१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतसँग बदलाको अवसर

यु–१५ साफ च्याम्पियनसिपकाे उपाधिका साथ भारतका विक्रमप्रताप सिंह(बायाँ) र नेपालका कप्तान राेशन रानामगर । तस्बिर: एन्फा

काठमाडौं – नेपाली यु–१५ टोलीका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले आइतबार हुने यु–१५ साफ च्याम्पियनसिपको फाइनल खेल भारतसँगविरुद्ध हारको शृंखलामा पूर्ण लगाउँदै इतिहास रच्ने स्वर्णिम अवसर भएको बताएका छन् ।

यस प्रतियोगितामा नेपालले भारतलाई अहिलेसम्म पराजित गर्न सकेको छैन । यसअघि यु–१६ साफ च्याम्पियनसिपको नाममा तीन संस्करण भएको थियो ।  २०१८ मा हुने एएफसी यु–१६ च्याम्पियनसिप छनोट प्रतियोगितालाई ध्यानमा राखेर यु–१६ साफ च्याम्पियनसिपलाई यस संकरणमा १५ वर्ष उमेर समूहमा सीमित गरिएको हो ।

यसअघिको दुई संस्करणमा नेपाल भारतसँग सेमिफाइनलमा पराजित भएको थियो भने एक संस्करणको उपाधि भिडन्तमा निराश बनेको थियो । प्रशिक्षक श्रेष्ठले प्रत्येक खेलमा सुधारिएको प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेकाले भारतविरुद्ध पनि टोलीले सोही लयलाई कायम राख्दै उपाधि उचाल्ने विश्वास व्यक्त गरे। 

‘प्रतियोगिता सुरु हुनुअघि हामीले सेमिफाइनलसम्मको लक्ष्य लिएका थियौं । तर हामीले प्रत्येक खेलमा सुधार गर्दै उपाधि नजिक पुगेका छौं,’ नेपाल यु–१५ टोलीका प्रशिक्षक श्रेष्ठले भने, ‘यसले खेलाडीको मनोबल बढाएको छ।’

२०११ मा भएको पहिलो संकरणको सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भारतलाई ४–२ को नतिजा सुम्पिएको थियो। २०१३ को दोस्रो संस्करणको फाइनलमा नेपाल भारतसँगै १–० ले स्तब्ध भएको थियो । गत संस्करणमा पनि भारतले नेपाललाई सेमिफाइनलमा १–० ले हराएको थियो । जारी संस्करणको समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा भारतलाई २–१ को नतिजा सुम्पिएको थियो।

‘समूह चरणमा भारतसँग प्रतिस्पर्धा गरिसकेका छौं । तर यो उपाधि छिनोफानो गर्ने खेल भएकाले समूह चरणभन्दा फरक हुनेछ,’ प्रशिक्षक श्रेष्ठले थपे, ‘समूह चरणमा आफ्नै गल्तीका कारण ‘सिल्ली’ गोल खायौं । त्यसलाई सुधार्ने यो सुनौलो अवसर हो ।’

पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा भारतलाई नतिजा सुम्पँदै समूह ‘बी’ को उपविजेताको हैसियतमा सेमिफाइन प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई ४–२ ले हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

यसअघिका खेलमा रक्षक र गोलकिपरबीच राम्रो तालमेल हुन सकेको छैन । नेपालले समूह चरणमा भारतसँग भएको भेटमा रक्षक र गोलकिपरबीच तालमेल नमिल्दा गोल खाएको थियो । त्यस्तै बंगलादेशविरुद्धको सेमिफाइनलमा ३–० को अग्रता बनाउनाका बावजुद रक्षापंक्तिमा भन्दा आक्रमणमा केन्द्रित हुँदा एक मिनेटको अन्तरमा दुई गोल खाएपछि नेपाल दबाबमा परेको थियो । तर प्रशिक्षक श्रेष्ठले फाइनलमा त्यसलाई सुधार गर्ने बताए।

‘रक्षापंक्ति र गोलकिपरबीच तालमेलमा कमी देखिएको सही हो । फाइनलमा यी सबै पक्षमा सुधार गर्नेछौं । अनुभवको कमीका कारण समूह चरणमा केही गल्ती भए,’ नेपालका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले थपे, ‘समूह चरणमा असफल भए पनि सट पासको रणनीतिलाई फाइनलमा पनि निरन्तरता दिन्छौं । बंगलादेशजस्तो बलियो टोलीलाई हराएपछि खेलाडीको मनोबल बढेको छ । त्यसैले उपाधि उचाल्नेमा हामी आशावादी छौं ।’

प्रशिक्षक श्रेष्ठले आफ्ना सबै खेलाडी पूर्ण रूपमा फिट भएको बताए । बंगलादेशविरुद्ध चोटका कारण दोस्रो हाफमा मैदान छाडेका स्ट्राइकर अकाश बुढामगर पनि फिट भैसकेका छन् । तथापि श्रेष्ठले फाइनलमा टोलीको संरचना परिवर्तन हुन सक्ने संकेत गरे । उनले थपे, ‘परिवर्तन हुन सक्छ । तर, आइतबार बिहानको अभ्यासपछि मात्र हामी अन्तिम टोली निर्धारण गर्नेछौ ।’

नेपालका कप्तान रोशन रानामगर पनि उपाधि जित्नेमा विश्वस्त देखिए ।
‘हामीले प्रत्येक खेलमा सुधार गरिरहेका छौं । त्यही लयलाई निरन्तरता दिँदै उपाधि जित्नेमा आशावादी छौं,’ नेपालका कप्तान रानामगरले भने, ‘हाम्रो मिसपास धेरै भएको छ । त्यसमा सुधार गर्दै मिडफिल्डमा पनि विशेष ध्यान दिन जरुरी छ।’

भारतका प्रशिक्षक बिबियानो फर्नान्डेजले समूह चरण र फाइनल खेल फरक हुने भन्दै भिन्न रणनीतिमा मैदान उत्रने बताए ।

‘नेपाल कठिन प्रतिद्वन्द्वी हो । एउटै प्रतिद्वन्द्वीलाई प्रतियोगितामा दुई पटक हराउन कठिन हुन्छ । घरेलु टोलीविरुद्ध खेल्नु सधैं चुनौतीपूर्ण हुन्छ । तर उपाधिका लागि हामी सबै रणनीति अपनाउँछौं,’ समूह चरणको नतिजाले कुनै महत्त्व नराख्ने भन्दै प्रशिक्षक फर्नान्डेजले भने, ‘नेपालले प्रत्येक खेलमा सुधार गर्दै आएको छ । सेमिफाइनलमा नेपालले उत्कृष्ट फुटबल खेल्योे ।’

भारत प्रतियोगिताको एक मात्र अपराजित टोली हो । पहिलो खेलमा माल्दिभ्सलाई ९–० ले पराजित गरेको भारत दोस्रो खेलमा नेपाललाई २–१ ले पराजित गर्दै समूह ‘बी’ को विजेताका रूपमा अन्तिम ४ मा प्रवेश गरेको थियो । भारतले शुक्रबार सेमिफाइनलमा भुटानलाई ३–० ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो । भारतका कप्तान विक्रमप्रताप सिंहले यु–१५ साफ च्याम्पियनसिप एएफसी छनोट चरणका लागि राम्रो तयारी साबित हुने बताए ।
‘हामी यो प्रतियोगिता जित्दै एएफसी छनोट चरणमा मनोबल उच्च पार्न चाहन्छाैँ,’ भारतका कप्तान सिंहले भने, ‘उपाधि उचाल्न खेलाडी तयार छन् ।’

आइतबारै तेस्रो स्थानका लागि हलचोकस्थित सशस्त्रको मैदानमा हुने खेलमा बंगलादेशले भुटानको सामना गर्दै छ ।

 

प्रकाशित: ११ भाद्र २०७४ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App