१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोले लोकमार्गमा सास्ती, दुई महिनामा २२ पटक अवरुद्ध

बाग्लुङ- गत साउन २९ गते बाग्लुङ बजारबाट बुर्तिबाङका लागि हिँडेको जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङको टोली दुई घण्टाबीच बाटोमै रोकियो। जनस्वास्थ्य कार्यालयले सम्पादन गरेका क्रियाकलापबारे गाउँ/नगरपालिकामा पुगेर समीक्षा गर्ने योजनासाथ हिँडेको टोली निर्धारित समयमा पुग्न नसक्दा कार्यक्रम ढिला हुन पुग्यो । राष्ट्रिय गौरवको आयोजना मध्येपहाडी लोकमार्ग अन्तर्गत बाग्लुङ—बुर्तिबाङ खण्डको सडकमा गल्कोट नगरपालिकाको मल्म भन्ने स्थानमा  पहिरो झरेर सडक अवरुद्ध भएपछि उनीहरु ढिला भएका हुन् । ‘कार्यालयको कार्यक्रमको समीक्षाका लागि भनेर जनस्वास्थ्य कार्यालयको टोली बुर्तिबाङसम्मका लागि हिँडेको थियो,’ टोलीमा सहभागी नारायण रिजालले भने,‘गल्कोट मल्ममा पुग्दा माथिबाट पहिरो झरेर सडक रोकिएको रहेछ ।

लोकमार्गले डोजर लगाएर खोलेपछि दुईघण्टापछि गन्तव्यतिर लाग्यौं।’ यो लोकमार्गमा बारम्बार झरिरहने पहिरोले यात्रुलाई सास्ती दिने गरेको छ । बर्खाको समयमा बाग्लुङ—बुर्तिबाङ यात्रा गर्नेहरुलाई समयमा गन्तव्यमा पुगिन्छ कि पुगिदैन भन्ने चिन्ताले हरदम सताउने गर्छ । बाग्लुङ—बुर्तिबाङ यात्रा थालेपछि कतिबेला गन्तव्यमा पुगिन्छ भन्ने कुनै टुङ्गो नभएको सवारी चालक मणिभद्र निउरे बताउँछन् । ‘बाग्लुङबाट बुर्तिबाङका लागि भनेर यहाँबाट हिँडेपछि कतिबेला त्यहाँ पुगिन्छ भन्ने कुनै टुङ्गो हुँदैन,’ निउरेले भने,‘पानी पर्‍यो कि कुनै पनि बेला पहिरोले सडक अवरुद्ध हुनसक्छ ।’ दुर्घटनाको जोखिम समेत बढेको उनले बताए। ‘आफ्नो कामै सवारी चलाउने भएपछि काम गर्नेपर्‍यो,’ निउरे भन्छन्,‘पहिरो गईरहने हुँदा कतिखेर दुर्घटना हुन्छ भन्ने डरले सताईरहन्छ।’ बाग्लुङ—घोडाबाँधे खण्डमा ठूलठूला खाल्डाखुल्डी र हिलोले सवारी चलाउन मुस्किल हुने गरेको उनको गुनासो छ।

 ‘अन्यत्र ठाउँमा त पहिरो झरेन भने त्यती ठूलो समस्या छैन,’ उनले भने,‘घोडाबाँधेबाट यता बाग्लुङबजारसम्मको सडक पुरै हिलो र खाल्डा मात्रै छन् । एक घण्टाको बाटो यात्रा गर्न दुई घण्टाभन्दा बढि समय लाग्छ।’ जिल्ला प्रहरी कार्यालय बाग्लुङले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्षको असार यता २२ पटक लोकमार्ग अवरुद्ध भएको छ। ‘असार यता भदौको पहिलो सातासम्म मध्येपहाडी लोकमार्गको बाग्लुङ—बुर्तिबाङ खण्ड २२ पटक अवरुद्ध भएको हामीसंग रेकर्ड छ,’ जिल्ला प्रहरी कार्यालय बाग्लुङका इन्सपेक्टर सुरेन्द्र ढुङ्गानाले भने,‘न्यूनतम एक घण्टा देखि दुई तीन दिनसम्म पनि सडक अवरुद्ध भएको देखिन्छ ।’ गतवर्षको फागुनमा गल्कोट नगरपालिका—११ रिघाको मनेवामा पहाडसंगै सुख्खा पहिरो खस्दा करिब दुई सातासम्म सडक अवरुद्ध भएको थियो।

 यो पटक सडक चौडा पार्ने काम गरिकाले पहिलो धेरै खस्ने गरेको मध्येपहाडी लोकमार्गका इन्जिनियर राजु रानाभाटले बताए । ‘हामीले सडकलाई १० मिटर चौडा बनाएका छौं, त्यस कारणले पनि कटानमा परेका ठाउँहरुमा पहिलो धेरै खसेको छ,’ उनले भने,‘भूकम्पले हल्लाएको जमिन कटान गर्दा यस्तो समस्या थपिएको हो ।’ ‘गतवर्ष त कतिपय ठाउँमा सवारी नै चल्न नसक्ने अवस्थामा अहिले जेनतेन चलेको छ,’ उनले भने । बर्खाको समयमा पनि लोकमार्गको निर्माण कार्य जारी रहेको र पहिलो झरेका ठाउँमा तत्काल पन्छाउने काम भैरहेको उनले बताए । ‘जहाँ पहिरो झरेको छ, त्यहाँ तत्काल अन्य काम रोकेर भए पनि पहिलो पन्छाउने व्यवस्था मिलाउने गरेका छौं,’ उनले भने,‘अहिले पनि सडक निर्माणका काम जारी छ ।’

मध्यपहाडी लोकमार्गमा झरेको पहिरोका कारण गल्कोट नगरपालिका—११ रिघा र बानपा—३ मूलपानीमा गरी करिब एक दर्जन घर परिवार पहिरोको जोखिममा परेका छन् । मध्य पहाडी क्षेत्रका २५ जिल्लाका २ सय १५ वटा बस्तीलाई जोड्ने १ हजार ७ सय ७६ किलोमीटर लोकमार्गको १ सय ३७ किलोमिटर बाग्लुङमा पर्छ ।  यो लोकमार्ग सम्पन्न भएपछि केही जिल्ला सदरमुकामहरु राष्ट्रिय सडक सञ्जालमा जोडिनेछन् भने मुलुकभरका करिब ७० लाख नागरिक यसबाट लाभान्वित हुनेछन्।

 

 

प्रकाशित: १२ भाद्र २०७४ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App