्बर प्रदेशमा पहिलो पार्टी हुने दाबी गरे । उनले भने, ‘मधेसको समस्या सामधान गर्न सत्तारूढ दलले संशोधन प्रस्ताव ल्याएकै होइनन् । एमालेलाई दोष दिन मात्र ल्याएका हुन् ।’ मतदातालाई यो कुरा राम्रोसँग बुझाउने उनले बताए ।

माओवादी दोस्रो पार्टी बन्ने रणनीतिमा

माओवादी केन्द्रले दुई नम्बर प्रदेशमा सकेसम्म दोस्रो पार्टी बन्ने तयारी गरेको छ ।  केही दिनअघि नयाँ शक्तिबाट माओवादी केन्द्रमा प्रवेश गरेका रामचन्द्र झाले तेस्रो  चरणको चुनावमा माओवादी केन्द्रले संविधान संशोधन र मधेसको समृद्धिलाई अजेन्डा बनाउने बताए । ‘हामी संविधान संशोधनको कुरा उठाउनेछांै । यसैगरी मधेसमा रहँदै आएको विभेद अन्त्य गर्ने अजेन्डा बनाउँदैछौं’, उनले भने ।

आन्दोलनको जस लिन खोज्दै राजपा

पहिलो र दोस्रो चरणको चुनावमा नगएको राजपा तेस्रो चरणको चुनावमा होमिँदैछ । त्यसैले तेस्रो चरणको चुनाव राजपाका लागि प्रतिष्ठाको विषय भएको छ । राजपाका अध्यक्ष मण्डलका नेता महेन्द्र्र यादवले दुई नम्बर प्रदेशमा राजपा पहिलो दल हुने ठोकुवा गरे । उनले भने, ‘चुनाव निष्पक्ष भयो र धाँधली भएन भने तेस्रो चरणको चुनावमा राजपा पहिलो दल हुने  निश्चित छ । यसमा शंका गर्नु पर्दैन ।’

तेस्रो चरणको चुनावमा राजपाका नेताहरूले संविधान संशोधनको अजेन्डालाई  प्राथमिकतासाथ उठाउने भएका छन् । ‘संविधान  संविधान हाम्रो पहिलो मुद्दा हो । ठूला दलहरू त्यसमा पनि एमालेका कारण संविधान संशोधन भएन । त्यो कुरा हामी जनतामा लैजानेछौं,’ यादवले भने ।

फोरम नेपालका केन्द्रीय सदस्य शिवजी यादवले प्रमुख ठूला दलका कारण संविधान संशोधन हुन नसकेको भन्दै संशोधन अजेन्डालाई चुनावमा उठाउने बताए ।

मन्त्री र सांसदलाई गच्छदारको निर्देशन

स्थानीय तहको चुनावमा पार्टीको पोजिसन बलियो बनाउन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, केन्द्रीय सदस्य, पूर्वमन्त्री र मन्त्रीलाई चुनाव अनिवार्य रुपमा खट्न निर्देशन दिएका छन् । पार्टीका उपाध्यक्ष गीता रानाले भनिन्, ‘पार्टी अध्यक्षज्यूबाट दुई नम्बर प्रदेशमा बहालवाला मन्त्री, पूर्वमन्त्री, सांसद तथा केन्द्रीय सदस्यलाई अनिवार्य खट्न निर्देशन दिनुभएको छ ।’

फोरम लोकताान्त्रिका सांसद पवनकुमार सारडाले दुई नम्बर प्रदेशको चुनावमा पार्टीका  सांसदहरू सक्रिय रूपमा खटिने बताए ।

प्रकाशित: १५ भाद्र २०७४ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App