१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रियो टोलीलाई राष्ट्रपतिबाट बिदाइ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलमा हुने रियो ओलम्पिकमा भाग लिने खेलाडी, प्रशिक्षकसहित नेपाली टोलीलाई मंगलबार बिदाइ गरेकी छन्।

शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली टोलीका सेफ दी मिसन राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टलाई नेपाली झन्डा हस्तान्तरण गरिन् । रियो ओलम्पिक अगस्ट ५ देखि २१ सम्म ब्राजिलको रियो दी जेनेरियोमा आयोजना हुँदैछ ।

टोलीलाई शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘खेलकुद अन्तर्राष्ट्रियजगतमा राष्ट्रको पहिचान र गौरव अभिवृद्धि गर्ने महŒवपूर्ण माध्यममध्ये एक हो । त्यसलाई हामीले भरपुर उपयोग गर्नुपर्छ ।’

ओलम्पिकको ३१ औं संस्करणमा ५ खेलमा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । चार खेलाडीले युनिभर्सियालिटी प्लेसेसका आधारमा र बाँकी तीन खेलाडीले वाइल्ड कार्डका आधारमा रियोमा भाग लिन लागेका हुन् ।

एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमाल र महिला १५ सय मिटर दौडमा सरस्वती भट्टराईले प्रतिस्पर्धा गर्नेछन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य पदक जितेको आधारमा हरिले ओलम्पिकमा मौका पाएका हुन् । सरस्वतीले भने आन्तरिक प्रतिस्पर्धाबाट ओलम्पिक सहभागिता पक्का गरेकी थिइन् ।

पौडीको महिलामा गौरिका सिंह र शिरीष गुरुङले प्रतिस्पर्धा गर्नेछन् । १२ औं सागमा गौरिकाले नेपालका लागि कीर्तिमानी पदक जितेकी थिइन् । व्यक्तिगत स्पर्धामा नेपालले १२ औं सागमा पहिलोपटक पदक जितेको थियो । गौरिका एक्लैले सागमा १ रजत र ३ कांस्य जित्दै इतिहास बनाएकी थिइन् । बेलायत बस्दै आएकी गौरिकाले ओलम्पिकमा १०० मिटर ब्याकस्ट्रोकमा भाग लिनेछन् । छनोट चरणमा उच्च प्रदर्शन गरेका शिरीषले ओलम्पिकमा १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

जुडोकी फुपुल्हामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जितबहादुर मोक्तानले वाइल्ड कार्डमार्फत ओलम्पिकमा भाग लिने मौका पाएका हुन् । उनीहरूका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले वाइल्ड कार्ड सिफारिस गरेको थियो । फुपुले १२ औं सागमा जुडोमा स्वर्ण जितेकी थिइन् । उनी जुडोमा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । तौल समूह नभएका कारण १२ औं सागमा भाग लिन नपाए पनि निशा पछिल्लो पुस्ताकी उत्कृष्ट खेलाडीमा पर्छिन् । फुपुले ६३ केजी तथा निशाले ६७ केजीमा प्रतिस्पर्धा गर्नेछन् । १२ औं सागमा भाग लिएका जितबहादुरले ओलम्पिकमा व्यक्तिगत रिकर्भ ७० मिटरमा सहभागिता जनाउने छन् ।

नेपालले यसपटक सबै ५ खेलमा प्रशिक्षक पठाउँदैछ । संगीना वैद्य (तेक्वान्दो), ईश्वरकुमार कार्की (पौडी), दीपकराज गुरुङ (आर्चरी), देवु थापा (जुडो) र पुष्पराज ओझा (एथलेटिक्स) प्रशिक्षक भएर ओलम्पिकमा सहभागी हुँदैछन्। 

त्यस्तै एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष ज्योति राणा, महासचिव लामा टेन्डी शेर्पा, कोषाध्यक्ष रतनकुमार टण्डन, सदस्य नीलेन्द्रराज श्रेष्ठ, अशोकरत्न वज्राचार्य, रमेशकुमार श्रेष्ठ, समिममियाँ अन्सारी र दीपकहर्ष वज्राचार्य पनि रियो जानेछन्। चिकित्सक सरोजकृष्ण श्रेष्ठ, एनओसी कर्मचारीद्वय  सुजनलाल श्रेष्ठ र राजन श्रेष्ठ पनि टोलीका सदस्य रहेका छन् ।

राष्ट्रपति भण्डारीलाई एनओसी अध्यक्ष श्रेष्ठले रियो ओलम्पिकमा नेपालको सहभागिताबारे जानकारी गराएका थिए । पौडी, आर्चरी र जुडो टोली जुलाई ३१ तथा तेक्वान्दो र एथलेटिक्स टोली अगस्ट ७ तारिखमा रियो जाने छन् । सेभ दी मिसन सदस्यसचिव विष्ट र सुजनलाल श्रेष्ठ जुलाई ३० मा नै त्यसतर्फ जानेछन्।

प्रकाशित: १२ श्रावण २०७३ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App