१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पहिलो महिनाको तलब स्कुललाई दिने राज्यमन्त्रीको घोषणा

बाग्लुङ- जिल्लाबाट पहिलोपटक महिला राज्यमन्त्री पदमा नियुक्त भएपछि बाग्लुङमा खुसीयाली छाएको छ। सरकारको नेतृत्व गरिरहेको दलबाट बाग्लुङकी नेतृ राज्यमन्त्रीमा पुगेपछि यहाँको विकासमा ठोस योगदान हुने बाग्लुङबासीको विश्वास छ।

देउवा सरकारमा हालै मात्र नियुक्त भएकी सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्कालाई अहिले बधाई र सम्मान थाप्न भ्याई नभ्याई छ। राज्यमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक बाग्लुङ आएकी खड्कालाई उनको पार्टीसहित विभीन्न सामाजिक संघ संस्थाले सम्मान र बधाई ज्ञापन गरेका छन्।

राज्यमन्त्री भएपछि शुक्रबार साँझ पहिलो पटक बाग्लुङ आएकी खड्कालाई यहाँका निमित्त प्रजिअ, प्रहरी प्रमुख र नेपाली काँग्रेस कार्यकर्ताको ठूलो भीडले पर्वत बाग्लुङको सिमाना मालढुङ्गामा स्वागत गरेको थियो।

बाग्लुङ बजार आउनसाथ स्वागत र सम्मान थाप्ने दौडधुप सुरु भएको छ। शुक्रबार साँझ नेपाली कांग्रेस बाग्लुङले बधाई ज्ञापन गरेका छ। शनिबार बिहान कांग्रेस बाग्लुङ क्षेत्र नम्बर १ ले  सम्मान गरेको हो। खड्का बाग्लुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भए अहिले राज्यमन्त्री भएकी हुन्।

यहाँको उद्योग वाणिज्य संघ, सिवाईसी सहकारी संस्था, जनसेवा युवा क्लब लगायत दर्जनौं संघ संस्थाले उनलाई सम्मान तथा बधाई ज्ञापन गरेका छन्। आइतबार बिहान बाग्लुङ उद्योग वाणिज्य संघ बाग्लुङले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा राज्यमन्त्री खड्काले आफू मन्त्री भएबापत पाउने पहिलो महिनाको तलब भत्ता यहाँको उपल्लाचौरमा सञ्चालित सुस्तमनस्थिती स्कुललाई प्रदान गर्ने घोषणा छिन्।

‘सुस्त मनस्थिति भएको बालबालिकाहरुले अध्ययन गर्ने विद्यालयलाई मैले मन्त्री भएपछि पहिलो महिनाको तलब उपलब्ध गराउने निर्णय गरेकी छु,’ उनले भनिन्, ‘यसले ठूलो सहयोग नभएपनि हौसला बढाउँछ भन्ने मेरो विश्वास हो।’

राज्यमन्त्री खड्काले नेपाली युवाहरुलाई विदेश जान नपर्ने वाताबरण सिर्जनका लागि उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने बताइन्। ‘कालिगण्डकी करिडोर मध्येपहाडी लोकमार्गले यहाँको विकासका लागि ढोका खोलेका छ,’ खड्काले भनिन्,‘तपाईहरु निर्यातमूलक उद्योगहरुमा लगानी बढाउनुस् सरकार त्यसको संरक्षण र प्रवर्द्धन गर्न तयार छ।’

प्रकाशित: ११ भाद्र २०७४ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App