१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘संविधान कार्यान्वयनमा छिमेकी हस्तक्षेप असह्य’

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनमा छिमेकीसहित अन्य मुलुकबाट हुने सबैखाले हस्तक्षेप असह्य हुने बताएका छन् । पाँच दिने भारत भ्रमण सम्पन्न गरेर आइतबार फर्केका प्रधानमन्त्री देउवाले संसद् बैठकमा सोमबार जानकारी दिने क्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।

संविधानबारे भारतीय समकक्षी नरेन्द्र मोदी समक्ष ‘प्रस्टीकरण’ दिएको भनेर सबैतिरबाट आलोचित प्रधानमन्त्री देउवाले भने, ‘संविधान संशोधनबारे संयुक्त प्रेस भेटघाटमा मैले केही बोलेको छु । त्यस विषयलाई लिएर केही राजनीतिक दल, व्यक्ति र सञ्चारमाध्यमबाट आएका टिप्पणीप्रति मेरो ध्यानाकर्षण भएको छ । हाम्रो संविधान कार्यान्वयनका सम्बन्धमा छिमेकी वा अन्य कुनै पनि मुलुकको हस्तक्षेप हामीलाई सह्य हुने छैन भन्ने कुरा सम्मानित सदनसमक्ष जानकारी गराउन चाहन्छु ।’ प्रधानमन्त्री देउवाले संविधान नितान्त नेपाल र नेपाली जनताको सरोकारको विषय भएको बताए ।

‘नेपालको संविधान निर्माण, कार्यान्वयन, स्वीकार्यता नेपाल र नेपाली जनताको नितान्त आन्तरिक विषय हो, यसबारे कसैसँग सम्झौता गरेको छैन र हुन पनि सक्दैन,’ प्रधानमन्त्री देउवाले भने ।

प्रधानमन्त्री देउवाले संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन राष्ट्रिय अजेन्डा बनेको बताए । उनले भने, ‘राष्ट्रिय प्राथमिकताका अजेन्डाबारे राष्ट्रिय–अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउनु अस्वाभाविक विषय होइन । नेपालको शान्तिप्रक्रिया र संक्रमणमा सघाएका छिमेकी राष्ट्रवाट जिज्ञासा राख्नुलाई नाजायज भन्न मिल्दैन ।’

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय भ्रमण गरेको तथा आफना लागि भारतीय राष्ट्रपति भवनमा आवासको व्यवस्था गरिएको सदनलाई जानकारी गराए । ‘भ्रमणले दुई देशबीच सम्बन्ध थप सुदृढ बनाउन मद्दत पुगेको छ,’ देउवाले भने, ‘स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा मोदीजीले बधाई ज्ञापन गर्नुभएको छ ।’ प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा भएको उपलब्धिको फेहरिस्त सदनमा प्रस्तुत गरेका छन् ।

‘बाढी तथा डुबानबाट उत्पन्न भएका समस्या छिट्टै समाधान गर्न गम्भीर कुरा राखें । सीमा क्षेत्रमा बाँधका कारण हुने डुबान समस्या समाधानका लागि विज्ञको टोली खटाउने सहमति भएको छ,’ देउवाले भने । यससम्बन्धमा बिहारका मुख्यमन्त्री नितिश कुमारसँग समेत कुराकानी गरेको देउवाले जानकारी गराएका छन् ।

जलविद्युत् आयोजना र जलस्रोतसम्बन्धी कम्तीमा ५ वटा विषयमा सम्झौता÷सहमति भएको प्रधानमन्त्री देउवाले सदनलाई जानकारी गराएका छन् । उनका अनुसार पञ्चेश्वर परियोजनाको विस्तृत प्रतिवेदन एक महिनाभित्र ल्याउने, सप्तकोसी उच्चबाँध र सुनकोसी डाइभर्सनको डिपिआर छिट्टै तयार पार्ने, अरुण तेस्रो र माथिल्लो कर्णाली कार्यान्वयनका लागि सम्झौताअनुसारका कार्य तत्काल अघि बढाइने भएको छ ।

टनकपुर सम्झौताअनुसार लिंक नहरमा भारतीय पक्षबाट अन्तिम रूप दिएको जानकारी भारतीय पक्षले जानकारी गराएको प्रधानमन्त्री देउवाले बताए ।

‘१३२ केभी क्षमताको प्रसारण लाइन तथा थप १०० मेगावट विद्युत् आयात गर्ने सम्झौता भएको छ,’ देउवाले भने । एलपी ग्यास ढुवानीसम्बन्धी नेपाली नम्बर प्लेटका लागि कानुनी व्यवधान रहेको जानकारी पाएको भन्दै त्यसलाई समाधान गर्न छलफल भएको पनि उनले जानकारी दिए ।

प्रकाशित: १३ भाद्र २०७४ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App