१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधानबारे प्रधानमन्त्रीको अभिव्यक्ति 'लज्जास्पद'

काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा संविधान संशोधन प्रस्ताव फेरि संसद्मा लैजाने भनी दिएको अभिव्यक्तिको शीर्ष नेताहरूले आलोचना गरेका छन्।

प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले संविधानका विषयमा दिएको अभिव्यक्ति उपयुक्त नभएको टिप्पणी गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानका विषयमा नयाँदिल्लीमा दिएको अभिव्यक्ति उपयुक्त नभएको टिप्पणी गरेका छन्।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाका अभिव्यक्तिले देशकै शिर निहुरिएको बताए। नियमित उपचारका लागि बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले संविधानलाई सर्वस्वीकार्य बनाउन फेरि संशोधन प्रस्ताल ल्याउनेे भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति 'लज्जास्पद' भएको बताए।  'यही संविधानअनुसार प्रधानमन्त्री बनेको र यसैको सपथ लिएको व्यक्तिले अप्रासंगिक रुपमा संविधानको कुरा उठाउनुभयो,' ओलीले भने, 'यस्तो भन्नु राम्रो हुँदैन, कटु शब्द के प्रयोग गर्नु तर उहाँले कसलाई खुसी पार्न यस्तो प्रसंग उठाउनुभयो भन्ने प्रश्न उठेको छ।'

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा संविधान संशोधन प्रस्ताव संसद्मा असफल भए पनि सर्वस्वीकार्य बनाउन फेरि संशोधन प्रस्ताव लैजाने र पारित हुने बताएका थिए। 'उहाँ (देउवा) ले गिडगिडाएर सर्मनाक ढंगले प्रभु! मैले गर्न सकिनँ, कोसिस गरेको थिएँ। तर म गर्छु, त्यसका लागि वातावरण बनाइदिनुपर्‍यो भनेर याचना गर्नुभयो,' ओलीले भने, 'उहाँको हाउभाउ र प्रस्तुति हेर्र्दा देशकै शिर निहुरिएको छ। अन्त्यन्तै दुःख लागेको छ।'

उनले संविधानको विषयमा संसद्ले गरेको फैसलाको प्रधानमन्त्रीले विदेशमा बसेर धज्जी उडाएको बताए। 'आफैंसमेत संलग्न भएको गरिमामय संसद्ले गरेको निर्णयको उहाँले धज्जी उडाउनुभएको छ,' ओलीले भने।

भारत भ्रमणको ठीक अघि संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्ताव पारित गर्न लागि आवश्यक दुईतिहाइ बहुमत नपुगेपछि असफल भएको थियो। आन्दोलनरत मधेसवादी दलको माग पूरा गराउने भन्दै एक वर्षभन्दा लामो तयारीपछि विधेयक सदनमा निर्णयार्थ पेस भएको थियो।

सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सविधान संशोधनबारे प्रधानमन्त्री देउवाले भारतमा गरेको टिप्पणी अनावश्यक भएको बताएका छन्। कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका दाहालले संसद्ले टुंगो लगाइसकेको विषयमा भारतमा बोल्नु उपयुक्त नभएको बताए। 'भर्खरै संविधान संशोधन विधेयक संसद्बाट फेल भयो। अब तत्काल संविधान संशोधन हुँदैन,' दाहालले भने, 'संविधान संशोधन नेपालको आन्तरिक विषय हो। यसबारे अरुसँग कुरा गर्न आवश्यक छैन।'

संसद्मा संशोधन प्रस्तावमाथि भएको मतदानमा देउवा प्रधानमन्त्री चुनिनुभन्दा पनि कम मत परेको थियो। राप्रपासहितका दलले पनि प्रस्तावका विपक्षमा मतदान गरेका थिए। राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री देउवाले दिनलाई हत्केलाले छोपेर रात बनाउने काम गरेको बताए। उनले यस विषयलाई नेपालको राजनीतिको दुःखद घटना भएको टिप्पणी गरे। संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले विदेशमा रहेका प्रधानमन्त्रीको आलोचना गर्नु ठीक नभए पनि उनको अभिव्यक्तिले मुलुकको स्वाभिमानमा आँच पुगेको बताए।

प्रकाशित: १० भाद्र २०७४ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App