१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल: तीन बर्षमा ३० प्रतिशत काम

भैरहवा-सन् २०१८ को जुनमा संचालनमा ल्याउने भनिएको  भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माणको काम समयमा पुरा नहुने निश्चित भएको छ। २०७१ माघ १ गते शिलन्यास गरीएको बिमानस्थल २०१७ को डिसेम्बरमा संचालनमा ल्याउने सम्झौता अनुसार चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सनले काम थालेको थियो। भूकम्प, नाकाबन्दी र निमार्णजन्य सामाग्रीको अभावका कारण गत बर्ष म्याद थप गरी २०१८ को जुनमा निमार्ण सक्ने सहमती गरीयो । तर दोश्रो पटक थप गरीएको समय सकिन ९ महिना मात्र बाँकी हुँदा बिमानस्थलको काम ३० प्रतिशत मात्र सकिएको छ। बैशाख यता निमार्णको काम निकै सुस्त गतीमा चलेको छ।

अधिकारीहरुका अनुसार तोकीएको समयमा आयोजना सम्पन्न हुन चिनियाँ कम्पनीले मासीक ६ प्रतिशतका दरले कामको प्रगती गर्नु पर्ने हुन्छ । तर उसको भौतिक प्रगति जम्मा ०.५ प्रतिशत छ । बिमानस्थल निर्माण आयोजना प्रमुख ओम शर्माका अनुसार समयमै काम सक्न दैनिक दुइ सय बढी कामदार तथा सोही अनुरुपको दक्ष प्राविधिक जनशक्ति र उपकरणको प्रयोग हुनु पर्छ । इन्जिनियर शर्माका अनुसार बिमानस्थलमा पुग नपुग सय जना कामदार कार्यरत भएपनि दक्ष प्राविधिक र प्रविधिको अभाव छ ।

चिनियाँ कम्पनी र उसले सव ठेक्केदारको रुपमा नियुक्त गरेर निर्माणको सम्पूर्ण जिम्मा दिइएको नेपाली ठेकेदार नर्थवेस्ट इन्फ्रा नेपालबीचको लेनदेन विवादले गत चैत देखि निमार्णको काममा अवरोध सिर्जना भएको हो । नेपाली सह ठेक्केदारले भुक्तानी नपाएको भन्दै चैत महिनाभरी काम ठप्प पार्यो । बैशाख देखि चिनीया कम्पनीले सबै काम आफै गर्ने र समयमै सक्ने बताउदै आएको थियो । तर उसले पाँच महिना बितिसक्दा नत आवाश्यक जनशक्ति र उपकरण जुटायो नत कामको प्रगति भयो। बिमानस्थल निमार्ण आयोजनाका प्रमुख शर्माले पटक पटक सचेत गराउँदा समेत चिनियाँ कम्पनीले वास्ता नगरेपछि उसलाई अन्तिम चेतावनी पत्र दिइएको बताए । डेढ महिनाको अवधी राखेर अन्तिम पटक चेतावनी दिएको र त्यसलाइ पनि वेवास्ता गरे टेण्डर रद्द गर्नुको बिकल्प नभएको जानकारी दिए । शर्माका अनुसार अन्तिम चेतावनी पत्र पाएपछि चिनियाँ कम्पनीले आन्तरिक व्यवस्थापनमा सुधारको प्रयास गरेको छ । प्रोजेक्ट म्यानेजर सहित दक्ष जनशक्ति र उपकरण भित्र्याउनका लागि अनुमती मागेकाले सुधारको संकेत देखिएको हो । ‘सुधार गरीसकेको छैन संकेत देखाएको छ’ शर्माले भने ।

दुइ चरणमा निमार्ण सम्पन्न गर्ने कर्यायोजना अनुरुप पहिलो चरणमा सिविल वर्कका लागि चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन प्रालिले तीन बर्ष अघि निमार्णको जिम्मा पाएको हो। दोश्रो पटक थप गरीएको समय सकिन अव ९ महिना मात्र बाँकी छ तर निर्माणको काम करिब ३० प्रतिशत सकिएको छ । ठेकेदारको व्यवस्थापकीय कमजोरी,सहठेकेदार र सप्लायर्स नियुक्तीमा सुरु देखि भइरहेको राजनीतिक चलखेलका कारण आयोजना समयमै पुरा नहुँने देखिएको छ । चिनियाँ कम्पनीले सुरुमै मापदण्ड बिपरित नर्थवेस्ट नेपाल इन्फ्रा प्रालिलाई सब कन्ट्रयाक्टर नियुक्त गरेर व्यवस्थापकीय तथा निमार्णको सम्पुर्ण जिम्मा दिने त्रुटीपूर्ण कार्य गरेको थियो । आयोजनाको प्रकृति अनुरुप अनुभवी र दक्ष सहठेकेदार रोज्नु पर्नेमा सतही बिष्लेशण र राजनीतिक भनसुनकै आधारमा इन्फ्रालाइ  छनौट गरी सबै काम उसकै भरमा छोडीदिदा समस्या निम्तिएको बताइन्छ ।

राष्ट्रिय गौरवकै आयोजना निमार्णमा पटक पटक भइरहेको अवरुद्ध र लापरबाहीका सम्बन्धमा प्रमुख राजनीतिक दलहरु सुरु देखिनै मौन छन। एमाले, काँग्रेस, माओवादी केन्द्र र राप्रपाका स्थानीय देखि केन्द्रिय नेताहरु आ आफ्नो खेमाका सप्लायर्स तथा स्थानीय ठेक्केदारलाइ प्रवेश गराएर लाभ लिने दाउमा सुरु देखि नै लागेकाले तै चुप मै चुपको अवस्था आएको श्रोतको दावी छ । संसदको सार्वजनिक लेखा समितिले पनि राष्ट्रिय गौरवको अयोजनाको काममा ढिलासुस्ती र लापरबाही हुनुमा राजनीतिक दलहरु जिम्मेबार रहेको ठहर गरेको छ । आयोजना निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा स्थलगत अनुगमनमा आएका समितिका सभापती डोरप्रसाद उपाध्यायले आयोजनाको काममा ढिलाइ हुनुमा राजनीतिक नेतृत्व जिम्मेबार रहेको बताए । प्राधिकरणले पनि ठेक्केदारको व्यवस्थापकीय कमजोरी र अदुरदर्शिता  प्रति आँखा चिम्लीदीदा समस्या बढदै गएको र अहिलेको स्थिती आएको जानकारहरु बताउँछन। बिमानस्थल निर्माणमा भइरहेको लापरबाही र ढिलासुस्तीको यहाँका स्थानीय तथा उद्योगी व्यवसायीले पनि बिरोध गरेका छन।

प्रकाशित: १३ भाद्र २०७४ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App