१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेको आपत्ती

काठमाठौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा संविधान संशोधनको बिषयमा दिएको अभिव्यक्तिको नेकपा एमालेले विरोध गरेको छ।

एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आन्तरिक मामलामा वाह्य पक्षलाई सङ्लग्न गराउने हानीकारक काम मात्रै गरेको छैन, यसले संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभा तथा सार्वभौम व्यवस्थापिका–संसदको अपमान समेत गरेको ठहर गरेकोछ। 'संसदमा मतदान भएर विधिपूर्वक टुङ्गिइसकेको र असन्तुष्ट दलहरुले परिणाम स्वीकार गरेर निर्वाचनमा सहभागी हुन सहमत भइसकेको यथार्थलाई अवमूल्यन गर्दै संविधानको ‘स्वीकार्यता’को अनुचित विवाद उठाउनुले नेपालको संविधानप्रति स्वयं प्रधानमन्त्रीको निष्ठामाथि समेत प्रश्नचिह्न खडा गरेको बैठकले ठहर गरेको छ,' बैठक पछि पार्टी सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तराई भूभागलाई बर्षेनी डुबानमा पार्ने तथा यो बर्षको विनाशकारी डुबानको मुख्य कारकको रुपमा रहेका भारतीय सीमामा एकतर्फी ढङ्गले बनाइएका बाँध तथा अन्य संरचनाका बिषयमा गंभीर छलफल गरी दिगो समाधान खोज्न, नेपालको व्यापार घाटा कम गर्नका लागि नेपालका कृषि तथा औद्योगिक उत्पादनहरुलाई भारतीय बजारमा सहज पहुँच सुनिश्चित गर्न, बर्षौंदेखि अधुरा रहेका परियोजनालाई यथाशीघ्र सम्पन्न गर्न एवं नेपालको राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक प्रधानमन्त्री उभिन नसकेको एमालेको ठहर छ।

नेपालले जलविद्युत लगायत नवीकरणीय उर्जाका माध्यमबाट इन्धनमा आत्मनिर्भरता हासिल गर्ने दिशामा अग्रसर भइरहेको परिप्रेक्ष्यमा प्राकृतिक तथा एलपिजी ग्यास पाइपलाइन बिछ्याउने समझदारीले नेपाललाई थप परनिर्भर बनाउने एमालेले बताएको छ। त्यसरी नै, राष्ट्रिय योजना आयोग र भारतको नीति आयोगबीच बर्षेनी नीतिगत परामर्श गर्ने वाध्यात्मक प्रावधान आवश्यक नरहेको समेत बैठकको निष्कर्ष निकालेको छ।

भ्रमणको क्रममा भएका विवादास्पद विषयमा सार्वभौम संसदमार्फत् नेपाली जनतालाई स्पष्ट पार्न एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: ११ भाद्र २०७४ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App