१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कारागारमा घुम्ती पुस्तकालय

कारागारमा घुम्ती पुस्तकालयको व्यवस्था गरिए सँगै किताब पढ्दै कैदीबन्दीहरू । तस्बिर : किसान संगीत नेपाली

लमजुङ – जर्वजस्ती करणीको अपराधमा ७ वर्षका लागि कैद सजाँय भोग्दै आएका सुन्दरबजार नगरपालिका बलिथुमका ३१ वर्षीय राजु परियारलाई पत्रपत्रिका र किताब पनि पढ्न रुचाउँछन् । उनीजस्तै कारागारमा सजाँय काट्दै आएका जनकदत्त जमरकट्टेल, शंकर मिजार, शेखर शाही, रवि बाँनिया, देवीप्रसाद भट्टराई लगायतका कैदी वन्दी पनि पत्रपत्रिका र नयाँ किताब पढ्न मन गर्छन् । तर नियमित रुपमा पत्रपत्रिका नआउँदा र बजारमा आएका किताबहरु कारागारमा उपलब्ध नहुँदा उनहरूको अध्ययन प्रतिको उनको चाहना केवल चाहनामै सिमित रहँदै आएको थियो । बुधबार देखि भने पत्रपत्रिका र किताब पढ्न चाहने कैदी बन्दीहरुको चाहना पुरा भएको छ ।

कारागारमा रहेका कैदी बन्दीहरूको पढ्ने चाहना पुरा गरिदिएको हो, बेसीशहरस्थित लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले । विहीबार परेको दशौं पुस्तकालय दिवसको अवसरमा पुस्तकालयले कारागारमा घुम्ती पुस्तकालयको व्यवस्था गरिदिए पछि उनीहरूको अध्ययन गर्ने चाहना पुरा हुने भएको छ । पुस्तकालयले बुधबार कारागारमा आयोजित औपचारिक कार्यक्रममा विभिन्न विधाका ५० थान किताब र पत्रपत्रिका उपलब्ध गराएको छ । जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले कारागार प्रशासनलाई पुस्तक तथा पत्रपत्रिका हस्तान्तरण गरेका हुन् । विभिन्न कारणले कारागार आइपुगेका कैदीबन्दीमा सकरात्मक सोंचको विकास गर्न र सजायँ भोगेर समाजमा फर्किएर पुनः केही योगदान दिने उत्प्रेरणा र उर्जा जगाउन ति पुस्तक र पत्रपत्रिकाले सहयोग पु¥याउने सो अवसरमा पाण्डेले बताए। कार्यक्रममा बोल्दै उनले नयाँ ताजा घटनाक्रम थाहा पाउन र मनोरञ्जनका लागि जिल्ला समन्वय समितिका तर्फबाट एकथान टेलिभिजन कैदीबन्दीकै प्रयोजनका लागि उपलब्ध गराउने प्रतिवबद्धता समेत गरेका छन् । जीवन रुपान्तरण र सामाजिक योगदानमा उनीहरुलाई अग्रसर गराउने प्रयास गरेकोमा पाण्डेले पुस्तकालयलाई धन्यवाद पनि दिए । 

ति पुस्तक तथा पत्रपत्रिकाहरू कैदीबन्दीले निश्चित अवधि भित्र अध्ययन गरी सकेपछि फिर्ता ल्याउने र थप नयाँ पुस्तकहरू उपलब्ध गराउँदै जाने अवधारणा अनुरुप कैदीबन्दीलाई पुस्तक उपलब्ध गराइएको पुस्तकालयका अध्यक्ष नारायणबहादुर सुयलले बताए । कारागार प्रशासन सँग समन्वय र सल्लाह गरी पुस्तक उपलब्ध गराइएको र आगमी दिनमा स्वयं कैदीबन्दीको रोजाई र चाहना अनुसार किताब र पत्रपत्रिका उपलब्ध गराईने पनि सुयल बताउँछन् । ऋग्वेद, कायाकल्प, लू, लि क्वान यु, माङ्गेना, लाटो पहाड, उर्गेनको घोडा, पल्पसा क्याफे, सकस, कर्म, सोंच, खोज, स्टिभ जब्स, मान्छेको रंग, सेतो धरती जस्ता धार्मिक, समसामयिक सन्दर्भ, साहित्यिक, उत्पे्ररणामूलक किताब र नेपाल, हिमाल, मधुपर्क, जनमत जस्ता पत्रिकाहरु उपलब्ध गराईएको पुस्तकालयका महासचिव दिपक अधिकारीले बताए । त्यस्तै, कान्तिपुर, नागरिक, गोरखापत्र र जिल्लाबाट प्रकाशित दैनिक तथा साप्ताहिक पत्रिकाहरु पनि कारागारमा उपलब्ध गराउन सहयोग समन्वय गर्ने नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङले प्रतिबद्धता गरेका छन् ।

कारागारमै विभिन्न खालका किताब र पत्रपत्रिका पढ्ने व्यवस्था भएसँगै आफूलाई निकै खुशी लागेको बन्दी जनकदत्त जमरकट्टेलले बताए । नयाँ–नयाँ विषयवस्तुको अध्ययनले आफूहरूलाई मानसिक तनाव कम हुने, जेल जीवननै बिताउँदै गर्दा पनि नयाँ कुरा सिक्न र जान्न पाइने भएकाले खुशी लागेको उनी बताउँछन् । त्यस्तै, किताबहरु पढ्दै जाँदा अन्य कैदीवन्दीमा समेत अध्ययन प्रतिको भोक जाग्दै जाने र विस्तारै पढ्ने बानीको विकास हुने रवि बाँनिया बताउँछन् ।    

कैदीवन्दीका लागि विशेष सुविधा दिन नसिकएपनि पढ्ने व्यवस्था गर्न पाउँदा आफूलाई थोरै भएपनि सन्तोष मिलेको कारागार प्रमुख काजीमान सुनारले बताए । सम्बन्धित निकाय सँग सरसल्ला र पुस्तकालय सँगको समन्वयबाट घुम्ती पुुस्तकालय स्थापना गर्न संभव भएको उनी बताउँछन् । जिल्ला कारागारमा अहिले ५९ पुरुष, ७ महिला गरी कूल ६६ जना कैदी बन्दी रहेका छन् । ति मध्ये ४७ पुरुष र ६ महिला गरी ५३ जना कैदी अनि १२ पुरुष र १ महिला गरी १३ जना थुनुवा रहेको कारागार प्रमुख सुनारले बताए ।

 

प्रकाशित: १४ भाद्र २०७४ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App