१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन प्रस्ताव ल्याउँछौं :  दाहाल

सुर्खेत- नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि संसद्मा संशोधन प्रस्ताव पेस गर्ने भएको छ। अस्थिर राजनीतिले देश विकास हुन नसक्ने भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन प्रस्ताव पेस गर्न लागिएको जानाकारी पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिएका हुन्।

'नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता छ। १० वर्षमा १० सरकार गठन भएका छन्। यस्तो अवस्थामा देशले आर्थिक प्रगति गर्ने, समृद्धितर्फ जाने भन्ने विषय कल्पना मात्रै हुन्छ', शुक्रबार वीरेन्द्रनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा दाहालले भने, 'कार्यकारी राष्ट्रपति भए कम्तीमा पाँच वर्ष देशमा राजनीतिक स्थिरता हुन्छ। त्यसैले राजनीतिक दल, नागरिक समाज र जनतासँग सहकार्य गर्दै संशोधन प्रस्ताव दर्ता गर्दैछौं।'

पूर्वप्रधानमन्त्री दाहालले सरकार र राजनीतिक दल मंसिर १० मै प्रदेश र संघको चुनाव एकैसाथ सहमत भएको र सोही अनुसार निर्वाचन आयोगले मिति तोक्ने विश्वास व्यक्त गरे। 'भौगोलिक विकटताका कारण दुई चरणमा निर्वाचन गर्दा राम्रो हुन्छ भन्ने सुझाव निर्वाचन आयोगको छ', उनले भने, 'तर सबै राजनीति दल र सरकारसमेत मंसिर १० मै निर्वाचन गर्न सहमत भएकाले सोही अनुसार आयोगले तयारी गर्छ भन्नेमा म विश्वस्त छु।'

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा कुनै विवादित निर्णय नहुने पनि बताए। 'दुई छिमेकी मुलुक भारत र चीनबीचको द्वन्द्वका विषयमा पनि कुनै छलफल भएको छैन्', दाहालले भने, 'समग्रमा भन्दा प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक मात्रै रह्यो।'

उनले संसद्ले टुंगो लगाइसकेको संविधान संशोधन विषयमा अब बोलिरहनु आवश्यक नभएको बताए। 'संविधान संशोधनलाई संसद्ले टुंग्याइसकेको छ, यो विषय उठाइरहनु जरुरी छैन्' उनले भने, 'संसद्मा असफल भइसकेको विषयलाई संशोधन गराउँछु भन्नु गलत हो।'

इन्डिया फाउन्डेसनको कार्यक्रममा रामविलास पासवानले बोल्दा चीनको आलोचना गरेको भन्दै त्यसको प्रतिवाद प्रधानमन्त्रीले गरेको दाहालले बताए। 'पासवानले चीनले तिब्बत खाएजस्तै नेपाल पनि खान्छ भनेछन्', दाहालले भने, 'हाम्रा प्रधानमन्त्रीले त्यसको ठाडै प्रतिवाद गर्नुभयो, चीन हाम्रो असल मित्र हो भन्नुभयो।'

दाहालले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताए। 'माओवादीको अब यहाँभन्दा तल जाने ठाउँ छैन,' उनले भने, 'अब माओवादीका लागि माथि जाने मात्रै ठाउँ छ।' दाहालले प्रदेश र संघको निर्वाचनमा जो सुकैसँग पनि चुनावी तालमेल हुनसक्ने बताए। 'लोकतान्त्रिक राजनीतिक दलसँग हाम्रो चुनावी तालमेल हुन्छ, चाहे त्यो कांग्रेस होस् या अरु नै', उनले भने, 'मन मिल्ने र विचार मिल्नेसँग तालमेल गर्दै अघि बढ्छौं।' उनले छ नम्बर प्रदेश माओवादी केन्द्रको सबैभन्दा बलियो क्षेत्र भएको भन्दै पूर्ण बहुमतका साथ प्रदेश सरकार पनि गठन गर्ने दाबी गरे। 'छ नम्बर प्रदेश हाम्रो सबैभन्दा बलियो र आधार क्षेत्र हो', उनले भने, 'यहाँ पूर्ण बहुमत ल्याएर प्रदेश सरकार पनि गठन गर्छाैं।'

प्रदेश र संघको चुनाव तयारीका लागि माओवादी केन्द्र अहिले छ नम्बर प्रदेशमा केन्द्रित भएको छ। प्रदेशस्तरीय बैठक तथा प्रशिक्षणका लागि अध्यक्ष दाहालसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, शक्तिबहादुर बस्नेतलगायत नेता अहिले सुर्खेतमा छन्।

प्रकाशित: १० भाद्र २०७४ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App